0
गोल्डेन न्यूज संवाददाता
भारतीय नाकाबन्दीका कारण चरम अभाव भोगेका उपभोत्ताले अझै खाना पकाउने ग्याँस नपाउँदा समस्यामा परेका छन् । नाकाबन्दीले समस्यामा परेका पोखरेलीलाई ग्याँस वितरण गर्ने तयारी गरेपनि गगनगौंडाबासीको विरोधका कारण स्थगित गरिएको छ । थोरै परिमाणमा भित्रिएको ग्यास र बढि मागका कारण वितरण गर्न नसक्ने बताउदै स्थानिय प्रशासनले थप ग्याँस सिलिण्डर नआएसम्म वितरण गर्न नसकिने बताउँदै स्थगित गरेको हो ।
 
सरकारले आधा सिलिण्डर ग्याँस वितरण गर्न स्वीकृति प्रदान गरेपछि पोखरामा भित्रिएको ग्याँस वितरण गर्ने तयारी गरेपनि गगनगौडा बासीले आफूहरुले पहिला पाउनुपर्ने भन्दै अवरोध गर्न खोजेपछि वितरण गर्न नसकिएको हो । थोरै ग्याँस आएको र माग अत्यधिक भएका कारण वितर गर्न सक्ने अवस्था नभएको गृह लक्ष्मी ग्याँस कम्पनी गगनगौडाले जनाएको छ । स्थानीयले पहिला कम्पनी नजिकका बासिन्दालाई वितरण गर्नुपर्ने माग गदै धर्ना दिदै आएका छन् । थप ग्याँस भित्रिएपछि मात्रै वितरण गरिने कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताए ।
 
यसैबीच पोखरा र लेखनाथका पम्पहरुबाट पेट्रोलियम मंगलवार  पदार्थ वितरण गरिने भएको छ । सोमवार बसेको जिल्ला आपूर्ति समिति बैंठकले गरेको निर्णय अनुसार मंगलवार पोखरा र लेखनाथका १० पम्पबाट पेट्रोल तथा ११ पम्पबाट डिजेल वितरण गर्न लागिएको हो । निर्णय अनुसार ४७ हजार लिटर पेट्रोल र ७५ हजार लिटर डिजेल वितरण गरिनेछ । मोटरसाईकललाई चार सय तथा स्कुटरलाई तीन सय बराबरको तेल वितरण गरिनेछ । त्यस्तै अन्य सवारीलाई पनि तोकिए अनुसारको मात्रै तेल वितरण गरिने जनाईएको छ । तेल वितरणको अनुगमनको लागि पोखरा र लेखनाथका लागि छुट्टाछुट्टै समिति गठन गरिएको छ ।
 
यता, पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघले कास्की जिल्लामा रहेका उद्योग तथा कल कारखानालाई आवश्यक पर्ने इन्धनको व्यवस्था गर्न जोडदार माग गरेको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा तथा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय तथा जिल्ला प्रशासन कार्यालय कास्कीमा बुझाएको संयुक्त ज्ञापनपत्रमा इन्धन अभावले उद्योग तथा कलकारखाना बन्द हुने अवस्थामा पुगेको जानकारी गराउँदै इन्धन व्यवस्थाको माग गरेको हो । ज्ञापनपत्रमा देशको विषम परिस्थितिलाई मध्यनजर राख्दै जेनतेन उद्योग तथा कलकारखाना सञ्चालन हुँदै आएको स्मरण गर्दै अगाडि भनिएको छ –‘इन्धन वितरणको क्रममा उद्योग÷ कलकारखानाको लागि निश्चित स्थानबाट निश्चित कोटा उपलब्ध गराई र्राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुग्ने वातावरण निर्माणका लागि हामी जोडदार माग गर्दछौँ ।’
 
संयुक्त ज्ञापनपत्रमा सीमा क्षेत्रमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीबाट सृजित विषम परिस्थितिले देशमा इन्धन लगायतका अत्वावश्यक सामाग्रीहरुको चरम अभाव सृजना हुनुलाई हामीले दुखद घटनाको रुपमा उल्लेख गर्दै यो विषमताको अन्त्यका लागि आवश्यक कदम चाल्न ता इन्धनको सहज आपूर्तिको व्यवस्था मिलाउन माग समेत गरिएको छ । यसका साथै ज्ञापनपत्रमा नेपाल भित्रिएको सीमित परिमाणको इन्धनको समानुपातिक वितरण गरिनुपर्ने माग समेत गरिएको छ ।



Post a Comment

 
Top