गोल्डेन न्यूज संवाददाता
भारतले गरेको अघोषित नाकाबन्दीका कारण अधिकांश चाउचाउ उद्योग बन्द हुन पुगेका छन्् । उद्योगहरु बन्द भएपछि अहिले बजारमा चाउचाउको अभाव देखिएको छ । मानिसका लागि सबैभन्दा सस्तो र सजिलो खाजा चाउचाउले पसलका टासीहरु भरिभराउ हुन्थे भने त्यसले पसलको छुट्टै आकर्षण बनाउँदथ्यो । ती चाउचाउ पाइन छाडेपछि पसका टासीहरु खाली देखिन्छन् भने मानिसका लागि खाजाको थप समस्या पर्दै गएको छ । अन्य सामान लिएर बजारमा जाँदा पोखराका किराना व्यापारीहरुले ‘अन्य सामान होइन २÷४ कार्टुन चाउचाउ ल्याइदिनुस् न’ भन्छन् । पोखराको मालेपाटन स्थित योजना किराना पसलकी संचालिका सुमिना हमाल भीनछन्–‘चाउचाउ नुहँदा दिनको व्यापार नै घटेको छ । मेरो पसलबाट मात्र दिनमा ३ कार्टुन चाउचाउ विक्री हुन्थ्यो । अहिले चर्को मूल्य वृद्धि हुँदा समेत चाउचाउ पाउन सकेका छैनौं ।’ चाउचाउ मात्र नपाइँदा दिनको करिब २ हजार रुपैयाँको सेल्स घटेको उनले बताइन ।
आम नेपालीहरुका लागि सजिलो र सस्तोमात्र नभएर स्वादिलो खाजा मानिने चाउचाउको उत्पादन र आपूर्तिमा कमि आएपछि पोखरा बजारमा रहेका डिपार्टमेन्टल स्टोर्सले समेत चाउचाउ विक्रीलाई निरन्तरता दिन सकेका छैनन् । पोखराको भाटभटेनी, विनायक, सेलवेज, मुनाल स्टोर्स जस्ता पसलमा समेत सर्वसाधारणले चाहेजति चाउचाउ पाउन सकेका छैनन् । त्यसमाथि मूल्य वृद्धि समेत भएकाले सर्वसाधारण मारमा छन् । चौधरी ग्रुपको उत्पादन वाइवाइको आपूर्ति गर्दै आएको अधिकृत विक्रेता काजल एण्ड कुशुम ट्रेडर्सका संचालक पुष्पराज पराजुलीले उद्योगबाट आफूहरुले मागेजति चाउचाउ पाउन नसक्दा वितरणमा गर्न नसकिएको स्वीकार गरे । उनले भने–‘माग अनुसार चाउचाउको आपूर्ति नभएकोले आफ्नो क्षेत्रभित्र गाडीमा डुलाएर विक्री वितरण गर्न सकिएको छैन । व्यापारीहरु नगद लिएर गोदाममै पुग्ने गरेकोले सीमित परिमाणमा चाउचाउ दिइएको छ ।’
चाउचाउका लागि आवश्यक कच्चा पदार्थको अभाव भएपछि उद्योग बन्द गर्नुपरेको सञ्चालक हरुको भनाई छ । विभिन्न मुलुकबाट ल्याएको कच्चा पदार्थ नाकाबन्दीका कारण भन्सार नाकाहरुमा अड्किएको छ । चाउचाउलाई चाहिने गहुँको पिठोदेखि पाम आयल, लसुन प्याजसम्म विदेशबाटै आयात गर्नुपर्ने पोखरा नुडल्सका प्रबन्ध निर्देशक बाबुराम पन्तले बताए । उनका अनुसार विभिन्न ठाउँमा सञ्चालित ८ वटा उद्योगले दर्जनौं ब्रान्डमा चाउचाउ उत्पादन गरिरहेका छन् । पोखरामा सञ्चालित पोखरा नुडल्स र हिमश्री उद्योग पूर्ण रुपमा बन्द छन् । पोखरा नुडल्सले रम्बा, बोनस लगायत आधा दर्जन ब्रान्डमा चाउचाउ उत्पादन गर्छ भने हिमश्रीले रारा ब्रान्डमा चाउचाउ उत्पादन गर्छ । सबैभन्दा बढी बिक्री हुने वाईवाई चाउचाउको उद्योग पनि २५÷२५ प्रतिशत क्षमतमा मात्र चलिरहेको चौधरी ग्रुपको भनाई छ । नवलपरासीको चौधरी ग्राम र ललितपुरको भैंसेपाटीबाट चाउचाउ उत्पादन गरिरहेको चौधरी गु्रपले यही अवस्था लम्बिएमा उद्योग पूर्ण रुपमा बन्द हुने बताएको छ । वाईवाईको भैंसेपाटीमा रहेको उद्योग भने कच्चा पदार्थको अभावमा बन्द भइसकेको छ । नवलपरासीमा रहेको उद्योगमात्र केही क्षमतामा चलिरहेको हो । वाईवाई चाउचाउ वाषिर्क २ अर्ब प्याकेट उत्पादन भइरहेको चौधरी ग्रुपका मिडिया महाप्रबन्धक मधुसुदन पौडेलले बताए ।
उद्योग बन्द हुनुको पछाडि दुईवटा कारण रहेका छन्, पहिलो कारण कच्चा पदार्थको आपूर्ति हुन नसक्नु हो भने दोस्रोमा लोडसेडिङ हो’ पौडेलले भने–‘लोडसेडिङको विकल्पमा जेनेरेटर थियो, त्यो पनि डिजेल अभावले चल्न सकेको छैन ।’ यसैगरी विराटनगरमा रहेको एशियन थाई फुड्स र क्वालिटी थाई फुड्स, चितवनको टाँडीमा रहेको स्मार्ट फुड्स, भैरहवामा रहेको जगदम्बा फुड्स, बनेपा र भैरहवामा रहेको हिमालयन स्न्याक्स एन्ड नुडल्स उद्योग पनि नाकाबन्दी र तराईमा जारी बन्द हड्तालका कारण प्रभावित भएका छन् । मायोज चाउचाउ उत्पादन गर्दै आएको हिमालयन स्न्याक्स एन्ड नुडल्स उद्योग पनि पूर्ण रुपमा बन्द भएको त्यहाँ कार्यरत कर्मचारीले बताएका छन् । कम्पनीले मायोज चाउचाउ नाकाबन्दी भएको धेरै पछिसम्म बजारमा उपलब्ध गराउँदै आएको थियो । चाउचाउ सबैभन्दा सजिलो खानाको रुपमा परिचित छ । विनाशकारी भूकम्पको समयमा तत्कालको भोक मेटाउन चाउचाउ निकै सहयोगी भएको थियो । भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण अहिले बजारमा खाद्यन्नको संकट पर्दा चाउचाउको पनि हाहाकार भएको छ । ‘अहिले गोदाममै चाउचाउको अभाव भएको छ, बजारमा पठाउन सकिएको छैन’ गन्डकी नुडल्सका प्रबन्ध निर्देशक पन्तले भने–‘उद्योगले चाउचाउ बजारमा पठाउन नसक्दा नेपालभरी हाहाकार भएको छ ।’
Post a Comment