गोल्डेन न्यूज संवाददाता
पोखरा ३ मंसिर ।
गोल्डेन न्यूज दैनिकमा कार्यरत पत्रकार हरि पन्तमाथि बुधबार राति आक्रमण भएको छ । पत्रिकाको काम सकेर कार्यालयबाट घरतर्फ फकंर्दै गर्दा पन्तलाई राति करिब ११ बजे पोखराको बगालेटोलमा अपरिचित ३ जनाको समूहले एक्कासी आक्रमण गरेको थियो । पेट्रोल नभएका कारण मोटरसाइकल घरमै राखेकोले उनी हिंडेरै कार्यालयबाट फर्कदै थिए । त्यसैक्रममा सडक किनारमा रहेका ती युवाको समूहले रुखो स्वरमा ‘तँ कहाँ जान लागेको ?’ भनि समातेर टाउकोमा मुक्का प्रहार गरेका थिए । समूहमा रहेका मध्ये कुनैले मादक पदार्थ सेवन गरेको अनुमान पन्तको छ । उनीहरुले गरेको आक्रमणबाट पन्तको टाउकोमा चोट लागेको भएपनि आक्रमणपछि पन्तले एक जनालाई धकेलेर गुहार माग्दै अगाडि भागेकोले उनीमाथि थप आक्रमण हुन पाएन । त्यसपछि स्थानीय सर्वसाधारण सडकमा निस्किएकाले तिनै जना त्यहाँबाट भागेको पन्तले बताए ।
यसैबीच गोल्डेन न्यूज दैनिकका प्रधान सम्पादक तथा प्रकाशन संस्था सुनौलो पव्लिकेशन प्रालिका अध्यक्ष गंगाधर पराजुलीले आफ्नो संस्थाको सहकर्मीले भोग्नु परेको दुःखद् घटनाले रातिको समयमा काम गर्ने आम पत्रकारहरुले सामना गर्नुपर्ने नियतिलाई स्पष्ट पारेको बताएका छन् । पेट्रोलियम पदार्थको व्यवस्थित वितरण नगर्दा अधिकांश पत्रकारहरु रातिको समयमा पनि पैदल हिंड्नुपर्ने विडम्वना, स्थानीय प्रशासन, सुरक्षा अधिकारी तथा राज्यका निकायको गम्भीर बेवास्ता का कारण पत्रकारले मात्र नभइ आम सर्वसाधारणले यस्तो घटना भोग्नु परेको भन्दै उनले सरोकारवालाप्रति गम्भीर ध्यानाकर्षण गरेका छन् ।
उक्त घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक हरिबहादुर पाललाई जानकारी गराउँदा उनले त्यस क्षेत्रमा सुरक्षाकर्मीको निगरानी बढाउने बताए । आक्रमण गर्नेहरुको खोजी गर्न प्रहरी संवेदनशील रहेको भन्दै उनले यसअघि पनि त्यस क्षेत्रमा यस किसिमका घटना हुने गरेको जानकारी दिए ।
यसैबीच नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले पत्रकार पन्त माथिको आक्रमण दुःखद् भएको भन्दै आक्रमणकारीलाई तत्काल पक्राउ गरि कार्वाही गर्न माग गरेका छन् । उक्त घटनापछि प्रतिक्रिया दिंदै अध्यक्ष ज्ञवालीले यो समस्या रातिमा काम गर्ने सबै पत्रकारले भोग्दै आएको भन्दै सुरक्षा दिने काम प्रहरी प्रशासनको भएको बताएका छन् ।
यसैगरी नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालले पत्रकार पन्तमाथि भएको आक्रमणको निन्दा एवं भत्र्सना गरेका छन् । अध्यक्ष बरालले यस किसिमका घटनाले सुरक्षास्थितिमा चुनौती देखिएको भन्दै सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराएका छन् । पत्रकारमाथि बेलाबखत हुने यस्ता घटनामा संलग्नलाई कार्वाही गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन पत्रकार महासंघ लगायतका संस्थाको सक्रियता आवश्यक रहेको उनले बताए ।
Post a Comment