0
गोल्डेन न्यूज संवाददाता
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सोमबार भारतीय राजदूत रणजित रायलाई मन्त्रालयमा बोलाएर पारवहनमा भइरहेको अवरोध र त्यसबाट उत्पन्न मानवीय संकटबारे छलफल गरेका छन्। त्यस क्रममा पारवहन सहजताबारे जिज्ञासा राख्दै थापाले नेपालको मानवीय संकट समाधानको पहल गर्न आग्रह गरेको परराष्ट्र अधिकारीले जानकारी दिए। भारतले आफ्नातर्फबाट पारवहन सहज बनाइदिए नेपालतर्फ समस्या नरहेको जानकारी उपप्रधानमन्त्री थापाले भारतीय राजदूतलाई गराएका थिए। दुई महिनादेखि भारतले गरेको नाकाबन्दीका कारण मानवीय संकट सुरु भइसकेको छ। यस्तै, तराई केन्द्रित दलहरू भारत आफ्नो साथमा रहेको बुझाइका साथ उग्र बन्दै गएका छन्। कूटनीतिक समुदायले पनि नेपालको समस्याबारे जिज्ञासा राख्न थालेका छन्।
 
राजदूत राय अपराहन ४ बजे परराष्ट्र मन्त्रालय पुगेर ३५ मिनेट उपप्रधानमन्त्री थापासँग भेट गरेका थिए। परराष्ट्रमन्त्री थापाले नेपालको अवस्थाबारे काठमाडौंस्थित कूटनीतिक समुदायलाई बोलाएर छलफल गर्ने तयारी गरिरहेका छन्। त्यसको पूर्वसन्ध्यामा भारतीय राजदूतसँग अलग्गै छलफल गरेका हुन्। पूर्वपरराष्ट्र मन्त्रीहरूलाई समेत बोलाएर मुलुकको यथार्थ अवस्था जानकारी र समाधानको उपायबारे छलफल गर्ने तयारी उपप्रधानमन्त्री थापाको छ। राजदूत रायसँगको भेटमा उनले भारतीय विदेश मन्त्रालयले गरेको ‘ब्रिफिङ’ तथा भारतीय दूतावासले नागरिक समाज, बुद्धिजीवी र काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुखहरूसँग गरेको छलफलबारे समेत जानकारी लिएका थिए। ’के हो भारतीय राजदूतावासमा सधैं भेटघाट र छलफल भएको समाचार आइरहेको छ नि’ भन्दै उनले राजदूतसँग जानकारी मागेका थिए। भारतले नेपालमा नाकाबन्दी गरेपछि भारतीय कूटनीतिज्ञसँग सरकारको सम्पर्क हुन नसकेको भनिरहेको अवस्थामा उपप्रधानमन्त्रीसँग राजदूतको लामो छलफल भएको हो। परराष्ट्रमन्त्रीले समस्या समाधानको प्रयासमा सरकार लागिरहेको जानकारी दिँदै आन्तरिक समस्या छिट्टै समाधान हुनेसमेत बताए। परराष्ट्रमन्त्री थापाले आन्दोलन मधेसी दलहरूको नियन्त्रणबाट बाहिर गएको विश्लेषण सुरक्षा निकायको रहेको बताउँदै समस्या समाधान नभए मुलुक निकै गाह्रो अवस्थामा पुग्नेतर्फ ध्यान दिन आग्रह गरेका थिए। नेपालमा समस्या हुँदा भारतलाई पनि असर पर्ने भन्दै उनले यस्तो जानकारी दिएको स्रोतले जनाएको छ।
 
उपप्रधानमन्त्रीसँग भेटपछि राजदूत रायले सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिन अस्वीकार गरे। ’अहिले नयाँ खबर के छ ?’ भन्ने प्रतिप्रश्न गर्दै गाडी चढेर हुइँकिए। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पछिल्लो अवस्थाबारे जानकारी लिन उनलाई बोलाइएको हो। वीरगन्ज नाकाबाटै इन्धनलगायत सामान आपूर्तिको वातावरण बनाउने सरकारी पहल स्वरूप भारतीय राजदूतलाई मन्त्रालयमा बोलाएर छलफल गरिएको एक अधिकारीले जानकारी दिए। उनका अनुसार छलफलका क्रममा राजदूत रायले भारतले नाकाबन्दी नगरेको र नेपालकै कारण इन्धनलगायत सामान आपूर्ति हुन नसकेको पुरानै धारणा दोहोर्रुयाएका थिए।
आन्तरिक समस्या समाधानमा सरकार र राजनीतिक दलहरूले पहल गरिरहेको उपप्रधानमन्त्री थापाले बताएका थिए। औषधि, खाद्य वस्तु, इन्धनलगायत अत्यावश्यक सामग्री अभावले नेपाल समग्र रूपमा आक्रान्त बन्दै गएको अवस्था बुझिदिन उपप्रधानमन्त्री थापाले राजदूत रायलाई आग्रह गरेका थिए। स्रोतका अनुसार वर्तमान समस्या आन्तरिक मात्र भएकाले पारवहन अवरोधको अवस्था नलम्ब्याउन थापाले राजदूतलाई आग्रह गरेका थिए।

यो सामान्य भेटघाट हो। छलफल भइरहेकै छ। त्यसकै एक पाटोका रूपमा आज पनि छलफल भएको हो,’ राजदूत रायसँग भेटपछि उपप्रधानमन्त्री थापाले भने,–‘अब हामी सबै कूटनीतिक समुदायलाई बोलाएर विवरणसहित यथार्थ जानकारी दिनेछौं। समाधानका लागि पूर्वपरराष्ट्रमन्त्री, यस क्षेत्रका विज्ञ तथा सञ्चारकर्मीहरूसँग पनि छलफल गर्नेछौं । राजदूतलाई बोलाएको हो’ भन्ने जिज्ञासामा उनले मन्त्रालय र दूतावास बीच छलफल भइरहेको र समस्या समाधानमा सरकार गम्भीर भएर अगाडि बढेको जवाफ दिए। यसअघि उनले भारतले यसप्रकारको असहजता कायम नगरेको भए हुने भन्दै तत्काल समस्या समाधानका लागि आग्रह गरेका थिए। परराष्ट्र मन्त्री र भारतीय राजदूत भेटमा भारतसमेत हेर्ने दक्षिण एसिया महाशाखाका अधिकारीको पनि उपस्थिति थियो।

Post a Comment

 
Top