0
गोल्डेन न्यूज संवाददाता
गत वैशाख १२ र २९ गतेको विनासकारी भूकम्प र पराकम्पनहरु बाट पीडित गोरखा लाप्राकीलाई स्वीजरलैण्डबाट नेपाल भ्रमणमा आएकी पर्यटक एलिजावेथ आर्ने र उनका परिवारले सहयोग गरेको छ । केही दिनदेखि पोखरामा रहेकी एलिजावेथ आर्नेले भूकम्प पीडित लाप्राकका लाप्राक विकास सरोकार समितिका सचिव बीसबहादुर गुरुङ, लालमाया गुरुङ लगायतको प्रतिनीधिलाई मंगलवार पोखरामा आयोजित एक कार्यक्रममा बीच ३ हजार स्वीस फ्रैंक अथवा ३ लाख रुपैयाँ सहयोग प्रदान गरेकी छन् । अमेरिकामा रहेकी नेपाली अमेरिकन कलाकार संघका नवनिर्वाचित उपाध्यक्ष, नायिका तथा गायिका मीरा गुरुङको विशेष पहल, समाजसेवी नवाङ कुङगा विष्ट र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) कास्कीका अध्यक्ष हुमबहादुर गुरुङको समन्वयमा स्विस नागरिक एलिजावेथ आर्ने र उनको परिवारको तर्फबाट भूकम्पबाट प्रभावित लाप्राकमा घर निर्माणका लागि जस्तापाता खरिदका लागि उक्त सहयोग प्रदान गरेका हुन् । सहयोग हस्तान्तरण गर्दै स्वीस पर्यटक एलिजावेथले नेपालमा भूकम्पले धेरै जनधनको क्षति पुर्याएको सुन्दा नै भूकम्प पीडितको क्षेत्रमा सहयोग गर्न चाहेको र नायिका गायिका मीरा गुरुङको सल्लाह अनुसार भूकम्पले अत्यन्तै प्रभावित गोरखाका लाप्राकका लागि सहयोग गरेको बताइन । सहयोगदाता एलिजावेथले बास र शिक्षा बाहेक, खाद्यान्न, महिलाका समस्या र खानेपानीको बारेमा पनि आफुहरुतर्फबाट सक्दो सहयोग हुने बताइन । समाजसेवी नवाङ कुङगा बिष्टले उक्त सहयोग हस्तान्तरणको समन्वयको भूमिका निर्वाह गर्दै नायिका गायिका मिरा गुरुङले लाप्राकको लागि गरेको  पहलमा आफूहरुको साथ रहेको बताए । उक्त अवसरमा सहयोग ग्रहण गर्दै  लाप्राक विकास सरोकार समितिका सचिव बीसबहादुर गुरुङले सहयोगदाता एलिजावेथ र परिवार, अमेरिकामा रहेकी पहलकर्ता नायिका गायिका मीरा गुरुङ, समन्वयकर्ता नवाङ कुङगा विष्ट र हुमबहादुर गुरुङलाई आभार व्यक्त गरेकी थिइन ।
 
यसैविच लेकसाईड नजिकै ग्रेट कम्प्यासन बोर्डिङ स्कुल संचालन गरी बालबालिकालाई विगत दशवर्षदेखि निःशुल्क शिक्षा प्रदानको व्यवस्था गर्दै आका बिष्टले लाप्राकका भूकम्प पीडित २० जना ५ देखि १५ वर्ष उमेरका बालबालिकालाई आउदो शैक्षिक सत्रदेखि निःशुल्क शिक्षाको व्यवस्था गर्ने घोषणा गरे ।
 
यसरी नै उक्त बालबालिकासँगै २ जना महिलालाई रोजगारीको अवसर प्रदान गर्ने उनले जानकारी गराए भने लाप्राकमा घरबासका लागि नक्सांकन पश्चात आफ्नो पहलमा न्यूनतम २० घर निर्माण गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । भूकम्पबाट गाउँ नै स्थानान्तरण गर्नुपर्ने लाप्राकमा यसअघि नायिका गायिका मिरा गुरुङको पहलमा नेपाल अमेरिकन कलाकार संघ लगायत आफ्नो तर्फबाट पनि पटक–पटक सहयोग गरेकी थिइन ।

Post a Comment

 
Top