गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेसले आगामी फागुन महिनामा तय गरिएको आफ्नो १३ औं महाधिवेशन गर्नका लागि विभिन्न सात वटा समिति गठनको प्रस्ताव गरेको छ। पार्टी महामन्त्री कृष्णप्रसाद सिटौलाले आइतबार पार्टी मुख्यालय सानेपामा बसेको बेन्द्रीय समितिको बैठकमा महाधिवेशन गर्नका लागि सात वटा समिति गठनको प्रस्ताव गरेका हुन्। महामन्त्री सिटौलाले पार्टी सभापति सुशील कोइरालाको संयोजकत्वमा मूल समारोह, उपसभापति रामचन्द्र पौडेलको संयोजकत्वमा नीति तथा कार्यक्रम, आनन्दप्रसाद ढंगानाको संयोजकत्वमा विधान मस्यौदा, बलबहादुर केसीको संयोजकत्वमा आवास तथा व्यवस्थापन, डा. मिनेन्द्र रिजालको संयोजकत्वमा प्रचार प्रसार, भिमसेनदास प्रधानको संयाजकत्वमा खाद्य र नारायण कोइरालाको संयोजकत्वमा स्वयम्सेवक परिचालन समिति गठनको प्रस्ताव गरेका हुन्। महामन्त्री सिटौलाले प्रस्ताव राख्नासाथ केन्द्रीय सदस्यहरुले पार्टीका शीर्ष नेताहरुको आलोचना सुरू गरे।
उनीहरुले शीर्ष नेताहरुको गलत निर्णयका कारण सरकारबाट बाहिर बस्न बाध्य भएको पार्टीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको पद पनि गुमाएको भन्दै नेतृत्वको आलोचना गरेका हुन्। उनीहरुले सरकार गठन तथा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पार्टी एक्लिनुको कारण पार्टीका तीन शीर्ष नेताले प्रष्ट पार्नु पर्ने माग गरे। संसद्को सबैभन्दा ठूलो दल काँग्रेसले प्रधानमन्त्री, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पराजय व्यहोरेको थियो। केन्द्रीय सदस्यहरुले पछिल्लो राजनीतिक अवस्थाबारे शीर्ष नेताहरुले लिखित धारणा पेश गरेपछि मात्र प्रस्तावमाथि छलफल गर्नु उपयुक्त हुने बताएपछि तथा पार्टी सभापति सीशिल कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पूर्वप्रधानमन्त्रीको हैसियतमा उपराष्ट्रपतिको सपथग्रहण समारोहमा सहभागी हुनुपर्ने भएपछि बैठक सोमबार सम्मका लागि स्थगित गरिएको छ।
Post a Comment