गोल्डेन न्यूज संवाददाता
शीत भण्डारमा बीउका लागि राखेको आलु कुहिएपछि कास्कीका कृषकहरुले संञ्चालक सँग क्षति पूर्तिको माग गर्दै स्थानीय कृषि सेवा केन्द्रहरुमा निवेदन दिएका छन् । निजी स्तरवाट पोखरा–५, मालेपाटनमा संञ्चालन गरिएको पश्चिमाञ्चल कोल्डस्टोरले भण्डारण गरेको बीउ आलु कुहिएपछि कृषकहरुले क्षतिपूर्तिको माग गर्दै सेवा केन्द्रहरुमा निवेदन दिएका हुन् । कास्कीको आलुको भण्डार मानिएको हेमजाका ११ जना कृषकहरुले कृषि सेवा केन्द्र हेमजामा कुहिएको आलुको बीउको क्षतिपूर्ति दिन माग गर्दै उजुरी दिएको हेमजा कृषि सेवा केन्द्रका सहायक प्राविधिक गुरुप्रसाद अर्यालले जानकारी दिए । पत्रकार कमल पौडेल अथकले छुस्के डटकममा उल्लेख गरेअनुसार गत वैशाखमा यहाँका कृषकले बीउकोलागि आलु भण्डारण गर्न कोल्ड स्टोर्सलाई दिएकोमा यतिवेला आलु लगाउने वेला आलुको वोरा खोल्दा सवै कुहिएको कृषकहरुले बताएका छन् । यसरी आलु कुहिनेमा हेमजाका मात्र ७ वटा कृषक समूहको आलु कुहिएको कृषकहरुको भनाई छ ।
यसैगरी लेखनाथको वुढीवजार र शिशुवा क्षेत्रका कृषकहरुको पनि थुप्रै बीउ आलु कुहिएको कृषकहरुको भनाई छ । गत वैशाखमा ४ वोरा बीउ आलु भण्डरमा राखेका वुढीवजारका कृषक सुरेन्द्र थापाको सवै आलु कुहिएर आधा वोरा मात्र छनौटा आलु वाँकी रहेको उनले वताए । आलुको भण्डारण गर्न रकम तिरेर स्टोरलाई जिम्मा दिएपछि कुहिएको आलुको क्षतिपूर्ति स्टोरले नै उपलव्ध गराउन कृषकहरुको माग छ । आलुको बीउ कुहिएको भन्दै क्षतिपूर्ति माग गर्दा स्टोरले वेवास्ता गरेको कृषक थापाले बताए । एम एस–४२ जात र खुमल लक्ष्मीको पीभीएस दानाको २३ सय वोरा आलु हेमजाका कृषकहरुको मात्र कुहिएको कृषकहरुको भनाई छ भने अन्य क्षेत्रका कृषकहरुको आलु पनि सोही परिमाणमा कुहिएको पाईएको छ । कृषकहरुले राखेको ५० प्रतिशत बीउ आलु काम लाग्ने छैन हेमजा सेवा केन्द्रका प्रास गुरु अर्यालले भने । शीत भण्डार सञ्चालक दीपक कोईराला लगायतका साझेदारहरुले कृषकसँग आलुको बीउ जिम्मा लिएर प्रर्याप्त चिस्यान कायम गर्न नसक्दा आलुको बीउ कुहिएको कास्कीको लेखनाथका कृषक हरि थापाले वताए । उनले स्टोरले क्षति पूर्ति दिनै पर्ने माग समेत गरेका छन् ।
यता, कोल्ड स्टोरका संचालकहरुले कृषकको आलु कुहिएको भन्ने गुनासोलाई अस्वीकार नगरेपनि कृषकले आलु स्टोर गर्ने बेलामा नै विशेष परिस्थितिका कारण आलु विग्रन गएमा त्यसको जिम्मेवारी कोल्ड स्टोरले नलिने भन्ने सम्झौता भएको बताएका छन् । कृषकले ल्याएको आलु राम्रोसंग नसुकेको कारणले मात्र नभएर मालेपाटन र पस्र्याङ क्षेत्रमा सडक विस्तारका क्रममा विद्यूत लाइन काटिएर लामो समय विद्युत आपूर्ति नहुँदा र पछिल्लो समयमा पेट्रोलियम पदार्थको सहज आपूर्ति नहुँदा कोल्ड स्टोरमा आवश्यकता अनुसार चिस्यान कायम हुन नसकेकोले समस्या आएको बताइन्छ । आफूहरुले कोल्ड स्टोरमा राखिएको कुनैपनि सामान नबिग्रियोस भनेर सजगता अपनाएको र आप्mनो तर्फबाट सक्दो पहल गरेको भएपनि राज्यका निकायबाट डिजेल आपूर्ति गर्ने विषयलाई सम्वेदनशील रुपमा नलिएपछि आफूहरुले जेनेरेटर संचालन गर्न नपाएको संचालकहरुको गुनासो छ । अधिकांश कृषकलाई भने उनीहरुले स्टोर गरेको आलुको अनुपातमा केही आलु वितरण गरिएको संचालकको भनाइ छ । जिल्ला कृषि विकास कार्यालय कास्कीले भने सो शीत भण्डार सञ्चालनमा कार्यालय सँग सरोकार नभएको बताएको छ । तर कृषकको समस्यमा भने कार्यालयको प्रत्यक्ष सरोकार रहेको वरिष्ठ कृषि विकास अधिकृत रमेशप्रसाद कोईरालाले बताए । बीउ लगाउने वेलामा स्टोर गरेर राखेको बीउ कुहिनु राम्रो भएन । तर यसमा कृषकहरुका पनि केही कमजोरी रहेको उनले बताएका छन् । चीसो आलु नओभाईकन भण्डारण गर्दा यो समस्या देखा परेको उनको भनाई छ । अर्को तिर जिरो किलोमिटर विन्ध्यवासिनी सडक खण्ड निर्माण गर्ने भन्दै सो क्षेत्रका रुख विरुवा फँडानी गर्ने वेलामा विजुलीको लाईन कटअफ हुँदाका वखत आलुको बीउ कुहिएको उनले बताए ।
Post a Comment