प्रशन्न पोखरेल
भूकम्पले भत्केको मनास्लु पदमार्ग खुलाउन नसक्दा उत्तरी गोरखामा महँगी बढेको छ । अवरुद्ध पदमार्ग छिचोलेर खच्चड सञ्चालन गर्न नसक्दा खाद्यान्न लगायत सामग्रीको ढुवानी रोकिएको सात महिना भइसक्यो । भूकम्पपीडित स्थानीयले नुन, तेल, खुर्सानीजस्ता दैनिक उपभोग्य सामानको अभाव झेल्दै आएका छन् । पदमार्गको थुमीस्थित सोतीबजार क्षेत्रदेखि गुम्दाको माछाखोला हुँदै केरौँजाको यारु बगर क्षेत्रसम्मको पदमार्गमा झरेको पहिरो पन्छाउन नसकिएको खच्चड व्यवसायीसमेत रहनुभएका माछाखोलाका धनकुमार गुरुङले बताए । उत्तरी भेगमा चल्दै आएका एक हजार ओटाभन्दा बढी खच्चड सात महिनादेखि कामविहीन छन् भने ढुवानी समस्याले गर्दा स्थानीयवासीले महँगी खेप्नुपरेको छ । भूकम्पपछि पदमार्ग खुलाउन जिल्ला दैवीप्रकोप उद्धार समितिले केरौँजा–हुल्चोक हुँदै सिर्दिवासको जगतसम्म गोरेटो बाटो खोल्यो । तर उक्त बाटो भएर मानिस आवतजावत गर्न सक्दैनन् । ढुङ्गा खसिरहने, सुख्खा पहिरोको जोखिम छ । लापु, माछाखोला, सिर्दिवास क्षेत्रका स्थानीय मिलेर मनास्लु पदमार्ग उपभोक्ता समिति गठन गरेर अवरुद्ध पदमार्ग खुलाउने काम पनि गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पठाएको ३५ लाख ९८ हजार ६४७ रुपैयाँ बजेटले पदमार्गको केही खण्ड खुलाइएको छ ।
ती खण्डमा मानिस, खच्चड हिँड्न सक्ने भएपनि केरौँजा गाविसको यारुबगर क्षेत्रमा बूढीगण्डकी नदी कटानले गर्दा बगाएको पदमार्ग सञ्चालन गर्न पुल निर्माण गर्नुपर्ने देखिएको गुरुङको भनाइ छ । “यारु बगरमै दुईओटा पुल बनाउनुपर्ने देखिन्छ”, समितिका अध्यक्ष रहनुभएका गुरुङ्गले भने–“एउटा काठको पुल निर्माण भएको छ । त्यो पुल भएर खच्चड ओहोर–दोहोर गर्न सक्दैनन् ।” पदमार्गको यारुबगर क्षेत्रमा ग्याभिन भरेर पदमार्ग सञ्चालन गर्न जिविस गोरखाले ४० थान तारजाली दिइसकेको छ । मनास्लु संरक्षण क्षेत्र आयोजनाले उक्त तारजालीको ढुवानी गर्ने जिम्मा लिएको छ । अहिलेसम्म ढुवानीको प्रक्रिया सुरु भएको छैन ।
बर्सेनि काठे पुल बनाउँदा वन सकिन्छ”, सिर्दिवासका स्थानीयवासी विकास गुरुङले भने–“एउटा पुल निर्माण गर्दा ३० वटा रूख नाश हुन्छ ।” उक्त ठाउँमा एस्काभेटर लगेर पदमार्गको नयाँ टू्याक खुलाउनुपर्ने गुरुङको भनाइ छ । “एउटा ठेकेदारले हेलिकोप्टरबाट ढुवानी गरेर छेकम्पारमा डोजर लैजान सक्ने, जिविस, सरकारले नसक्ने ?”, उनले प्रश्न गरे, “उत्तरी भेगका हजारौँ जनताले दुःख पाइरहने, सरकारी तर्फबाट बजेट प्राप्त नहुने हो भने जोखिम मोलेर हामी कतिन्जेल हिँड्न सकिएला ।” दैनिक उपभोग्य सामग्रीको भाउ आकासिएको भन्दै उनले पदमार्ग खोलेपछि हेलिकोप्टरबाट सामान ढुवानी गर्नु नपर्ने बताए ।
जिल्लाबाट बजेट मिलेन भने हामी प्रधानमन्त्री कहाँ पनि डेलिगेसन जान्छौँ”, गुरुङले भने– “मनास्लु पदमार्ग अवरुद्ध हुँदा ३० जनाभन्दा बढी खच्चड डूाइभर, १२७ ओटाभन्दा बढी होटलमा काम गर्दै आएका मजदुर रोजगारविहीन छन् ।” उत्तरी भेगमा ढुवानी गर्नुपर्ने नुन ढुवानी रोकिएको छ । औषधि ढुवानी गर्न सकिएको छैन । ‘सिजन’ मा खचाखच पर्यटक हुने पदमार्ग अहिले सुनसान छ । केही पर्यटक हेलिकोप्टरमार्फत सामागाउँ झरे पनि थोरैले मात्रै लार्केपास पार गरेका छन् । पाँच हजार १०० मिटर उचाइको लार्केपास भएर सामागाउँ क्षेत्रका भूकम्पपीडितलाई यसअघि राहत बाँडिएको थियो । “पर्यटक नगन्य मात्रामा हिँडेका छन्”, गुरुङले भने, “सिर्दिवासदेखि माथिका क्षेत्रमा जोखिम कम भए पनि त्यसमुनिको क्षेत्र धेरै जोखिमयुक्त छ । पहिरो(पहिरोमा हिँड्नुपर्छ, गोरेटो बाटो पनि छैन ।” यात्रुबगरमा बाटो नभएपछि बटुवा माथिको डाँडो काटेर हिँडेका छन् । पदमार्गको दायाँबायाँ खुलेका होटल भूकम्पले गर्दा चर्केका, भत्केका छन् । तीमध्ये अधिकांश होटल मर्मत गरिएका छन् । अन्नपूर्ण पदमार्गमा मोटरबाटो पुगेपछि पदयात्री पर्यटकको रोजाइमा मनास्लु पदमार्ग पर्दै आएको छ । बर्सेनि पर्यटकको सङ्ख्या बढ्दै गएको छ । गत वर्ष छ हजार जना हाराहारीमा विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन गरेको एमक्यापको तथ्याङ्क छ । एमक्यापले विदेशी पर्यटकको मात्रै गणना गर्छ । स्थानीय विकास अधिकारी प्रेमराज गिरीले पदमार्ग खुलाउन जिविसकै पहलमा मन्त्रालयले उक्त बजेट पठाएको दाबी गरे । त्यसबेला मन्त्रालयले पठाएको एक करोड ४५ लाख रुपैयाँ बजेटमध्ये ३८ लाख ९९ हजार रुपैयाँ मात्रै खर्च भएको हो । अन्य बजेट पदमार्गको उपल्लो भेगमा खर्च गरिनेछ । पदमार्ग खुलाउन जिविसमा बजेट नभएकाले मन्त्रालयको भर पर्नु परेको गिरीको भनाइ छ । पदमार्गको केही खण्ड खुलाउन स्थानीयवासीले पनि आठ लाख ९९ हजार ६६१ रुपैयाँ बराबरको श्रमदान गरेका छन् । देशभरका अवरुद्ध पदमार्ग खुलाउन सरकारले चासो लिए पनि काम सुरु नगर्दा पदमार्ग भएर ओहोरदोहोर गर्नुपर्ने स्थानीयवासी मर्कामा परेका छन् ।
Post a Comment