आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारसँग जारी वार्ता भंग गर्ने निर्णय गरेको छ । मोर्चाको वार्तासमितिको सोमबार तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो । हिजो मात्र वार्ता सकारात्मक दिशामा अघि बढेपनि आज एकाएक सरकार दमनमा उत्रिएकाले सरकार वार्ताको पक्षमा नरहेको आरोप मोर्चाका नेताहरुले लगाएका छन् । ‘वार्ताको वातावरण समाप्त’ भएको मोर्चाले जारी गर्न लागेको विज्ञप्तिमा उल्लेख छ । सोमबार वीरगञ्जमा नाका खुलाउने क्रममा भएको झडपमा १ जनाको मृत्यु समेत भइसकेको छ । आइतबार मात्र सरकारले विवादीत रहेको सीमाकंन लगायतको विषयमा सरकार पुर्न्विचार गर्न तयार रहेको लिखित जानकारी मोर्चालाई गराएपछि वार्ता सकारात्मक दिशा अघि बढेको मोर्चाका नेताहरुले नै बताएका थिए । वार्ताको क्रममा सरकारले सीमाअवरोध र बन्द फिर्ता लिन आग्रह गरे पनि मोर्चाका नेताहरुले माग पूरा नभएसम्म त्यसो गर्न नसकिने जानकारी दिएका थिए । तर, सोमबार बिहान एक्कासी प्रहरी बीरगंजमा सीमाअवरोध गरिरहेका आन्दोलनकारीलाई हटाउन पुगेका थिए । जसक्रममा व्यापक बल प्रयोग भएको मोर्चाका नेताहरुले आरोप लगाए । प्रहरीले सीमा खुलाएर २ सयभन्दा बढी भारतीय गाडीलाई सीमा पार गर्न दिएका थिए । त्यसपछि भएको झडपमा एक जनाले ज्यान गुमाएका छन् भने विरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञासमेत जारी गरिएको छ । वार्ता समितिमा लक्ष्मणलाल कर्ण, रामनरेशराय यादव, हृदयेश त्रिपाठी र लालबाबु राउत रहेका छन् ।
यसैगरी संयुक्त लोकतान्त्रिक मेधेसी मोर्चाले सरकार र आन्दोलनकारी पक्षबीच बन्दै गएको सकारात्मक वातावरणलाई वीरगन्जमा सोमबार भएको घटनाले खण्डित तुल्याएको जनाएको छ । वीरगन्ज घटनाले सरकारले वार्तालाई रणनीतिको रुपमा प्रयोग गर्न खोजेको आभास भएको मोर्चाले आरोप पनि लगाएको छ । मोर्चाद्वारा आयोजित पत्रकार सम्मेलनमा तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले वार्तालाई सार्थक र परिणाममुखी बनाउन प्रयास भइरहेका बेला वीरगन्ज घटनाले त्यसमा प्रश्न खडा गरेको छ भने । वार्ता बिथोल्ने काम सरकारबाटै भएकाले वार्ताको औचित्य समाप्त हुँदै गएको उनको भनाइ थियो । पत्रकारसम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भने अविलम्बरुपमा सरकार जिम्मेवार ढङ्गले प्रस्तुत भई वार्ताको वातावरणलाई सहज बनाउन भूमिका निर्वाह गरोस् भनिएको छ ।
यसैबीच सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले धर्नामा बसेका प्रदर्शनकारीमाथि प्रहरीले धरपकडको विरोध गरेका छन् । उनले सरकारले मधेसमा हिंसा भड्काएर गृह युद्ध चाहेको आरोप समेत लगाए । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारलाई प्रश्न गर्दै भने, ‘सरकारले मधेसमा हिंसा भड्काएर गृह युद्ध चाहेको हो ?, यदी होइन भने हिजो भएको वार्ता सकारात्मक हुँदा हुँदै मधेसीमाथि किन आज फेरि दमन गर्ने काम भयो ?’उनले मधेस आन्दोलनलाई कमजोर रुपमा नआक्न समेत चेतावनी दिए ।
Post a Comment