0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय समाचार समिति
(रासस) को आयोजना एवम् रासस बृहत्तर हित उप–समितिको संयोजनमा शनिबारदेखि पोखरामा दुई दिवसीय समाचार लेखन तालिम सुरु भएको छ । राससको समाचार लेखनमा गुणस्तरीयता कायम गर्ने लक्ष्यका साथ राससअन्तर्गत लुम्बिनी, धवलागिरि र गण्डकी अञ्चलका विभिन्न जिल्ला तथा क्षेत्रमा रही कार्यरत ३२ समाचारदाता एवम् प्रतिनिधिका लागि सो तालिम आयोजना गरिएको हो ।
 
तालिमको उद्घाटन समारोहमा पूर्व सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सञ्चारजगत राज्यको महत्वपूर्ण अङ्ग भएको चर्चा गर्दै सञ्चारकर्मीले समाचारको सत्यता, गुणस्तरीयतालगायत हरेक पक्षलाई गम्भीरताका साथ लिनुपर्ने बताए । ‘समाचार लेख्दा समाचारदाताले जिम्मेवारितालाई आत्मसात् गर्नु अपरिहार्य हुन्छ,’ उनले भने–‘समाचारदाताले लोकप्रियताका लागि बढाइचढाइ गर्नुभन्दा वास्तविक समाचार सम्प्रेषणलाई सधैँ उच्च प्राथमिकतामा राख्नुपर्छ ।’ राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले राससले ठूला र राम्रो सञ्चार माध्यमसँग प्रतिस्पर्धा गर्न सक्ने गरी समाचारको गुणस्तरीयता बढाउनु पर्ने धारणा राखे । राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले समाचारदाताको समाचार सम्प्रेषणलाई प्रभावकारी बनाउन तालिम आयोजना गरिएको बताए । ‘पत्रकारिता सत्यताको मुख खोल्ने अभियान हो,’ उनले भने,–‘समाजका सत्य तथ्यलाई सम्प्रेषण गर्नु सञ्चारमाध्यमको प्रमुख दायित्व हो ।’ राजनीतिक स्वतन्त्रतामा मात्र पत्रकारिता फस्टाउने र जीवित रहने उल्लेख गर्दै अध्यक्ष वाग्लेले यो लोकतन्त्रको पहरेदार भएको चर्चा गरे । रासस बृहत्तर हित उपसमितिका संयोजक एवम् रासस सञ्चालक समिति सदस्य गङ्गाधर पराजुलीले कार्यक्षमताको विकास मात्र नभएर समग्र राससको समाचार प्रभावकारी र गुणस्तरीय बनाउन तालिम आयोजना गरिएको बताए । राससका प्रधान सम्पादक राजु शाक्यले राससको समाचार सेवाको गुणस्तरीयता अभिवृद्धिका लागि तालिम उपयोगी हुने धारणा राखे । कास्कीका स्थानीय विकास अधिकारी रामचन्द्र तिवारीले पत्रकारिता आफँैमा एउटा महत्वपूर्ण तर जटिल पेसा भएका कारण जाँगर नचल्नेले यो पेसा अङ्गाल्न नहुने धारणा राखे । पोखरा उपमहानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेलले सामाजिक विकासमा पत्रकारिता जगतको महत्वपूर्ण भूमिका हुने भएकाले यसलाई राज्यको महत्वपूर्ण अङ्ग मानिएको बताए ।
 
राससका व्यवस्थापक उत्तम सिलवाल, कार्यकारी सम्पादक एकराज पाठक, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्ट, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेललगायतले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरेका थिए ।


Post a Comment

 
Top