0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमा नसमेटिएका केही विषयलाई समेट्नका लागि व्यवस्थापिका–संसद्मा संशोधन प्रस्ताव दर्ता गरिएको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा शुक्रबार पोखरामा आयोजित प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण एवम् सम्मान समारोहमा उनले संविधानलाई सर्वस्वीकार्य बनाउने नै काँग्रेसको लक्ष्य भएकाले संविधानका सम्बन्धमा उठेका कुनै पनि विषयमा काँगेस सबैसँग छलफल गर्न तयार रहेको उल्लेख गरे । मधेस र पहाडबीचको एकताले नै देश समृद्धिको मार्गमा उन्मुख बन्ने धारणा राख्दै उनले नेपालमा इन्धन, औषधिजस्ता अत्यावश्यकीय वस्तुको आयात रोक्न धर्नामा बसेर कुनै मधेसी वा नेपालीलाई फाइदा नपुग्ने बताए । भन्सार नाकामा धर्नामा बसेर नेपाली जनताको औषधि, इन्धन, ग्यास रोकेर र विद्यालय बन्द गरेर नेपालीको मात्र नभई मधेसकै हित र जित नहुने उनको भनाइ थियो । ‘अरूलाई दुस्ख दिएर मधेसीको हित हुँदैन,’ उनले भने,–‘सर्वसाधारण नेपालीलाई दुस्ख दिएको मधेसी जनतालाई नै चित्त बुझेको छैन ।’ नेता शेरबहादुर देउवाले केही मधेसवादी दलहरूको आन्दोलनप्रति मधेसी जनताकै चित्त नबुझेको बताए । प्रजातन्त्रको सुदृढीकरण एवम् संविधानको कार्यान्वयनका लागि काँग्रेसको भूमिका सधैं महत्वपूर्ण हुने नेता देउवाको भनाइ थियो । वि.सं. २०४५ सालमा हतियारका विषयमा भारतले नाकाबन्दी लगाए पनि अहिले बिनाकारण नाकाबन्दी भएको उनले बताए । अहिले नेपालीले भारतलाई असर पुग्ने त्यस्तो कुनै काम नगरेको भन्दै उनले नेपाली जनतालाई दुस्ख नदिन भारत सरकारसमक्ष अनुरोध गरे । ‘नाकाबन्दी हटाउन भारत सरकारसमक्ष अनुरोध गर्छु,’ उनले भने, ‘नेपाल सरकारले पनि पहल गरोस् ।’
देउवाले पार्टी सभापति सुशील कोइरालाप्रति इंगित गर्दै इमान्दारितासाथ जिम्मेवारी पूरा गर्नुपर्ने बताए । ‘प्रधानमन्त्रीको चुनावमा लड्ने भएपछि संविधान बनेको भोलिपल्टै उम्मेदवारी घोषणा गरेको भए जित्न पनि सकिन्थ्यो,’ उनले भने, ‘चुनावको अघिल्लो दिन लड्छु भनेर हुन्छ ? सुशिल कोइराला बच्चा हो र मैले उकास्ने ?’ कहिले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री दिने सहमति भएको भन्ने कहिले हैन भन्ने कुराले पार्टीको हित नहुने उनले बताए । उक्त अवसरमा नेता देउवाले नेपाल प्रेस युनियन कास्कीद्वारा स्थापित प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट वरिष्ठ सञ्चारकर्मी एवम् राष्ट्रिय समाचार समितिका सञ्चालक समिति सदस्य गंगाधर पराजुलीलाई पुरस्कृत एवं सम्मान गरेका थिए । नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारको राशि ३५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ ।
पोखरामा रहेर २५ वर्षसम्म निरन्तर पत्रकारिता गरिरहेका गंगाधर पराजुली पोखराबाट प्रकाशन भइरहेको गोल्डेन न्यूज दैनिकका प्रधान सम्पादक तथा अध्यक्ष र सुनौलो एफएमका कार्यकारी निर्देशक समेत हुन् ।  यसअघि नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनको केन्द्रीय उपाध्यक्ष रहेर काम गरिसकेका पराजुलीसंघ छापा र विद्युतीय संचार माध्यममा काम गरेको लामो अनुभव छ । उनी नेपालको प्रजातान्त्रिक आन्दोलन र प्रेस स्वतन्त्रताको आन्दोलनमा निरन्तर सक्रिय रहँदा २ महिनाको जेल जीवन र पटक–पटक हिरासतमा परेका व्यक्तित्व हुन् ।
कार्यक्रममा नेपाली काँग्रेस प्रचार विभाग प्रमुख एवम् पूर्वसञ्चार मन्त्री डा मीनेन्द्र रिजालले देशमा महत्वपूर्ण उपलब्धिका रुपमा संविधान जारी भएपछि नेपालको जनजीवन अत्यन्त असहज बनेको चर्चा गरे ।     मधेसमा संविधानका सम्बन्धमा बुझाइ राम्रो बन्न नसक्दा समस्या बढिरहेको बताउँदै उनले आपसी संवादका माध्यमबाट समस्याको समाधान गर्न सकिने बताए । राष्ट्रिय सूचना आयोगका आयुक्त एवम् नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष किरण पोखरेलले लोकतन्त्रको संस्थागत विकासका लागि सञ्चार जगतको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
सम्मानित व्यक्तित्व गंगाधर पराजुलीले लोकतन्त्रको पहरेदार सञ्चार जगत नै भएको धारणा राखे । उनले नेपालको प्रजातान्त्रिक आन्दोलन र प्रेस स्वतन्त्रताको आन्दोलनमा थप सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराल, नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, नेपाल शिक्षक महासङ्घका अध्यक्ष केशव निरौला, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापा, पुरस्कार छनोट समितिका संयोजक रवीन्द बाँस्तोला, युनियनका उपाध्यक्ष माधव रेग्मी, सचिव प्रकाशचन्द्र सापकोटा, सांसद शारदा पौडेल लगायतले लोकतन्त्र सङ्कटमा परेका अवस्थामा काँग्रेसको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए । उक्त अवसरमा नेपाल प्रेस युनियन कास्कीले पूर्वसञ्चार मन्त्री डा. मीनेन्द्र रिजाल, सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सहित पुरस्कारका लागि अक्षयकोष स्थापना गर्न सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा कास्की कांग्रेस सभापति एवं सांसद यज्ञबहादुर थापा, सांसद एवं कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ, स्याङ्जा कांग्रेस सभापति एवं सांसद कमल पगेनी, तनहुँ कांग्रेस सभापति एवं सांसद ध्रुव वाग्ले, सांसद वृन्दा राना, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, राससका अध्यक्ष कुलचन्द्र वाग्ले, कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवर लगायत सहभागी थिए।
यसैबीच पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाका साथै पूर्व संचार मन्त्री डा. मीनेन्द्र रिजाल शनिबार  पोखरामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । शनिबार नेपाली कांग्रेस कास्कीले कार्यकर्ता प्रशिक्षण एवं गणेशमान सिंह स्मृति फाउण्डेशन कास्कीले एक कार्यक्रम आयोजना गदैृछ । उक्त कार्यक्रममा वरिष्ठ नेता देउवा र नेता रिजाल सहभागी हुने बताइन्छ ।  
सम्मानको मुस्कान ः वरिष्ठ संचारकर्मी एवं गोल्डेन न्यूज दैनिकका प्रधान सम्पादक गंगाधर पराजुलीलाई सम्मान गर्दै पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा । साथमा पूर्व संचारमन्त्री एवं काँग्रेस प्रचार विभाग प्रमुख डा. मीनेन्द्र रिजाल, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराल, पराजुली पत्नी सुशिला पराजुली, नेपाली कांग्रेस कास्कीका सभापति एवं सांसद यज्ञबहादुर थापा र सम्मानित पराजुलीका ममतामयी आमा कलावती पराजुली । पत्रकार पराजुलीलाई नेता देउवाले ३५ हजार ५ सय ५५ रुपैयाँ राशिको पुरस्कार, सम्मानपत्र र दोसल्लाद्वारा सम्मान गरेका थिए ।     तस्वीर ः दुर्गा पौडेल÷गोल्डेन न्यूज

Post a Comment

 
Top