गोल्डेन न्यूज संवाददाता
बालश्रम न्युनीकरण कार्यक्रम अन्तर्गतको श्रमिक बालबालिकाहरु को सम्पर्क केन्द्रको सम्पर्कमा रहेका बालबालिकाहरुलाई सौन्दर्य तालिम दिन शुरु गरिएको छ । ‘सिप सिकौं, आत्मनिर्भर बनौं’ नाराका साथ ६ महिने तालिम आयोजना गरिएको हो । शुक्रबार तालिमको औपचारिक उद्घाटन गरिएको छ । तालिममा ८ जना सहभागी छन् । पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा गुरुङ व्युटिपार्लर एकेडेमी प्रालि पोखराको समन्वयमा आयोजित तालिमलाई पोखरा उपमहानगरपालिका, युनिसेफ र किडाशाले सहयोग गरेका छन् । तालिमको उद्घाटनका अवसरमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले व्युटिसिएन तालिम लिएकाहरुले सहजै स्वरोजगार सिर्जना गर्न सक्ने बताए । ‘स्वरोजगार सिर्जना गरी रोजगारीका अवसर पनि यो व्यवसायमा निकै बढेको,’ उनले भने ।
पोखरा उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत ओमराज पौडेलले सौन्दर्य व्यवसायप्रति पछिल्लो समय निकै आकर्षण बढेको धारणा राखे । ‘आत्मनिर्भर बन्न सौन्दर्य तालिम निकै सहयोगी बन्ने मेरो विश्वास छ,’ उनले भने, ‘तालिममा सहभागीहरुले चासो दिएर सिप आर्जन गर्नुपर्छ ।’ पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा बालश्रम न्युनीकरण कार्यक्रमका अध्यक्ष दीपक श्रेष्ठले बाल श्रम न्युनीकरणका लागि संघले निरन्तर काम गरिरहेको बताए ।
गुरुङ व्युटिपार्लर एकेडेमीका सञ्चालक चिनु गुरुङले दक्ष प्रशिक्षकहरुद्वारा तालिम प्रदान गरिने जानकारी दिइन् । ‘हरेक दिन दुई घण्टासम्म कक्षा सञ्चालन हुन्छ,’ उनले भनिन्, ‘स्किन केयर, बडी केयर र हेयर डे«सिङलगायतका सिप डिप्लोमा कोर्षमा सिकाउँछौं ।
Post a Comment