0
गोल्डेन न्यूज संवाददाता 
चीनसँगको मुख्य व्यापारिक नाका तातोपानी नेलामु नाकालाई मर्मत सम्भार गरी तत्काल संचालन गर्ने सम्बन्धमा दुईदेश बीच सम्झौता भएको छ। बिहीबार साँझ राजधानीको एक होटलमा नेपालका तर्फबाट भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मी र चीनपक्षको तर्फबाट ल्हासा भन्सारका उपमहानिर्देशक लुन चेन वाइले सम्झौतामा हस्ताक्षर गरेका हन्। सम्झौतामा तत्काल मुख्य व्यापारिक नाका तातोपानी र केरुङलाई सञ्चालनमा ल्याउने तथा त्यस अलावा चीनसँगका बाँकी सात नाका मुस्ताङ, हुम्लाको यारिङ, संखुवासभाको किमाथाङका, ताप्लेजुङको ओलाङचुङगोला, गोरखाको लार्के, दोलखाको लामाबगर र मुगु भन्सार नाकाको सम्भाव्यता अध्ययन गरी सञ्चालनमा ल्याउने सहमति भएको छ। त्यसबाहेक सिन्धुपाल्चोक को लार्चा र रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह स्थापना गरिने भएको छ। नेपालमा भूकम्पले पु¥याएको भौतिक संरचना क्षतिको पुनर्निर्माणलाई तिव्रता दिने सम्झौता पनि चीनसँग भएको छ। त्यसैगरी, दुई देशबीचको कार्यालय समय पनि फरक रहेकाले कार्यालय संचालन समयलाई एकरुपता कायम गर्ने विषयमा पनि समझदारी भएको छ। चीनबाट नेपाल निर्यात हुने खाद्य र पेय पदार्थहरुको लेबलमा उत्पादन मिति, उपभोग गर्न सकिने मिति,  मिश्रण सामाग्री लगायतका आवश्यक सूचना कम्तीमा  नेपाली वा अंग्रेजीमा लेख्ने व्यवस्था मिलाउन आफ्ना उत्पादनकर्ता, व्यापारीलाई अनुरोध गर्ने सम्बन्धमा पनि चिनियाँ टोली सहमत भएको छ।

Post a Comment

 
Top