गोल्डेन न्यूज संवाददाता
तिहार नजिकिँदै जाँदा पोखरामा पटाकाविरुद्ध अभियान संचालन गरिने भएको छ । पोखरामा विभिन्न संघसंस्थाको समन्वयमा यो अभियान संचालन गर्न लागिएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिए । अभियानमा नागरिक समाज पोखरा, महिला समन्वय समिति पोखरा, सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्की, टोल विकास संस्था नगर समन्वय समिति तथा वडा प्रहरी कार्यालय बगर, बैदाम र रामबजार एवं विभिन्न स्थानीय संघसंस्था छन् ।
सरोकारवाला संस्था तथा वडा प्रहरी कार्यालय बगर, रामबजार र बैदामका प्रमुखहरुको सम्पन्न भेलाले पोखरामा तिहारको अवसरमा पटाका, आतिसबाजी लगायत सामाजिक सुरक्षामा खलल पार्ने कुनै पनि बस्तु पड्काउन नपाइने निर्णय गरेको हो । नागरिक समाजको पहलमा स्थानीय प्रशासनले गत २०६७ देखि कास्कीलाई पटाका मुक्त जिल्ला घोषणा गर्दैआएकोमा हरेक वर्ष अभियानलाई निरन्तरता दिँदैआएको हो । महिला समन्वय समिति पोखराका अध्यक्ष पवित्रा गुरुङको अध्यक्षतामा सम्पन्न उक्त भेलामा वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक वेदप्रकाश जोशी, वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक मोहनबहादुर खाँण, वडा प्रहरी कार्यालय बैदामका प्रहरी सहायक निरीक्षक भक्तिराम खनाल, सामुदायिक सेवा केन्द्रका जिल्ला समन्वय समिति अध्यक्ष विष्णुबहादुर भट्टराई, टोल विकास संस्था नगर समन्वय समितिका वरिष्ठ उपाध्यक्ष उत्तम जोशी, कोषाध्यक्ष सम्मरबहादुर श्रेष्ठ लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
Post a Comment