0
गोल्डेन न्यूज संवाददाता
संचारकर्मी बिनु सुवेदी पोखरामा सम्मानित भएकी छन् । पोखरा विमर्श साप्ताहिकद्वारा स्थापित ‘पोखरा विमर्श पत्रकारिता पुरस्कार २०७१’ बाट सुवेदी सम्मानित भएकी हुन् । भर्खर पत्रकारितामा लाग्दै गरेका पत्रकारलाई उर्जा थप्ने उद्देश्यले स्थापित गरिएको पत्रकारीता पुरस्कारबाट पहिलो पटक सुवेदी नगद ५ हजार ५ रुपैया नगद पुरस्कारद्वारा सम्मानीत भएकी हुन् । कार्यक्रमका प्रमुख अतिथि लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी त्रिपाठी र पत्रीकाका प्रधानसम्पादक कृष्ण अन्जान ज्ञवालीले सुवेदीलाई सम्मान गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लक्ष्मी त्रिपाठीले नेपालको पत्रकारिताको यथार्त बाध्यतामा गुज्रिएको बताए । पत्रकारिता गर्नेहरुका आफ्नै समस्या रहपनि पत्रकारहरुले देशको विषम्परिस्थितिमा खेलेको भूमिकाको उनले सम्मान गरे । उनले भने–‘अहिलेको स्थितिमा पत्रकारिताले जुन भूमिका निर्वाह गरेको छ त्यो अत्यन्त महत्वपूर्ण कुरा हो, यो पत्रकारको कर्तव्य पनि हो ।’ त्यस अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले पत्रकारहरुले आफ्नो क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने बताएका छन् । अहिले पनि पत्रकारहरुले विहान खाए बेलुका के खाने अबस्था रहेको बताउनु लज्जास्पद रहेको बताउदै अध्यक्ष ज्ञवालीले पैसा नदिने संचारमाध्यममा खुम्चिएर बस्नु पत्रकारको गल्ति भएको बताए । उनले भने–‘नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमीक नदिने संचारमाध्यममा म काम गर्छु किन भन्ने ? छोड्ने त्यहाँबाट निस्कने, आफु सक्षम बन्ने, राम्रो काम गर्ने हो भने राम्रा अवसरहरु धेरै छन् ।’ अध्यक्ष ज्ञवालीले विश्वलाई प्रविधिले सानो बनाएको बताउँदै यहाँबाट अमेरिकाको समाचार लेख्न सकिने अवस्था भइसकेकाले आफ्नो क्षमता बढाएर काम गर्न पत्रकारहरुलाई आग्रह गरे । अध्यक्ष ज्ञवालीले अब आगामी दिनमा पत्रकारले न्यूनतम पारिश्रमिक पाइएन भनेको सुन्न नपरोस भने । पत्रिका र संचारमाध्यम संचालकहरुले पनि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक दिन सक्छु भन्ने हिम्मत राखेर संचारमाध्यम संचालन गर्न आग्रह गरे । कार्यक्रममा विशेष अतिथि स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले पत्रकारितामा धेरै पुरस्कार रहेपनि विमर्शले सुरुवात गरेको पुरस्कार भिन्नै खालको रहेको बताए । बाँस्तोलाले पत्रकारिता पेशा अहिले जटिल अवस्थामा पुगेको बताए । उनले भने–‘नाकाबन्दीका कारण पत्रकारहरुलाई ठूलो समस्या परेको छ, यस्तै अवस्था रहने हो भने अब २ महिनामा पोखराका धेरै पत्रिका बन्द हुने छन् ।’
 
कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व बिनु सुवेदीले पोखरा आएर पत्रकारिता सुरु गरेकै अवस्थामा पाएको पुरस्कारले आफूलाई खुसी सँगै जिम्मेवारी थपेको उल्लेख गरिन् । कार्यक्रममा नेपाल ज्योतिष पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. बलराम उपाध्याय रेग्मी, नेपाल पत्रकार संघका केन्द्रीय सदस्य सुस्मा पौडेल, पोखरा विमर्शका संस्थापक पदमराज घिमिरे उदासी, वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बराल, नेपाल मानवअधिकार आयोग पोखराकी प्रमुख सम्झना शर्मा, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, इन्सेक पश्चिमाञ्चल प्रमूख शिव खकुरेल, नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेललगायतले आ–आफ्नो भनाइ राखेका थिए ।  पत्रिकाका प्रधानसम्पादक कृष्ण अन्जान ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा सम्पादक राजेश पारजुलीले स्वागत गरेका थिए । कार्यक्रम असफल गौतमले संचालन गरेका थिए । २०७० सालमा स्याङजाको रेडियो स्याङजाबाट पत्रकारिता सुरु गरेकी सुवेदी अहिले पोखराको फेवा टेलिभिजनमा समाचार वाचिकाको रुपमा कार्यरत छन् । यसअघि उनले पोखराको रेडियो तरङ्ग र रेडियो सारङ्गीमा काम गरिसकेकी छन् ।

Post a Comment

 
Top