0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा भद्रकालीको आयोजनामा पोखरा २५ आर्वास्थित रतन पाण्डे माध्यमिक विद्यालयमा भएको पिस पोस्टर प्रतियोगितामा विशान सुनार प्रथम भएका छन् । प्रतियोगितामा चार देखि आठ कक्षा सम्मका २० जनाले सहभागिता जनाएका थिए ।
 
लायन्स अन्तर्राष्ट्रियको वार्षिक क्यालेण्डर अन्तर्गत भएको प्रतियोगितामा प्रथम हुनेको चित्र प्रतिष्पर्धाका लागि डिष्ट्रिक्टमा पठाइने छ । क्लबका अध्यक्ष खुबबहादुर बराल र विद्यालयका प्रअ दामोदर बरालले विजयी विद्यार्थीलाई पुरस्कार तथा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरेका थिए । क्लब अध्यक्ष बरालले विद्यार्थीहरुमा लुकेको प्रतिभा प्रस्फूटनका लागि यस्ता प्रतियोगिता गरिएको र आगामी दिनमा समेत निरन्तरता दिइने बताए । औपचारिक र पाठ्यक्रमको शिक्षा मात्र पर्याप्त नहुने भएकाले चित्रकला जस्ता अतिरिक्त क्रियाकलपले विद्यार्थीलाई थप सशक्त बनाउने उनको भनाइ थियो ।
 
प्रअ दामोदर बरालले विद्यालयमा कलाको अलग्गै शिक्षक नभए पनि विद्यार्थीहरुलाई आफ्नो रुची अनुसार विभिन्न समयमा चित्रकलाका कक्षा संचालन गर्दै आएको बताए । क्लबका तृतीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक नरेश नेपालले प्रतिस्पर्धामा कोही अघि कोही पछि हुने भन्दै चित्रकलालाई निरन्तरता दिन आग्रह गरे । क्लब सचिव भरत कोइरालाले वाल्य अवस्थामा ढुंगा माटोमा चित्र कोरेका आर्वामै जन्मेका दुर्गा बराल वात्स्यायन अहिले मुलुककै चर्चित कलाकारको रुपमा स्थापित भएको भन्दै लगातारको मेहनतले सफलता मिल्ने बताए । प्रतियोगितामा सहभागीहरुले यस्तो कार्यक्रमबाट आफूहरुलाई थप हौसला मिल्ने प्रतिक्रिया दिएका थिए ।



Post a Comment

 
Top