0
अमित ढकाल
दसैंअघि म आफैं ड्राइभ गरेर काठमाडौंबाट झापा गएको थिएँ। सिन्धुलीको बाटो हुँदै बर्दिवाससम्म हामी सजिलै पुग्यौं। मधेस आन्दोलनका कारण बर्दिवासअघि भने दिउँसो राजमार्गमा गाडी कुदाउन सम्भव थिएन। राति १० बजे महोत्तरी प्रहरीले स्कर्टिङ गरेर ढल्केबरसम्म लगिदियो। त्यहाँ लगभग १५ मिनेट कुरेपछि धनुषा प्रहरीले कमला नदीपारि सिरहा जिल्लाको बन्दीपुर पुर्यायो।  बन्दीपुरमा भने लामै समय पर्खनुपर्यो। त्यहाँबाट गाडीहरू कति बजे अघि बढ्छन् भन्ने सूचना कसैसँग थिएन। स्थानीय प्रहरी आफैं रनभुल्ल थिए।
 
मैले ड्युटी गरिरहेका असईलाई सोधेँ, ‘स्कर्टिङ कतिखेर आइपुग्छ?’  ‘खै, कुन दिन कति बेला आउँछ पत्तै हुन्न। कहिलेकाहीँ राति साढे १२ मै आइपुग्छ, कहिले साढे एक बज्छ,’ उनले भने,–‘नआत्तिनुस् पश्चिम लालगढको ‘कनभोय’ (गाडीको ताँती) आइपुग्यो भने त्यसैसँग जान पाउनुहुन्छ, नत्र पूर्वको स्कर्टिङसँग पठाउँछौं।’ न पूर्वको आयो न पश्चिमको। हामी मध्यरात हाइवेमा केटाकेटीसँगै थन्कियौं।  म, मेरो दाइ र मेरी श्रीमती गनगन गर्दै घरि गाडीबाहिर घरि भित्र गर्थ्यौं। धन्न हाम्री चार वर्षे छोरी र दाइका सात वर्षे दुई छोरा खटपट गर्दै भए पनि निदाएका थिए। झन्डै एक बजेतिर म फेरि गाडी बाहिर निस्किएँ। प्रहरीलाई सोधेँ, ‘स्कर्टिङको खबर के छ, किन ढिलो भएको हो?’ ‘भारदहमा लफडा भयो रे।’ ‘मध्यरातमा लफडा!’
 
‘आजकाल ‘मधिसे’ ले रातभर सडकछेउ मेला लगाउँछन्, लफडा भइरहन्छ,’ प्रहरीले भने। केही बेरअघि पनि ढल्केबरको त्यस्तै मेलामा लफडा भएको थियो। भीडबाट कसैले ढुंगा हानेर प्रहरीगाडीको अगाडिका सिसा झर्यामझुरुम फुटालेको थियो। म फर्केर गाडीभित्र पसेँ। छोराछोरी निदाएकै थिए। मेरो मुटुको चाल विस्तारै बढ्न थाल्यो। त्यसो त मैले धेरैपटक बन्द बेला राजमार्गमा गाडी हाँकेको छु। पछिल्लो संविधानसभा चुनावमा पनि वैद्य माओवादीको बन्द पर्वाह नगरी हामीले चितवनदेखि सिरहासम्म मधेसका भित्री भागमा पुगेर रिपोर्टिङ गरेका थियौं।
 
त्यतिबेला चन्द्रनिगाहपुरभन्दा केही किलोमिटरपूर्व हाम्रै अगाडिको ट्रकमा वैद्य माओवादी कार्यकर्ताले पेट्रोल बम हानेका थिए। ड्राइभरले सन्तुलन गुमाउँदा ट्रक पल्टेर आगो लाग्यो। केही दिनपछि ट्रकचालकको अस्पतालमा मृत्यु भयो। २०६४ को मधेस आन्दोलन बेला पनि म राजमार्गमा ‘ड्राइभ’ गरेरै काठमाडौं आएको थिएँ। यसपालिको कुरा भने अर्कै थियो। स–साना छोराछोरी साथमा थिए। मुटुको गति उनीहरूकै कारण थप तीव्र हुँदै थियो। मानिसले आफ्ना छोराछोरीलाई जति माया गर्छ, त्यति अरू कुनै प्राणीले पनि गर्ने भए पृथ्वीमा दुई प्राणीको राज हुन्थ्यो। आज मानिसको एकछत्र राज छ। 
 
बन्दीपुरमा पनि राजमार्गभन्दा करिब ५० मिटर उत्तर मध्यरात मेला चल्दै थियो। बिग्रिएको माइकबाट भड्किलो हिन्दी गीत चर्को स्वरमा घन्किँदा माहोल कम कर्कसपूर्ण थिएन। करिब १५–१६ वर्षकी एक युवती स्टेजमा कम्मर मर्काउँदै थिइन्। लठ्ठ भिड वरिपरि झुम्मिएको थियो। मैले गाडीको झ्यालका सबै सिसा बन्द गरेँ। कान र मन दुवैलाई केही बेर शान्ति मिल्यो। करिब एक बजेतिर पूर्वबाट प्रहरीको ‘स्कर्टिङ’ ट्रक आइपुग्यो। म गाडीका ताँतीको सबैभन्दा अगाडि थिएँ। मेरो अगाडि आएर प्रहरीको ट्रक लाइन लाग्यो। मधेस मूलका एक प्रहरी ट्रकबाट ओर्लिएर अघि बढे। स्कर्टिङ कति बजे जाने रै’छ बुझ्न म पनि गाडीबाट ओर्लिएँ। ती प्रहरी भीडमा कता बिलाए कता!
 
एकछिनमा ‘वाकीटकी’ बोकेका अर्का प्रहरी भेटिए। मैले सोधेँ, ‘कतिखेर लाने हो स्कर्टिङ ?’ ‘अब लालगढको ‘कनभोय’ आएपछि सँगै लैजाने,’ उनले भने। लालगढ़को ‘कनभोय’ कतिखेर आउँछ कसैलाई थाहा थिएन। म फेरि गाडीभित्र पसेँ। केही बेरमा अघि बिलाएका प्रहरी जवान फर्किएर ट्रकमा चढ्दै भने, ‘ओहो, मेलामा एउटी केटी त साह्रै राम्री रै’छे। पाए त म घरै लान्थेँ!’ उनले अर्का प्रहरीलाई जोस्याए, ‘तपाईं पनि हेर्न जाने हो?’
‘स्कर्टिङ सुरू हुन्छ होला, भ्याइन्छ?’ ‘कहाँ सुरु हुन्छ अहिले स्कर्टिङ, धेरै बेर छ।’ दुवै ओर्लिएर मेलातिर हिँडेँ। स्कर्टिङ तत्कालै सुरु हुने आशमा फुरुंग भएको मेरो मन फेरि खुम्चियो।
 
पन्ध्र मिनेटपछि प्रहरीहरू दौडँदै आएर ट्रकमा पसे। ट्रक स्टार्ट भयो। मैले पनि गाडी स्टार्ट गरेँ। अगाडिका प्रहरी आएर भने, ‘तपाईंहरू अहिले जाने होइन, पूर्वका गाडी आइपुग्न लागे, हामी केही अघि गएर ल्याउँछौं, ती गाडी पास भैसकेपछि जाने।’ सवा एक बजेतिर पूर्वका गाडीको ताँती लिएर त्यो प्रहरी स्कर्टिङ फर्कियो। ट्रकको पछिपछि साना गाडी थिए। एकछिन त प्राइभेट गाडीलाई मात्रै ल्याएको हो कि भन्ने भान पर्यो। करिब २० मिनेट पछि बसहरू पनि देखिन थाले। कुनैका अगाडिका सिसा सद्दे थिएनन्, कुनै बस सिसाबिनै ह्वांगै थिए, हात्ति नै छिर्न मिल्ने! कुनैमा प्लास्टिकले घेरिएका थिए त कुनै जालीले बारेका!
 
करिब ४५ मिनेटमा पूर्वको ‘कनभोय’ बन्दीपुरबाट पश्चिम लाग्यो। बिहान दुई बजे हामी पूर्व्तिर लाग्यौं। केही दिनदेखि शान्त मधेसमा फेरि गडबडी सुरु भएपछि सबै चिन्तित थिए। घर पुग्न सबैलाई हतारो थियो। म प्रहरी स्कर्टिङको ठीक पछि थिएँ। हेर्दाहेर्दै देब्रे र दाहिने दुवैतिरबाट ओभरटेक गर्न माइक्रो र पिकअप आए। ट्रकमा बसेका प्रहरीले ओभरटेक नगरी लाइनमा आउन संकेत गर्दै थिए। अटेरीले के सुन्थे! निमेषमै एउटा पिकअप र माइक्रो मेरो र स्कर्टिङ ट्रकको बीचमा घुसे। पहिले लाइनमा बस्दा मेरो पछाडि एक महिलाले चलाएको कार थियो। ड्राइभिङमा त्यति अनुभवीजस्तो लागेको थिएन उनी मलाई। ‘रियर मिरर’ मा यसो हेरेको त मेरो पछाडि माइक्रो र सुमोको ताँती लागिसकेको थियो। ती महिला कति पछि धकेलिइन् लेखाजोखा भएन। हेर्दाहेर्दै थप माइक्रो र सुमोले मलाई ओभरटेक गर्न थाले। पूर्वबाट आउने गाडी पास भइसकेका थिए, त्यसैले बाटो एकतर्फी थियो। दुई लेनको बाटोमा तीनवटा गाडी समानान्तर दौड्न थाले। केहीबेरमै त्यो कमिलाको रेसजस्तो, सलहको उडानजस्तो भयो। गाडी ९०–१०० गतिमा कुद्न थाले। मुटुको धड्कन जति बढ्थ्यो, चालकले एक्सिलेटर त्यति दबाउँथे। सबैलाई प्रहरी स्कर्टिङको नजिक बस्नु थियो, ताकि केही सुरक्षित भइयोस्, चाँडो गन्तव्य पुगियोस्। म पनि त्यही प्रतिस्पर्धामा सामेल थिएँ।
 
एक–दुई मिटर मात्र छाडेर अगाडिको गाडी नपछ्याए पछाडिबाट ओभरटेक गरेर छिराइहाल्थे। यति कम ग्यापमा ९०–१०० मा गाडी कुदाउनु कम जोखिमपूर्ण थिएन। एउटा गाडीले ओभरटेक गर्दा अर्को गाडीलाई झन्डै हानेको थियो। ब्रेक यस्तरी लगायो, गाडीको टायर सडकमा घिस्रँदा आगोका झिल्का छुटे। धुँवा पुत्पुतायो। अलिक अगाडि पुगेपछि माइक्रोले कारलाई हानिदियो, पछाडिबाट आएको पिकअपले माइक्रोलाई!  मानिसको मन र गाडीको वेग त्यतिखेर मात्र थामियो, जब स्कर्टिङ गरिरहेको प्रहरी गाडी भारदह पुग्नु केहीअघि रोकियो। सूचना आयो– भर्खरै लफडा भयो रे भारदहमा। प्रहरीले ‘फायर’ खोल्नुपर्यो। अब तत्काल कुनै गाडी अघि बढ्न सक्दैनन्। बिहानको तीन बजेको थियो। केही बेरमै उज्यालो हुनेवाला थियो। विरोधमा थप मधेसी सडकमा ओर्लिने पक्का थियो। मेरो छाती ढक्क फुल्यो। दिनभर गाडी रोकिनुपर्यो भने! चर्को घाममा दिनभर राजमार्गमा थन्किनुपर्यो भने केटाकेटीको के हाल हुन्छ!
 
श्रीमतीलाई सोधेँ, ‘पानी कति बाँकी छ?’ ‘जम्मा एक बोतल।’ न गाडीमा पर्याप्त तेल छ न पानी। मन उद्वेलित भयो। करिब १५ मिनटपछि भारदहतिरबाट पाँच एम्बुलेन्स हुइँकिँदै आए, ११ जना घाइते लिएर। अब भने अघि बढ्न पाउने आश मर्यो। ‘लिभ डेजरस्ली एन्ड यु लिभ राइट’ भन्ने जर्मन साहित्यकार तथा राजनेता गोथेको भनाइ पहिलोपटक यति उट्पट्याङपूर्ण लाग्यो। मस्त निदाएका छोराछोरीको पिरले आफ्नो मन यति अधीर छ, सोचेँ, भर्खरै गोली लागेर एम्बुलेन्समा हुइँक्याइएकाहरूका आमाबाको मनमा कुन बज्रपात परेको होला! मधेस आन्दोलनमा मारिने करिब चार दर्जन नागरिकका परिवारको के हाल होला! टीकापुरमा निशस्त्र उभिँदा मारिएका प्रहरी अधिकृत र जवानका श्रीमती र छोराछोरीको के हाल होला! सोचेँ, हामी नेपाली हेर्दाहेर्दै, ख्यालख्यालमै कहाँबाट कहाँ आइपुग्यौं! दिक्दारिँदै गाडीबाट ओर्लिएर जानुभएका दाइले केही बेरमा फर्किएर भन्नुभयो, ‘भारदहमा बाटो क्लियर गरिसक्यो रे, एकछिनमा जान्छ भन्दैछ पुलिस।’ विश्वास लागेन, तर यस्तो बेला टुस्स आश पलाइहाल्दो रहेछ! बिहानको चार बज्न लाग्दा अगाडिका गाडी स्टार्ट भए। मैले पनि स्टार्ट गरेँ। त्यसपछि सबै गाडी यसरी बेतोडले हुइँकिए, मानौं पछाडि कसैले खेद्दै छ। सबैलाई कोशी ब्यारेज पुग्नु थियो। ब्यारेजवारि सिरहा र सप्तरीमा राति ढुकेर यात्रुवाहक बसमा ढुंगा हान्ने जघन्य अपराध हुन्थ्यो। कोशीपारि त्यस्तो घटना लगभग शून्य थियो। करिब साढे पाँच बजे कोशी ब्यारेज पुग्दा मेरो पातलो टिसर्ट पसिनाले निथ्रुक्क थियो। पसिना र आवेग यति धेरै बगेछ, कोशी तरेपछि म फतक्कै गल्न थाले। त्यसमाथि निद्राले झपक–झपक भएर गाडी बाटोमुनि खसाल्छु कि जस्तो भयो। इटहरी पुगेर मुख धोइवरी मधेसको कडक चिया खाएपछि मात्रै निद्रा भाग्यो। मन हलुंगो भयो।....यसपालि मधेस आन्दोलनको एउटा विशेषता छ। छिटपुट घटनाबाहेक मधेसमा साम्प्रदायिक सद्भाव कायम छ। एउटा सम्प्रदायले अर्को सम्प्रदायका मानिसमाथि हमला गरेको छैन। अत्यावश्यक परेर ज्यान जोखिममा राख्दै यात्रा गरिरहेका निहत्था नागरिकमाथि मध्यरात ढुंगा बर्साउने कायरतापूर्ण काम भने इतिहासमै कलंकित बन्नेछ। अहिले काठमाडौंप्रति तात्तातो आवेग कायम रहेका बेला यो त्यति गम्भीर अपराध नलाग्ला, तर १५–२० वर्षपछि फर्केर हेर्दा मधेसीहरूलाई पनि यो हदैसम्मको बर्बरता लाग्ने छ। यसको अर्को पाटो पनि छ। कुनै खास रात मधेसी एक्कासि बौलाएर यात्रुवाहक बसमा ढुंगा हान थालेका हैनन्।
 
मधेस आन्दोलन धेरै लामो समय चल्यो, जीवन कष्टप्रद बन्यो। काठमाडौंले त्यसको पिडा महसूस गरेन। आन्दोलनको राजनीतिक हल खोजेन। टीकापुरको हिंसाले पूर्वी मधेसलाई पनि हौस्यायो। राज्यले बल प्रयोग गरेर आन्दोलन दबाउन खोज्यो। टीकापुरमा आफ्ना निशस्त्र अधिकृत र जवान मारिएपछि धैर्य गुमाएका प्रहरीले गाली र गोली दुवैमा संयम् अपनाएनन्। बहुसंख्यक प्रदर्शनकारीले घुँडामुनि होइन, छाती, पिठ्युँ र टाउकोमा गोली खाए। धेरै फोटो र भिडियो फुटेज हेर्दा ताकी ताकी छातीमाथि गोली हानिएको देखिन्छ। माग जतिसुकै जायज वा नाजायज हुन्, आफ्ना कुनै पनि सभासद मधेसमा गएर संविधानको पक्षमा बोल्न सक्ने हैसियतमा नरहेपछि त्यस्तो आन्दोलनको समाधान बल प्रयोग हुन सक्दैन थियो भन्ने तीन प्रमुख राजनीतिक दलले बुझेनन्। सायद मिडियाका हामीले पनि समयमै त्यसको उचित भेउ पाएनौं। मधेसमा हिंसा र प्रतिहिंसाको चक्र बढ्दै गयो। प्रत्येक गाली र गोलीसँगै मधेस टाढिँदै गयो। मधेसी र पहाडीबीचको खाडल गहिरिँदै गयो।
 
काठमाडौंले मधेसमा दिउँसो प्रदर्शनमा ओर्लेकाहरूमाथि बल प्रयोग गर्ने, रातिराति सेना र प्रहरी स्कर्टिङमा हाइवे सञ्चालन गर्ने र अत्यावश्यक सामान काठमाडौं ढुवानी गर्ने काम नियमित गर्यो। मधेसको आक्रोश राजमार्गमा पोखिन थालेको त्यसपछि हो। सप्तरीको भारदहमा राजमार्ग अवरुद्ध गर्न आएका प्रदर्शनकारी माथि प्रहरीले गोली हानेपछि उनीहरूले रातिराति ढुंगा हान्ने शृंखला सुरु गरे।
 
एउटा अतिवादको जवाफ अर्को अतिवादले दिन थाल्यो। अहिले मधेस र पहाडबीच अविश्वासको खाडल यति गहिरिएको छ, मधेसी र पहाडी समुदाय कटुतापूर्ण सम्बन्ध रहेका दुई देशका नागरिकजस्ता भएका छन्। बन्दीपुरमा एक प्रहरी असईले सुनाउँदै थिए, ‘यहाँ बन्दमा मधेसीलाई गाडी कुदाउन छुट छ तर पहाडेले कुदायो भने हेल्मेट खोल्न लगाएर अनुहार चेक गर्छन् र तुरुन्त जलाउँछन्। मधेसीले पहाडेलाई एउटै देशको नागरिक मान्न छाडिसके।’ यो अविश्वास दुईतर्फी छ। आपसी घृणाको पत्र बनेर जम्ने हो कि भन्ने डर बढेको छ। म फर्केर काठमाडौं आउँदा इटहरीमा राति १० बजे फेरि प्रहरी स्कर्टिङ कुरिरहेको थिएँ। एक जना करिब २० वर्षको मधेसी युवाले आएर नजिकैको ट्राफिक प्रहरीलाई भने, ‘दाइ, झुम्कासम्म जाने हो। कुनै गाडीलाई मलाई पनि लग्न भनिदिनुस् न।’ प्रहरीले जवाफ फर्काए, ‘झुम्का त्यहीँ नजिकै त हो, हिँडेर जाऊ न, म त दिनभरिमा कति हिँडिसकेँ।’ ‘मेरो घर पुग्न त दुई घन्टा लाग्छ, राति भइसक्यो,’ ती मधेसी युवाले भने।

तिमीलाई गाडी चढाइदिनु त हुन्थ्यो तर तिमी हेर्दै फोरमजस्ता छौं, फेरि बीच बाटोमा गाडीमा आगो लगायौ भने! हिँड्दै जाऊ।’ प्रहरी यति भन्दै फन्किएर अर्को्तिर हिँडे। ती युवा अवाक् भएर उभिरहे। पहाड र मधेसबीचको विभाजनको कुरा छाडौं। हामी यस्तो अवस्थामा पुगिसक्यौं, पहाडेहरू नै मधेसलाई लिएर यति विभाजित र एकअर्कासँग यति दिक्क भइसके, कसैलाई कसैको कुरा सुन्ने र सोच्ने धैर्य छैन। वीरगन्जमा प्रहरीले एकाबिहानै हस्तक्षेप गरेर धर्नामा बसेकालाई गिरफ्तार गरेको विरोध गर्दै मैले सेतोपाटीमा टिप्पणी लेखेको थिएँ। एक जनाले मलाई प्वाक्क भने, ‘तपाईं पनि किशोर नेपाल मार्काका लेख नलेख्नुहोस् है, फेरि पढ्न छोडिन्छ।’ उनलाई किशोर नेपालले मधेसमा गएर रिपोर्टिङ गरेको मन परेको थिएन। मधेसमा पनि कुनै मधेसीले अहिलेको आन्दोलनको स्वरुपको विरोध गर्यो भने उसलाई तुरुन्त ‘पहाडेको दलाल’ को बिल्ला भिराइन्छ।
 
अमेरिका पढ्दा मेरा ‘रूममेट’ श्रीलंका र केन्याका दुई विद्यार्थी थिए। राजनीति हामी तीनैको रुचिको विषय थियो। हामी घन्टौं राजनीतिका कुरा गर्थ्यौं। श्रीलंकन साथी देवानन्द तमिल मूलका थिए। उनी भन्थे, ‘जब तमिल–सिंहला समस्याबारे तमिल–तमिल र सिंहला–सिंहलाबीच बहस असम्भव भयो, हाम्रो देश फर्किनै नसक्ने गरी दलदलमा फस्यो।’ पछि परिस्थिति यति बिग्रेर गयो, थोरै संख्यामा रहेका ‘मोडरेट’ सिंहलाहरू ‘भिलेन’ बनाइए, तमिलहरूले त धेरै मोडरेट तमिलहरूलाई गोली नै हानेर मारे। हामी पनि कतै त्यही दिशातर्फ उन्मुख त छैनौं! तिमीहरूको मुलुक कहिल्यै नसुल्झिने विभाजनमा पुग्न लागिसक्यो भनेर आकाशले चिच्याएर हामीलाई भन्ने छैन, धर्तीले फाटेर भन्ने छैन। यो अनुभूत गर्नुपर्ने हामीले नै हो।
 
एउटा पाटो मात्र सुन्ने र देख्ने समाज पाटेबाघ जस्तै हिंस्रक हुन्छ। हामी त्यहीँ पुग्न लागिसक्यौं। समाजलाई त्यहाँ पुग्नुअघि नै रोक्ने दायित्व हाम्रै हो। भारतको नाकाबन्दीले हाम्रो समाजलाई थप जटिलतातर्फ धकेलेको छ। पहिल्यै विभाजित समाज थप ध्रुवीकृत बनेको छ।  मधेसी समुदायलाई ‘बुई बोकेर’ नाकाबन्दी लगाएकोमा पहाडे समुदाय भारतप्रति आक्रोशित मात्र छैन, उसको आशाका नजर चीनतर्फ तेर्सिएका छन्। राष्ट्रियता उर्लिएको छ, राष्ट्र आफैं गौण भएको छ। अर्कातिर, मधेसी समुदाय भने नाकाबन्दीका लागि भारतप्रति अनुग्रहित देखिन्छ। नाकाबन्दीपछि मात्र मधेसमा राज्यको बल प्रयोग रोकिएको, मधेसी मर्ने क्रम कम भएको, इन्धन रोकिएपछि मात्र काठमाडौं छट्पटाएको र समस्याप्रति केही संवेदनशील भएको उसको दलिल छ। यो दलिल पूरै गलत पनि छैन। राष्ट्र ‘भर्सेस’ राष्ट्रियता को नक्कली दलदलमा हामी फसेका छौं।
 
नेपालको आन्तरिक राजनीतिक समस्यालाई लिएर भारतले नाकाबन्दीको ब्रह्मास्त्र चलाउनु नाजायज थियो। तर, यसले नेपाललाई दीर्घकालका लागि फाइदा नै पुर्याउने छ। हामीले सामान्यकालमा गर्न नसक्ने, पछिल्लो ६५ वर्षमा कहिल्यै नगरेको काम अहिले गरेका छौं–चीनसँग इन्धन किन्ने प्रक्रिया अघि बढाएका छौं। अब भारतसँग हाम्रो सम्बन्ध जे जसरी सामान्यीकरण होला, चीनसँग इन्धन किन्ने काम भने रोकिने छैन, रोकिनु हुन्न। इन्धन र अत्यावश्यक आयातको विविधिकरण हाम्रो मुलुकको स्वाधीनतासँग कसरी जोडिएको छ भन्ने हामीले पटक–पटक भोगिसकेका छौं। राष्ट्रियता र स्वाधीनताका पक्षमा चीनसँगको इन्धन आयात सम्झौता महत्वपूर्ण कोशेढुंगा हुनेछ।
 
हाम्रासामु अर्को चुनौती हाम्रो राष्ट्र र आन्तरिक राष्ट्रियता कसरी बलियो बनाउने भन्ने हो। तत्कालको मूल प्रश्न, लगभग तीन महिनादेखि मधेसमा देखिएको असन्तुष्टि र आन्दोलन कसरी वार्ताद्वारा हल गर्छौं भन्ने हो। बजारमा देखिएको इन्धन अभाव कसरी समाधान गर्छौं भन्ने हो। पहिलो प्रश्नको हलमै दोस्रो प्रश्नको पनि समाधान जोडिएको छ। काठमाडौंका नजरमा जायज होस् वा नाजायज, संविधानविरूद्ध विद्रोह मधेसी जनताले गरेका हुन्। त्यही भएर त कांग्रेस, एमाले र एमाओवादी सभासद मधेस गएर संविधानका पक्षमा बोल्न सकेका छैनन्। उनीहरूले बोल्न र मधेसी जनतालाई संविधानमा सहमत गराउन सकेका भए त आन्दोलन नै हुने थिएन। मधेस आन्दोलनले जुन आयातन ग्रहण गरेको छ, त्यसलाई एमाले अध्यक्ष केपी ओलीले हिजो पनि अस्वीकार गरे। प्रधानमन्त्री भएपछि पनि त्यो दृष्टि नबदलिएका संकेत देखिन थालेका छन्। उद्योग वाणिज्य महासंघको प्रतिनिधिसँग बिहीबार कुरा गर्दै उनले ‘मधेस आन्दोलन भारतको प्रायोजनमा भएको’ आरोप लगाएको मिडियामा आएको छ। नाकाबन्दी लामो समय जारी रहन सक्ने भएकाले उद्योगपतिहरूलाई त्यहीअनुसार तयार रहन पनि उनले सुझाएका छन्। भारतीय नाकाबन्दी पछि धेरै पहाडेको सहानुभूति मधेस आन्दोलनबाट उठेको छ। जो पहिल्यैदेखि मधेसका कट्टर विरोधी थिए, तिनका लागि नाकाबन्दी थप बहाना भएको छ। फेरि पनि हामी नबिर्सौं, मधेस आन्दोलन मधेसी जनताले गरेका हुन्। नाकाबन्दी भारतले उक्त आन्दोलनलाई बल पुर्याउन गरेको हो। प्रतिपक्षमा रहँदा भारतसँग पटक–पटक त्यस्तो सहयोग लिने गल्ती गरेका सत्तासीन पार्टीले मधेसी पार्टीलाई मात्र राष्ट्रियता विरोधी देखाएर पार पाउने छैनन्। २००७, २०४६ र २०६२–६३ सालको आन्दोलनमा मात्र हैन, आफ्नो सरकार बनाउन मुख्य पार्टीहरूले भारतको सहयोग पटक–पटक लिएका छन्। माधव नेपालको नेतृत्वमा सरकार बनाउन मधेसी जनाधिकार फोरमबाट विजय गच्छदारलाई कसले फुटाइदियो? बाबुराम भट्टराईको सरकारलाई मधेसी पार्टीको भोट कसले जुटाइदियो?              
 
 त्यसैले, पार्टीहरूको ‘मौसमी राष्ट्रियता’ भन्दा राष्ट्र ठूलो हो। राष्ट्रिय अखण्डता नै खतरामा परेको बेला राष्ट्रियताको एकोहोरो राग अनावश्यक छ। के यसको अर्थ भारतको नाजायाजी सधैं सहने भन्ने हो? पक्कै होइन। विशेष गरी नयाँ नेपाली पिँढीमा स्वाधीनता र स्वतन्त्रताप्रतिको चेतना र चाहना हलक्कै बढेको छ। हामीले ढंग पुर्यायौं भने अहिलेको संकटले हामीलाई आफ्नो सार्वभौमिकताको प्रयोग स्वतन्त्रतापूर्वक गर्न सक्नेतर्फ अग्रसर बनाउँछ। भारतलाई पनि यसपालिको घटना एउटा सबक भएको हुनुपर्छ।  
 
तर, यहाँबाट उत्ताउलिएर एकोहोरो राष्ट्रियताको नारा अलाप्दै आन्तरिक प्रश्न हल गर्न सकेनौं भने, राष्ट्रिय एकता कायम गर्न सकेनौं भने हामीले अवसर गुमाउने छौं। कुरा स्पष्ट छ, मधेसीसँग सम्झौता भएपछि मात्र नाकाबन्दी हट्नेछ। नेपालीको तत्कालका लागि दुःखका दिन त्यसपछि मात्र सकिने छन्। ओली अहिले भर्खरै प्राप्त प्रधानमन्त्रीको कुर्सीको ‘स्टेरोइड’को असरमा छन्। नेपाली जनताको दुःखको आकाश फराकिलो हुँदै समस्या जब इन्धन अभावबाट औषधि र आधारभूत खाद्य सामग्रीको अभावमा पुग्छ, त्यसपछि आउने जनआक्रोशपछि उनको सत्ताको मात झर्नेछ। बुद्धिमतापूर्ण निर्णय यही हुन्छ, जनताको दुःख असह्य हुनुअगावै समस्याको हलका लागि अधिकतम प्रयत्न होस्। सरकार र मुख्य राजनीतिक दलले मधेसलाई सम्मानजनक ‘अफर’ दिनैपर्छ। त्यसपछि पनि मधेसी पार्टीले मानेनन् भने दोष मधेसवादी दलको टाउकोमा जानेछ। मधेसका मुख्य चार मागमा सहमतिमा पुग्न नसक्नुपर्ने कारण छैन। समानुपातिक समावेशी, जनसंख्याका आधारमा प्रतिनिधित्व र बाहिरबाट विवाह गरेर आएकाको नागरिकताको हकमा अन्तरिम संविधानमा भएका व्यवस्थामा फर्किन अप्ठ्यारो मान्नुपर्ने कुनै कारण छैन। अंगिकृत नागरिकता भएकालाई राष्ट्रका प्रमुख पदमा जान नपाउने वर्तमान प्रावधान भने मधेसी दलले सम्झौता गर्नुपर्छ भन्ने माग गरे हुन्छ। सबैभन्दा जटिल मानिएको प्रदेश सीमांकनको सवालमा सरल र लोकतान्त्रिक विधि तय गर्नु नै अहिलेको समस्याको निकास हो( कोशी र कर्णाली वारिपारिका जनता कुन प्रदेशमा बस्नुपर्छ भन्ने तय गर्न विवादित क्षेत्रका जनतालाई नै सोध्ने। नेपालीहरू मन फाटेर दुई मुलुकका नागरिकजस्ता भइसके। मुलक असफलताको डिलमा छ। अब पनि एक–दुई निर्वाचन क्षेत्र कुन प्रदेशमा पर्छन् भन्ने विषय ठूलो हो कि गौण? जनताले पाएको यति विघ्न सास्तीको समाधान मूल कुरो हो कि प्रदेश सीमांकनलाई लिएर केपी ओली, शेरबहादुर देउवा, उपेन्द्र यादव, राजेन्द्र महतो र विजय गच्छदारको ‘इगो’ ठूलो हो?
साभार ः सेतोपाटी


Post a Comment

 
Top