0
गोल्डेन न्यूज संवाददाता
नेपाली युवा उद्यमी मञ्च पोखराले गत वैशाखमा गएको भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुननिर्माण गरी हस्तान्तरण गरेको छ । भूकम्पबाट भत्किएको ल्वाङघलेल–९ सिदिङस्थित सरस्वती निमाविको बाल विकास केन्द्रको भवन पुनःनिर्माण गरी हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष प्रकाशदेव पालिखेले जानकारी दिए । ‘गत असार पहिलो साताबाट निर्माण शुरु भएको भवन छोटो समयमा नै विद्यालयलाई हस्तान्तरण गर्न सफल भयौं,’ उनले भने, ‘युवा उद्यमीहरुको तर्फबाट विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण गर्न पाउँदा हामी निकै खुसी छौं ।’
 
युवा व्यवसायीहरुले सामाजिक उत्तरदायित्वलाई बहन गर्नुपर्छ भन्ने मान्यताले भवन पुनर्निर्माण अभियानमा सहयोग पु¥याएको पालिखेले जानकारी दिए । योङ टाइगर पोखराको सहयोगमा भवन निर्माण गरिएको उनले बताए । नेपाली युवा उद्यमी मञ्च पोखरा अध्यक्ष पालिखे र योङ टाइगर पोखराका अध्यक्ष अशोक तुलाचनले शनिबार आयोजित एक कार्यक्रमको अवसरमा संयुक्त रूपमा भवन हस्तान्तरण गरेका हुन् । क्षतिग्रस्त भवनको पुनर्निर्माणमा सहयोग गर्न पाउँदा आफूहरु निकै खुसी रहेको योङ टाइगरका अध्यक्ष तुलाचनले बताए । विद्यालय भवनको पुनर्निर्माणका लागि ६ लाख ८२ हजार रूपैयाँ लगानी गरेको मञ्चका कोषाध्यक्ष तथा पुनर्निर्माण कार्यक्रमका संयोजक सन्तोष घिमिरेले जानकारी दिए । ‘छोटो समयमा नै विद्यालय भवन पुनर्निर्माण गर्न सफल भयौं,’ घिमिरेले भने, ‘भवन पुनर्निर्माण पछि विद्यालयको पठन–पाठनमा केही सहयोग पुगेको हाम्रो विश्वास छ ।’ आगामी दिनमा पनि विद्यालयलाई सहयोग गर्ने उनले बताए । भूकम्पबाट कास्कीमा भत्किएका विद्यालय भवनहरु मध्ये सबैभन्दा चाँडो पुनर्निर्माण गरी युवा उद्यमीहरुले विद्यालयलाई हस्तान्तरण गर्न सफल भएको घिमिरेले बताए ।
 
विद्यालय भवन हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानाध्यापक शान्ति तामाङले युवा उद्यमीहरुको सहयोगमा विद्यालय भवन पुनर्निर्माण गरिनु उदाहरणीय भएको बताइन् । ‘युवा उद्यमीहरुको सहयोगमा विद्यालय भवन पुनर्निर्माण भएपछि पठनपाठन सञ्चालन गर्न सहज भएको छ,’ उनले भनिन्, ‘खुल्ला आकाशमुनी बढ्न बाध्य विद्यार्थीले पक्की भवन पाएका छन् ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर तामाङले व्यावसायिक क्षेत्रमा सक्रिय युवा उद्यमीहरुको पहलमा विद्यालयको भौतिक संरचना पुनर्निर्माणमा सहयोग गर्नु प्रशंसनीय काम भएको बताए । युवा उद्यमीहरुले विद्यालय भवन पुनर्निर्माण गरेर सहयोगको भावना भएमा धेरै काम गर्न सकिन्छ भन्ने सन्देश दिएको विद्यालयका शिक्षक अर्जुन कँडेलले बताए ।
 
यसैबीच, युवा उद्यमी मञ्च पोखराले पोखरा–२४ कृष्तिमा रहेको बक्रेक प्राविको भवन पनि पुनर्निर्माण गरिरहेको छ । ‘बक्रेक प्राविको भवन पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘छिट्टै एक कार्यक्रमको आयोजना गरी उक्त भवन पनि हस्तान्तरण गछौं ।’ भूकम्पका कारण विभिन्न स्थानका विद्यालयमा पढाइ नहुने स्थिति देखेकाले केही सहयोग गरौं भन्ने भावनाका साथ सहयोग गरेको अध्यक्ष पालिखेले बताए । ‘विद्यालयको पुनर्निर्माणमा सहयोग जुटाउनका लागि युवा उद्यमीहरुसँग सहयोगको हातसमेत अगाडि बढायौं,’ पालिखेले भने, ‘सामाजिक दायित्वलाई पुरा गर्न हामी सबै युवा उद्यमी सक्रिय छौं ।’ मञ्चको सक्रियतामा यस अगाडि पनि विभिन्न विद्यालयमा अस्थायी संरचना बनाउने काम भएको थियो ।



Post a Comment

 
Top