गोल्डेन न्यूज संवाददाता
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजना तथा ब्रिटीस रेडक्रसको सहयोगमा पोखरामा तीन दिने यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी तालिम शुरु भएको छ । तालिमको शुभारम्भ गर्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति डण्डराज शर्माले स्वास्थ्य क्षेत्रमा समेत विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिदै भित्रभित्रै फैलदै गएको एचआईभी एड्सको न्यूनिकरणका लागि सबैको सहयोग आवश्यक पर्नेमा जोड दिए । रेडक्रस कास्कीका कोषाध्यक्ष एवम् स्वास्थ्य समितिका संयोजक धर्मराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका सदस्य एवम् तालिम संयोजक सुर्य ढकाल, शाखाका उपनिर्देशक खेमराज सापकोटा, कार्यक्रम अधिकृत देवनारायण पौडेल, दिपकनाथ पौडेल लगायतले बोलेका थिए । तालिममा पोखरा र लेखनाथका दौतरी शिक्षकहरुको सहभागिता रहेको छ । उनीहरुले समुदायका आफूसरहका दिदीबहिनीहरुलाई एचआईभी एड्स, यौनरोग, यौन तथा प्रजनन, सुरक्षित यौन सम्पर्क, यौनिक हिंसासम्बन्धी जानकारी गराउनेछन् । सन् २०१४ बाट शुरु भएको सो परियोजनाले यौनकर्मी महिलाहरुको जोखिम व्यवहार न्यूनिकरण गर्न विभिन्न सचेतना कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ । तालिममा सुर्य ढकाल, देवनारायण पौडेल, मिना सुवेदी, दिपकनाथ भण्डारी लगायतले सहजीकरण गर्नेछन् ।
Post a Comment