0
अरुणोदय सामाजिक उद्यमी महिला सहकारी संस्था लि. जिलाङ, अरुणोदय–६, तनहुँको दोश्रो साधारण सभा शनिबार सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय तनहुँका सहकारी प्रशिक्षक पुष्प खनालले कुनै उद्यम गर्दा एउटा व्यक्तिले सबै कुरा आफैले जोड्न नसक्ने भएकोले सहकारीको आवश्यकता परेको वताए ।
 
उनले सहकारीको उत्पादन विश्वमै स्वतः विश्वसनीय तथा गुणस्तरको ट्रेडमार्क हुने भएकोले सहकारीले उत्पादनशील क्षेत्रमा लाग्नु पर्ने र एउटा सहकारीले उत्पादन गरेको वस्तु तथा सेवाको अर्को सहकारीले बिक्री वितरण गरी सहयोग गर्नुपर्ने बताए। कार्यक्रममा १५ समूहमध्ये अरुणोदय–६, वोक्सानमा रहेको लगनशील विकास समूहलाई उत्कृष्ट समूहको प्रमाणपत्रद्वारा सम्माननीत गरिएको थियो। साथै सृजनशील विकास समूह, संघर्ष विकास समूह लगायतले सास्कृतिक कार्यक्रम प्रस्तुत पनि गरेका थिए। सो अवसरमा हेफर इन्टरनेशनल पोखराका कार्यक्रम अधिकृत कृष्ण कट्टेलले सहकारीले कुन प्रयोजनको लागि ऋण प्रदान गरिएको हो उद्देश्य खुलाएर दिनु पर्ने बताए।
 
त्यसैगरी अरुणोदय साना किसान कृषि सहकारी संस्था, टेक्रेका अध्यक्ष धनश्याम लम्सालले सहकारी सहकारीबीच उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताए। कार्यक्रममा नेत्र वचत तथा ऋण सहकारी संस्था रघुका अध्यक्ष विजय थापा, अरुणोदय गाविसका निवर्तमान अध्यक्ष वेलबहादुर थापा, लगायतले शुभकामना व्यक्त गरेका थिए। संस्थाकी अध्यक्ष सीताकुमारी तिम्सेनाले हामीले कमाउन जान्यौ, खर्च गर्न पनि जान्यौ तर वचत गर्न कहिल्यै जानेका थिएनांै, आज सहकारीमा आवद्ध भएर धेर थोर वचत गर्ने बानीको विकास भएको वताईन्। साथै उनले हेफर इन्टरनेशनल नेपाल र जनचेतना विकास केन्द्र पोखराको साझेदारीमा संचालन भएको जिलाङ सामुदायिक विकास परियोजनामा आवद्ध १५ समूहहरुको सक्रियतामा स्थापना भएको संस्थाको हाल तीन सय १९ सदस्य रहेको र आगामी वर्ष एक हजार पु¥याउने लक्ष्य रहेको बताइन्। संस्थाका सल्लाहकार हुवीर थापाले सहकारीले वाह्रमासे घाँस तथा घाँसको विऊको उत्पादन गर्दै आएको र गएको वर्ष स्याङ्जा, कास्की र लमजुङका कृषकलाई ३७ हजारको घाँसको विऊ विक्रि गरेको वताए।
 
उनले जिलाङका करिब ५ सय रोपनीमा बाख्रा, गाई र भैसीकोलागि अति उपयोगी किम्बु, मेन्डोला, भट्टमासे, नेपियर २१ लगाएतका घाँस रोपेको वताए। साधारणसभाले अध्यक्ष सीताकुमारी तिम्सेनाको प्रतिवेदन र कोषाध्यक्ष मधुमाया थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्व सम्मत पारित गरेको थियो। संस्थाका अध्यक्ष सीताकुमारी तिम्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अनुमाया आलेले स्वागत र कार्यालय व्यवस्थापक हेमकला थापाले कार्यक्रम संचालन गरेका थिए।




Post a Comment

 
Top