0
गोल्डेन न्यूज संवाददाता
गायन तथा नृत्य प्रतियोगिता ‘सुर ताल’को ग्राण्ड अडिसनबाट गायनतर्फ २५ र नृत्यतर्फ २० जना प्रतिस्पर्धीहरु अघिल्लो चरणको लागि छनौट भएका छन् । विभिन्न चरणबाट छानिएर आएका ९० जना प्रतिस्पर्धीहरुमध्ये ग्राण्ड अडिसन मार्फत उनीहरु छनौट भएका हुन् । गायन तथा नृत्य प्रतियोगिता ‘सुर ताल’मा १० जिल्लाबाट करिब एक हजार जना प्रतिभाहरुले पहिलो चरणको अडिसनमा सहभागिता जनाएका थिए । पोखरामा भएको ग्राण्ड अडिसनमा उनीहरुले गायन तथा नृत्य विधामा आफ्नो प्रतिभा देखाएका थिए । ‘प्रतिभा छनौट गर्ने हाम्रो अभियानमा हामीले १० जिल्लामा अडिसन सकाएर ग्राण्ड अडिसन पोखरामा गरेका हौँ ।’ प्रतियोगिताको आयोजक सुरताल कला केन्द्रका प्रशान्त सुनारले भने–‘अबका चरणका सम्पूर्ण अडिसनहरु पोखरामै हुनेछन् ।’
 
पोखरामा भएको अडिसनको क्रममा गायनतर्फ रामभक्त जोजिजु र योगेश काजी बिसी निर्णायक रहेका थिए । त्यस्तै नृत्यतर्फ गोरे गुरुङ र देवराज राई निर्णायक रहेका थिए । ग्राण्ड अडिसनको क्रममा अघिल्लो चरणमा प्रतिस्पर्धी छनौट प्रक्रियामा शतप्रतिशत निर्णायकको मतको आधारमा गरिएको आयोजकले बताएको छ । पोखरामा अब ग्राण्ड फिनालेभन्दा अगाडि तीन चरणका अडिसन हुने आयोजकले जनाएको छ । आयोजकले दिएको जानकारी अनुसार पुसको १८ गते प्रतियोगिताको ग्राण्ड फिनाले हुनेछ । प्रतियोगितामा गायन र नृत्य दुवै विधातर्फ विजेता बन्नेलाई हार्टफोर्डको स्कुटर प्रदान गर्ने आयोजकले बताएको छ । त्यस्तै दुवै विधामा दोस्रो हुने प्रतियोगीलाई २० हजार रुपैयाँ नगद प्रदान गर्ने उसले जनाएको छ ।

Post a Comment

 
Top