0
गोल्डेन न्यूज संवाददाता
रामबजार युथ क्लवले आयोजना गरेको तेस्रो रामबजार महोत्सव–२०७२ आइतबार पनि जारी रहेको छ। कालिका उच्च माविको प्राङ्गणमा २० गतेदेखि शुरु भएको महोत्सव कात्तिक २५ गतेसम्म चल्ने छ। पहिलो पटक तीन र दोस्रो पटक चार दिनको महोत्सव गरेको क्लवले यसपटक ६ दिनको महोत्सव गरेको हो। महोत्सव तेस्रो दिनसम्म आइपुग्दा दर्शकको सहभागिता बढ्दै गइरहेको छ। महोत्सवमा दिउँसो लोक सङ्गित र राति लाइभ पप कन्सर्टमा दर्शकहरु रमाइरहेको अध्यक्ष कुमार थिङले जानकारी दिए। रामबजारको पहिचान र विकासको मुख्य उदेश्यले महोत्सव आयोजना गरिएको हो। क्लवका सचिव खगेन्द्र क्षेत्रीका अनुसार, महोत्सवको आकर्षणमा देउसी भैलो प्रतियोगिता, लोक नृत्य प्रतियोगिता, राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुति, जातीय झाँकी, खानेकुरा तथा खेलकुदका स्टल, म्याराथन, बाल उद्यान रहेका छन्। महोत्सवबाट बचत भएको रकम रामबजारको शैक्षिक एवं सामाजिक विकास र सोलार लाइट जडानका लागि खर्च गरिने बताइएको छ।
 
युवा गतिविधिलाई प्रोत्साहन गर्न महोत्सवलाई सफल बनाउन क्लवले सवैलाई आग्रह गरेको छ। महोत्सव झण्डै एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। महोत्सव सम्पन्न गर्न ३२ लाख ९५ हजार खर्च लाग्ने र महोत्सवबाट दुई लाख ५० हजार रुपैयाँ बचत हुने अनुमान गरिएको छ।


Post a Comment

 
Top