0
गोल्डेन न्यूज संवाददाता
भारतीय नाकाबन्दीले इन्धन अभाव तथा अन्य अत्यावश्यकीय उपकरणहरु आउन नसक्दा निर्माणाधीन २५ मेगावाटको अपर मादी जलविद्युत आयोजनाको काम एक महिनादेखि ठप्प भएको छ । कास्कीको सिल्दुजुरे र नामार्जुन गाविसमा निर्माणाधीन आयोजनाको ८२ प्रतिशत काम सम्पन्न भइसकेको छ । नाकाबन्दीले पेट्रोलियम पदार्थ, सिमेन्ट र छडलगायतका निर्माण सामग्री अभाव भएपछि काम ठप्प भएको आयोजनाका सहायक को–अर्डिनेटर राजकुमार बरालले बताए । आयोजनाका कार्यरत करीब ६ सय मजदुरलाई बिदा गरिएको छ ।
केही चिनियाँ कामदार पनि चीन फर्केका छन् । आयोजनाका अनुसार दैनिक ५ हजार लिटर इन्धन आवश्यक पर्छ । काम ठप्प हुँदा दैनिक ५ करोड बढीको घाटा आयोजनाले ब्यहोरिरहेको बरालले बताए । आयोजना र भाडाका उपकरण समेत त्यत्तिकै थन्किएका छन्’ बरालले भने, ‘काम गर्न नपाउँदा सुरुङमा पानी जमेर पहिरो जाने खतरासमेत बढेको छ ।’ आयोजना निर्देशक विजयबाबु मल्लका अनुसार ४ हजार २ सय मिटर लामो सुरुङ निर्माण भएर कंक्रिट लाइनिङ ढलानको काम सुरु भएकोमा रोकिएको छ । यसैगरी इन्टेकमा ९० प्रतिशत काम सकिएको र पावर हाउसमा शिभिल इन्जिनियरिङको काम सकिएर टर्बाइन जडानको मात्रै काम बाँकी छ । ‘ग्याससमेत सकिएर आयोजनामा रहेका एकदर्जन चिनिया तथा नेपालीले खाना पकाउन समेत पाएका छैनन्,’ बरालले भने,–‘जेनेरेटर पनि चलाउन पाइएको छैन ।’
आयोजनाबाट उत्पादित विद्युत सवस्टेशनसम्म पु¥याउन स्वीजार्ड बनाइसकिएको र १० दशमलव ५ किलोमिटर टाढाको लेखनाथ सवस्टेशनसम्म विद्युत पु¥याउन ३१ वटा टावर निर्माण भइसकेको छ । ‘सुरुमा ६ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरेका थियांै,’ मल्लले भने,–‘तर, पहिरो, बन्द, हड्ताल, भूकम्प र नाकाबन्दीले लागत निकै बढ्ने देखिएको छ ।’ आयोजनामा मल्लको २० प्रतिशत र चीनको चाइना थ्री गर्जेज कर्पोरेशनसंग आबद्ध चाइना ईन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशन (सीडब्लुई) को ८० प्रतिशत लगानी छ । सन् २०१६ को अप्रिलमा निर्माण सक्ने लक्ष्य आयोजनाको रहेकोमा अव अनिश्चित बनेको छ । यसअघि २८ महिनामा निर्माण सक्नेगरी २०६९ पुस १३ मा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराइले शिलन्यास गरेका थिए । सिल्दुजुरे, ४ र नामार्जुन, ८ चासुमा बाँध बनाएर मादीखोलाको पानीलाई सुरुङमार्फत सिल्दुजुरे, ९ बाहुनडाँडाको गहिरीखेतस्थित विद्युत गृहमा पु¥याएर बिद्युत निकाल्न लागिएको हो ।  आयोजनाको निर्माण चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले गरिरहेको छ ।


Post a Comment

 
Top