0
गोल्डेन न्यूज संवाददाता
भारतको अघोषित नाका बन्दीका कारण मुलुकभर नै सर्वसाधारण मर्कामा परेका छन् । करीब डेढमहिनादेखिको नाका बन्दीले अर्थतन्त्रमा त ठूलो धक्का पुगेको छ नै त्योभन्दा पनि बढी सर्वसाधारणको दैनिकी कठीन बनेको छ । आफ्नो रोजीरोटीका लागि गुजारा कसरी चलाउने भन्ने बारेमा सोचेर त्यसतर्फ लाग्नुपर्नेमा आमसर्वसाधारणलाई भने भरे चुल्हो कसरी सल्काउने भन्ने एकोहोरो पीरले सताउन थालेको हो । आम सर्वसाधारणलाई पेट्रोल, मट्टिीतेल र ग्यासको चिन्ताले सताउदा पर्यटकिय पोखरामा भने केहि पहुँचवाला भने सरकारी हाकिमको सिफारिशमा प्राप्त ग्यास र पेट्रोलको गफ सुनाउने गरेको गुनासो बढ्न थालेको छ ।
पोखराको चिप्लेढुङ्गामा भेटीएका सुन्दर सिवारीले भने–‘नामै त नलिउ तर मेरो डेरा नजिकैको एक राजनितीक नेताले कुनै एक सरकारी हाकिमको सिफारीसमा एकैपटक २० लिटर पेट्रोल हालेको गफ सुनाउँदै थिए ।’ चरम अभावका बेला तिवारीको यो भनाईले पुष्टि हुन्छ की पोखरामा पहुँचवाला व्यक्तिहरु ईन्धनको समस्यामा छैनन् । त्यसो त केहि समय अगाडि पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यहरुले संस्थागत रुपमा पत्र लेखेर ग्यास लिई आपसमा बाँडेको खबरले पनि यो कुरालाई सत्यतामा बदलेको हो । नाकावन्दीकै कारण बजारमा पेट्रोल अभाव भएपछि मोटो धनकमाउने लोभमा कतिपय व्यवसायीहरु नै कालोबजारीमा सक्रिय रहदै आएका छन् । फेन्सी पसलदेखि रेष्टुरेण्ट र अन्य दीर्घकालिन व्यवसायमा संग्लग्न व्यवसायीहरुनै सिमा क्षेत्र पुगेर पेट्रोल ल्याई पोखरामा महङ्गो मूल्यमा बिक्री गरीरहेका छन् । उनीहरुले एक लिटर पेट्रोलको तीन सय देखि चारसय रुपैयाँसम्म लिने गरेका छन् । शहरका प्रत्येकजसो टोलमा यस्ता अस्थायी पेट्रोल शो–रुम खुलेको भएपनि प्रशासनको यसतर्फ ध्यान पुग्न सकेको छैन । ‘पहुँच हुनेलाई जस्तो अभाव भएपनि कुनै दुख पर्दोरहेनछ’, तिवारीले आक्रोश पोख्दै भने–‘खै नागरीक अगुवा र अनुगमनकर्ता कहाँ छन् यो बेला ?’
प्रतिनिधिपात्रका रुपमा रहेका तिवारीको कुरालाई पोखराका नागरीक समाज सम्बद्ध रामबहादुर पौडेलले पनि स्वीकारे । पहुँचवाला ब्यक्तिले लिएको असमानुपातिक फाईदा बारे यहाँको राज्य गम्भीर नदेखिएको उनको आरोप छ । ‘यो गुनासो चरम रुपमा बाहिर आईरहेको छ जुन पटक्कै राम्रो होईन । आएको ईन्धन समानुपातिक रुपमा वितरण गर्नु, रातिमा मात्र नभई होईन दिनमा वितरण गर्नुपर्छ र यो कुरामा स्थानीय प्रशासन गम्भीर हुनुपर्छ ।’–पौडेलले भने । पौडेलले सशस्त्र प्रहरी बलद्वारा संचालित कालिका फ्युल स्टेशनमा समेत अनियमित रुपमा पेट्रोलियम पदार्थ विक्रि भईरहेको बारे सम्बन्धित निकाय मौन बसेको पनि आरोप लगाए । कालिका फ्युल स्टेशनमा  पेट्रोल तथा डिजल वितरणमा मनोमानी गरेको कुरा बाहिर आइरहेको भएपनि त्यस बारेमा सम्बन्धित निकाय बेखबर बनेको पौडेलले गुनासो गरे  । त्यस्तै पोडेलले विभिन्न पेट्रोल पम्पमा आमसर्वसाधारण तेल हाल्ने लाईनमा बसिरहेका बेला केही प्रहरीले बर्दी लगाएर अर्कैको सवारीमा फुलट्याङक भरिदिने गरेको पनि गुनासो आएको बताए । घटनाबारे एसपी हरिबहादुर पालसँग कुरा राखेको र त्यस्तो भए संग्लग्न प्रहरीलाई तत्काल कार्वाही गर्ने आश्वासन दिएको पौडेलले बताए ।

Post a Comment

 
Top