गोल्डेन न्यूज संवाददाता
भिटामिन ए र जुकाको औषधि खुवाइयो
जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको आयोजनामा सोमबार जिल्लाका ६ महिनादेखि ५ वर्षसम्म उमेरका बालबालिकाका लागि भिटामिन ‘ए’ र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइयो । जिल्लामा भिटामिन ‘ए’ खुवाउने बालबालिका ५० हजार ४३१ र जुकाको औषधि खुवाउने ४४ हजार २३० बालबालिका भएको जनस्वास्थ्य अधिकृत नानीबाबु ढकालले बताए । यसका लागि जिल्लाका ४३० वटा केन्द्रमा एक हजार ६९ जना महिला स्वयंसेविका र अनुगमनका लागि ३०० स्वास्थ्यकर्मी खटाइएको छ । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि रु १७ लाख २२ हजार खर्च हुने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । यो कार्य आज मंगलबार पनि रहने बताइएको छ ।
छारेरोगको औषधि
म्याग्नस फर्माले छारे रोगको औषधि बजारमा ल्याएको छ । ‘नेप्लिज सोसाइटी अफ न्युरो सर्जन’ले आज यहाँ आयोजना गरेको कार्यक्रममा म्याग्नसले लेभेटाम ब्रान्डमा ‘लेभिटेरासिटाम’ र लेमोजिन ब्रान्डमा ‘लेमोट्रिजिन’ नामको औषधि बजारमा ल्याएको हो । सो औषधिको वरिष्ठ न्युरो सर्जन डा वसन्त पन्त र जापानका वरिष्ठ न्युरो सर्जन डा हिडे युकी बोनिसीले संयुक्त रुपमा सार्वजनिक गरेका थिए । डा पन्तले जटिल रोगका औषधि उत्पादन स्वदेशमै उत्पादन हुँदा बिरामीले सुपथ मूल्यमा गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गरे । म्याग्नसका बजार निर्देशक सुधीरप्रकाश मास्केले औषधि आयातलाई प्रतिस्थापन गर्दैै देशलाई औषधिका क्षेत्रमा आत्मनिर्भर बनाउन नयाँ प्रकारका औषधि उत्पादन गर्न कम्पनी लागेको बताए । विसं २०६६ बाट औषधि उत्पादन थालेको म्याग्नसले मानसिक रोग, मुटु रोग, मधुमेह, मिर्गाैला, हाडजोर्नी तथा नसा रोगका अत्यावश्यक औषधि नेपालमा पहिलोपटक उत्पादन सुरु गरेको हो । रासस
Post a Comment