0
गोल्डेन न्यूज संवाददाता
नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले भारतले नेपालमा लगाएको नाकाबन्दीलाई मुलुक निर्माणको अवसरका रूपमा बदल्न आग्रह गरेका छन् । पर्वतको कुस्माबजारमा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्थाको आइतबार उद्घाटन गर्दै गभर्नर नेपालले नाकाबन्दीबाट पाठ सिकेर मुलुक निर्माणमा सबै लाग्न आग्रह गरे ।
 
नेपालले नाकाबन्दीको कष्ट सहेर पनि मुलुकको दीर्घकालीन हित हुने काम र योजना अहिलेदेखि बनाउन आवश्यक भएको बताए । “नाकाबन्दीलाई देश बनाउने अवसरका रूपमा बदल्न आवश्यक छ”,उनले भने–“खाडी र मलेसियालाई समृद्ध बनाउने नेपाली हातले यसलाई अवसरका रूपमा लिएर नेपाललाई समृद्ध बनाउन आवश्यक छ । हाम्रो देश हामीले बनाउने हो अरूले बनाइदिँदैन ।”  मुलुकमा ऊर्जा सङ्कट समाधानका लागि जलविद्युत्को लगानी बढाउने र स्वदेशी कच्चापदार्थमा आधारित उद्योगको विस्तार र प्रवद्र्धनका लागि ढिलो गर्न नहुने धारणा उहाँको छ । “कृषि उत्पादन र ऊर्जा उत्पादनमा राज्यले ध्यान दिए नाकाबन्दी सजिलै पार लगाउन सकिन्छ” नेपालले भने । 

अब हामी स्वावलम्बी हुने कि परनिर्भर हुने भन्ने कुराको छिनोफानो आजै गर्नुपर्छ”, उनले नेपालले भने–“कहिले दक्षिण र कहिले उत्तरको भर पर्ने हो भने सधैँ यस्ता समस्या आइरहन्छन् ।” विश्वका अन्य भूपरिवेष्टित राष्ट्रले समस्या आउन सक्ने देखेर आफूलाई हरेक हिसाबले मजबुद बनाएका छन् भन्दै उनले नेपालले त्यसतर्फ ध्यान दिन आवश्यक भएकामा जोड दिए । नाकाबन्दीका कारण अहिलेसम्म मुलुकको कुल सञ्चिती र बचतमा कुनै असर नदेखिएको बताउँदै उनले अब त्यसको असर देखिन थाल्ने जानकारी पनि दिए ।
 
कार्यक्रममा वित्तीय संस्थाका सञ्चालक समिति सदस्य तथा पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले नेपालको हिमाली र पिछडिएको क्षेत्रमा सेवा दिने उद्देश्यले वित्तीय संस्था स्थापना गरिएको जानकारी दिँदै नेपालको सबै क्षेत्रमा १० वर्षभित्रमा सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
 
नेपाल राष्ट्रबैंकबाट १० जिल्लामा कारोबार गर्ने स्वीकृत प्राप्त गरेको जनसेवी लघुवित्त वित्तीय संस्थाको अधिकृत पुँजी रु २० करोड रहेको छ । रु तीन करोड ५० लाख जारी पुँजी रहेको छ । यस्तै, रु दुई करोड २५ लाख चुक्ता पुँजी रहेको बैंकका कार्यकारी अधिकृत विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।



Post a Comment

 
Top