0
सोमबार भएको वीरगंज घटनापछि भारतीय दुतावासले वक्तब्य जारी गर्दै आफ्ना देशका गाडीवालाहरूलाई सतर्कता अपनाउन र नेपालमा गएर खतरा नमोल्न सुझाव दिएको बताएको छ।  घटनापछि भारतीय राजदुत रञ्जित रेले सोमबार नै गृहमन्त्री शक्ति बस्नेतसँग भेटेर भारत अत्यन्त ‘चिन्तित’ भएको बताएका थिए। ‘भारतीय यातायात व्यवसायीले आज पनि नेपालको बोर्डर पारि बिग्रँदो अवस्थाबारे चिन्ता ब्यक्त गरेका छन् । हामीले उनीहरुलाई सचेत रहन र आफ्नो जीवन खतरामा नराख्न सुझाव दिएका छौं,’ वक्तव्यमा भनिएको छ। वक्तब्य जारी गरेर भारतले नेपालमा नाकावन्दी अझै कडा पर्ने चेतावनी दिएको छ। सोमबार वीरगञ्जमा प्रहरीको गोलीबाट मारिएका भारतीय नागरिक निर्दोष भएको पनि विज्ञप्तिमा उल्लेख छ। 
 
सोमबार बिहान वीरगंज नाकाबाट आन्दोलनकारी हटाएपछि दिउँसो भएको झडपमा एकजना भारतीय नागरिकको प्रहरीको गोली लगेर मृत्यु भएको छ। केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन्। प्रहरीका अनुसार रक्सौल घर भएका ३० वर्षीय आशिष रामको मृत्यु भएको हो। उनको टाउकोमा गोली लागेको थियो। आन्दोलनले उग्र रूप लिएपछि स्थानीय प्रशासनले  वीरगञ्जमा सोमबार तीन बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ।

Post a Comment

 
Top