अनकन्टार खर्क, सखारै २६ वर्षीय सेजन शेरचन चौँरीको मही मथ्दै गरेका भेटिए। सानो टहरोमा रात गुजार्दै आएका उनको दिनचर्या चौँरीसँगै बित्छ। धौलागिरि हिमालको फेदीमा अवस्थित लुप्साङखर्कमा चौँरीपालनको उनको यो दिनचर्या ९ वर्ष पुगेको छ। कोवाङ ९ का शेरचनले यसैबाट राम्रो आम्दानी देखेका छन्। ‘गाउँमा बसेर भएन, विदेश जाउँजस्तो लागेको थियो,’ उनले भने, ‘धेरै युवा यहीं व्यवसाय गरेर बसेको देखेपछि सोच बदलिएर चौँरी पाल्न थालें।’ गाउँमा कक्षा १० सम्म पढेका शेरचनका दिन हिजोआज खर्कहरूमा चौँरीको हेरचाह गरेर बित्छ। उनले तीनवटा खर्कमा चौँरीका अस्थायी गोठ सार्दै आएका छन्। चरन र बढ्दो हिउँको समस्याले चौँरीगोठ एक ठाउँबाट अर्को ठाउँमा सार्नुपर्ने बाध्यता रहेको उनले सुनाए। ६५ वटा चौँरी पालेका उनले दूध, घिउ र छुर्पी बनाएर बेच्दै आएका छन्।
दूधको परिकार र मासु बेचेर मासिक डेढ–दुई लाख रुपैयाँको व्यापार गर्दै आएको उनले बताए। चौँरीको मासु र दूधबाट बन्ने परिकारको बजारका लागि उनीजस्तै पालकलाई बाहिर चाहार्नु पर्दैन। गाउँ–गाउँमै खपत हुन्छ। ‘वैदेशिक रोजगारीको मोह त्यागेर चौँरीपालनमै राम्रो सम्भावना देखेका युवाहरू यो व्यवसायमा आकर्षित भएको देखिन्छ,’ कुन्जो संरक्षण व्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र गौचनले भने, ‘मुस्ताङको तल्लो भेकका नयाँ पुस्ता यसरी चौँरीपालन व्यवसायमा लाग्ने क्रम बढ्दो छ।’ चौँरी पाल्नेहरूको जीवन दिनरात चौँरीसँगै बित्ने गरेको छ। चौँरीका बच्चा वन्यजन्तुले सिकार गर्ने जोखिम भएकाले खर्कहरूमा ठहरा बनाएर पालकहरूले पहरा दिने गरेका छन्। वन्यजन्तुले चौँरीको बाच्छा–बाच्छी खाने भएकाले पनि पालकहरू मारमा परेको दुस्खेसो सुनाउँछन्। दिनमा खर्कमा चराउँदा र रातको समय गोठमै आएर हिउचितुवालगायत वन्यजन्तुले चौँरीको सिकार गर्दै आएको पालकहरूले बताए।
कोबाङकै अर्का तन्नेरी गौतम शेरचनले पनि त्यही खर्कमा ५६ वटा चौँरी पाल्दै आएका छन्। उनले देशविदेश चहारेर अन्त्यमा गाउँ फर्केर चौँरीपालन थालेका हुन्। काठमाडौंमा बीबीएस पढ्दा–पढ्दै केही समय जागिर खाए। गाउँकै विद्यालयमा पढाए पनि। पढाउने कामबाट आम्दानीमा सन्तुष्टि नभएपछि स्विट्जरल्यान्ड पुगे। झन्डै आठ वर्ष त्यहाँ बिताएपछि विदेशको जीवनबाट अघाएका उनी गाउँ फिरे। ‘फेरि गाउँ फर्केर कृषिसँगै पशुपालनमा लागें,’ उनले भने, ‘आखिर जे जसो गरे पनि आफ्नै ठाउँ नै ठीक रहेछ। चौँरीपालनले धानेको छ। यसलाई नै थप विस्तार गर्ने सोचमा छु।’ यो व्यवसायबाट वार्षिक ८ देखि १० लाख रुपैयाँसम्मको व्यापार गर्दै आएको उनले बताए। बर्से्नि मुस्ताङमा चौँरीको रगत खाने मेलामा व्यापार अझै राम्रो हुन्छ। वैशाख र साउन महिनामा यस्तो मेला यहाँ लाग्दै आएको छ। चौँरीपालन नयाँ पेसा भने होइन। पुरानो गोठ परम्परालाई नयाँ पुस्ताले हाल हाल्ने क्रम बढेपछि थोरै सुधार भने भएको हो। जिल्लाको तल्लो भेकको कोवाङ, लेते, टुकुचे र मार्फालगायत भेककाले व्यावसायिक चौँरीपालन गर्दै आएका छन्। सबैभन्दा बढी पालिने कोबाङका मात्रै खर्कहरूमा २० वटा गोठ छन्। तल्लो भेकका झन्डै ५० घरपरिवारले व्यावसायिक रूपमा चौँरीपालन गर्दै आएको जिल्ला पशु सेवा कार्यालय मुस्ताङले जनाएको छ। यसरी पाल्नेहरूको प्रतिघर ५० देखि डेढ सयको संख्या रहेको पशु चिकित्सक खगेन्द्रप्रसाद थकालीले बताए। ‘चरिचरनको अभाव र जंगली जनावरले बाच्छाबाच्छी खाने क्रमले चौँरीपालन गर्नेहरू उत्साहित हुन सकेका छैनन्,’ उनले भने, ‘सुरक्षित तरिकाको गोठको अभावले गर्दा पनि यस्तो समस्या भएको हो।’ बर्खायाममा तल्लो भेकमा हिउँ र चिसो कम भएकाले ५ हजार मिटरदेखि ५ हजार ५ सय मिटरसम्मको हिमरेखासम्म चौँरीपालकले चौँरी डुलाउने गरेको थकालीले बताए।
यसैबीच चिसो बढेसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन्। कात्तिक महिना सुरु भएदेखि नै उनीहरु देशका विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार सुरु गरेका छन्। वृद्धवृद्धाबाहेक अधिकांश सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो हप्तासम्म बेँसी झरेर घुम्ती व्यापारमा संलग्न हुने गर्छन्। उनीहरुले आफ्नै लगानीमा लत्ताकपडाका साथमा सियो, धागो र जिम्बुको व्यापार गर्ने गर्छन्। चार महिना हिमाली जिल्लामा अत्यधिक चिसो हुने भएकाले असोज अन्तिम साताभित्र अन्नबाली थन्काएर सर्वसाधारण बेँसी झरेपछि गाउँ नै सुनसान बनेका छन्। लोमान्थाङ, घमी, छोसेर, सुर्खाङ र छोण्हुप लगायतका गाउँ सुनसान बन्दै गएको अन्नपूर्ण संरक्षण आयोजना ९एक्याप० लोमान्थाङका प्रमुख सन्तोष शेरचनले जानकारी दिए। उनका अनुसार घरमा काम गर्न नसक्ने वृद्धवृद्धा मात्रै रहेका छन्। चिसोको मौसममा उपल्लो मुस्ताङमा सञ्चालित मावि तथा प्राविहरु पोखराको विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरिने जिल्ला शिक्षा कार्यालय मुस्ताङले जनाएको छ। ‘अधिकांश गाउँ अहिले सुनसान बनेको छ, यो अवस्था फागुनसम्म रहन्छ’, प्रमुख शेरचनले भने–‘अन्नबाली पनि नहुने भएपछि उनीहरुले घुम्ती व्यापारबाटै जिविका चलाउनुपर्ने हुन्छ।’ उपल्लो मुस्ताङमा फापर, आलु, जौ, गहुँजस्ता अन्नबाली केही मात्रामा हुने गरिएको छ।
यो मौसममा मुस्ताङीले घुम्ती व्यापारबाट कम्तीमा रु दुई लाख आम्दानी गरेर बर्खायामलाई पुग्ने गरी खाद्यान्न खरिद गरी लैजाने गर्छन्। मुस्ताङको तल्लो क्षेत्रका साथै म्याग्दी, बागलुङ, पर्वत, कास्की, गोर्खा, तनहुँलगायत देशका अधिकांश जिल्लामा पुगेर उनीहरुले घुम्ती व्यापार गर्ने एक्याप प्रमुख शेरचनको भनाइ छ।
Post a Comment