कमला थापा÷रासस
पश्चिमी इलामको जितपुर गाविसमा रहेको पोखरी झ्याउँपोखरीको पुनःनिर्माण योजना अलपत्र परेको छ । स्थानीयवासीकै पहलमा थालिएको पुनःनिर्माण योजना समितिले नै वास्ता नगरेपछि अलपत्र परेको हो । पुनःनिर्माण थालिएको वर्षदिन भए पनि पोखरीमा पस्ने वर्षातको भेल नतर्काउँदा भेलले पोखरीलाई दिन प्रतिदिन कुरुप बनाउँदै लगेको स्थानीयवासी दीपक बरालले बताउनुभयो । जितपुरका २ र ४ नं वडामा अवस्थित क्षेत्रफलको हिसाबले जिल्लाकै दोस्रो ठूलो झ्याउँपोखरी पानी सुकेर खेल मैदानमा परिणत भएपछि फेरि पानी भर्न वर्ष दिनअघि कस्सिएका स्थानीयवासी यतिबेला पोखरीमा पानी त के पोखरीको अस्तित्वसमेत गुम्ने अवस्थामा पुगेपछि चिन्तित बनेका छन् । संरक्षण समिति भने पोखरीको अवस्था थाहा भएर पनि बेखबर जस्तै छ । सिएमएन आयोजना, संसद् विकास कोष र जिल्ला विकास समितिको सहयोगमा पोखरीमा पानीको स्रोत जुटाई पोखरीलाई पुरानै अवस्थामा ल्याउन काम थालिएको भएपनि पोखरीमा पस्ने बाटोमा नियन्त्रण नहुँदा पोखरीभित्रै गाडी कुदाउने बाटो छ ।
खेलमैदान बनाएर खेल खेल्ने क्रम रोकिएको छैन”, स्थनीयवासी कमल अधिकारीले भने–“बर्षातमा भेला भएको जमेको पानीमा केटाकेटी पौडी खेलिरहेका भेटिन्छन् । “मानिसहरू जथाभावी घाँसदाउरा, सोत्तर काटिरहेका छन्”, अधिकारीका अनुसार पोखरीमा मानिस, घरपालुवा जीवजनावरको मलमूत्र भेला हुने क्रम रोकिएको छैन । पोखरीको बीच डाँडामा वर्षौंदेखि निर्माण थालिएको मन्दिर भत्किएर अवशेष मात्र बाँकी छ । मन्दिरका पिलर भाँच्चिएका छन् । निर्माण सामग्री छरपष्ट छरिएका छन् । पिलर पोखरी छिर्ने बाटोमा अलपत्र फालिएका छन् । मन्दिरको गजुर बेसम्भार लडिरहेको छ । घाँस काट्ने क्रम नियन्त्रणमा आएको छैन । खुला रूपमा पोखरीमा पस्ने प्रवृत्ति नियन्त्रण हुन सकेको छैन । समितिको सुस्तताले पोखरीमा टन्न पानी, बीचमा थुम्की, थुम्कीमा पूजा गर्ने ढुङ्गे सालिक, पोखरीमा पानी हाँस, वरिपरी नागी, गाईवस्तु चराउने चरन क्षेत्र, दुईतिर मूलबाटो, साँझ–बिहान झ्याउँकिरीको झ्याउँ–झ्याउँ, भ्यागुताको ट्वार–ट्वार आवाज, पानीमा आकाश र ताराको छायाँ बत्ती बलेझँै झलमल्ल देखिने झन्डै ७० वर्षअघिको झ्याउँपोखरीको यो अवस्था नमरी फेरि देख्न पाउने आशा मर्न थालेको जितपुर२ की ८४ वर्षीया गुणमाया बरालले बताइन । दुई दशकदेखि सुख्खा पोखरीका रूपमा रहेको पोखरीलाई समितिले पोखरीमा पानी लगाउने, वर्षौं देखि बर्षातको भेलले बगाएर ल्याएको माटो फाल्ने, पोखरीलाई सफा गर्ने, पोखरी वरिपरि तार घेराबार गर्ने, पोखरीले ओगटेको ३१ रोपनी जग्गालाई आधिकारिक बनाउने, पोखरीको शोभा घटाउने छेउको बाटो सार्ने, अनियन्त्रित बर्षातको भेल तर्काउने, पोखरीमा थालिएको भौतिक सम्पत्तिको संरक्षण, पुनःनिर्माण गर्ने, पोखरी क्षेत्रमा वृक्षारोपण गर्ने योजना बनाएर थालिएको पुनःनिर्माण कार्यक्रम अहिलेसम्ममा पाइपबाट पानी ल्याउने काम मात्र पूरा भएको छ ।
पानी ल्याएको पाइपको पनि उचित रेखदेख हुन नसक्दा र महिनौँ दिनसम्म पनि पानी बन्द हुँदासमेत कसैले वास्ता नगरेको स्थानीयवासी बताउँछन् । पछिल्लो पटक पुनःनिर्माणका लागि स्थानीयवासी ओम बरालले नेतृत्व गरेको संरक्षण समितिले सिएमएन आयोजनाको रु दुई लाख र संसद् विकास कोषको रु ५० हजार खर्च गरेको छ । तर यो खर्चको हिसाब वर्ष दिन बित्दा पनि सार्वजनिक भएको छैन । निर्माण समितिको पहलमा स्थानीय युवाले १२० जनाको श्रमदानले एक हजार ७०० मिटर पोखरीसम्म पाइप पुर्ने बाटो खनेका थिए ।
संरक्षणको नाममा स्थानीयवासी प्रमिला चापागार्इंको नेतृत्वमा पोखरीको बीचको थुम्कीमा मन्दिर निर्माण कार्य थालिएको थियो । मन्दिर निर्माण गर्दा जिल्ला विकास समितिले छाउने जस्तापाता, गाउँ विकास समितिले रु ५० हजार अनुदान सहयोग गरेको स्थानीय शिक्षक गायत्री बरालले जानकारी गराए । यो मन्दिर संरक्षणको अभावमा खण्डहरमा परिणत भएको छ । अन्य समूहले पोखरी परिसरमा वृक्षारोपणको काम गरे पनि प्रभावकारी बन्न सकेको छैन । समूहले उठाएको नगदले स्थानीय समुदायका लागि विभिन्न कार्यक्रममा आवश्यक पर्ने भौतिक सामग्री जुटाएका छन् । यसअघि पञ्चायती शासनकालमा क्याप्टेन असलबहादुर मोरोहाङ लिम्बू प्रधानपञ्च भएको कार्यकालमा कुलो खनेर पानी ल्याई पोखरीको पुनःनिर्माण गर्ने प्रयास गरिएपनि सफल हुन नसकेको स्थानीय बुढापाका बताउँछन् ।
Post a Comment