0
गोल्डेन न्यूज संवाददाता
नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार कात्तिक २० गते वितरण गरिने भएको छ।       नेपाल प्रेस युनियन कास्कीको आईतबार वसेको बैठकले उक्त निर्णय गरेको हो । पुरस्कार पोखराका अग्रज पत्रकार गंगाधर पराजुलीलाई प्रदान गरिंदै छ । कार्यक्रमलाई सम्पन्न गर्नका लागि नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको संयोजकत्वमा विभिन्न उपसमिति समेत गठन गरिएको छ ।       नेपाल काँग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा, नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख तथा पूर्व सञ्चार मन्त्री मिनेन्द्र रिजाल तथा काँग्रेसका अन्य नेताहरुको उपस्थितिमा पुरस्कार वितराण गरिने प्रेस युनियन कास्कीका सचिव प्रकाशचन्द्र सापकोटाले जानकारी दिए । पुरस्कारको राशी ३५ हजार पाँच सय ५५ रुपैयाँ रहेको छ।      युनियनको कास्की शाखाले स्थापना गरेको पत्रकारिता पुरस्कार एवं पत्रकार कल्याण कोषबाट पहिलो पुरस्कार पराजुलीलाई प्रदान गरिने भएको हो । पुरस्कार वितरण वितरण समारोहलाई सफलतापूर्वक सम्पन्न गर्न गठित विभिन्न उपसमितिहरुमध्ये युनियनका कास्की जिल्ला उपाध्यक्ष माधव रेग्मीको संयोजकत्वमा अतिथि सत्कार, सचिव प्रकाशचन्द्र सापकोटाको संयोजकत्वमा प्रचार–प्रसार, सदस्य पदम श्रेष्ठको संयोजकत्वमा सम्मानपत्र÷कदर पत्र तयारी उपसमिति, सदस्य विमला भण्डारीको संयोकत्वमा मञ्च सजावट र सदस्य गीता विष्टको संयोजकत्वमा जलपान व्यवस्थापन उपसमिति गठन गरिएको छ भने अञ्चल संयोजक टक अधिकारी संयोकत्वमा समन्वय तथा अनुगमन उप–समिति गठन गरिएको अध्यक्ष बरालले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।   लोकतान्त्रिक मूल्य, मान्यता र आदर्श अनुरुप न्यूनतम् १५ वर्ष पत्रकारिता गरेको र युनियनको सुदृढिकरणमा योगदान दिएको पत्रकारलाई उक्त पुरस्कार दिने व्यवस्था गरिएको छ । पुरस्कार प्राप्त गर्नका लागि युनियनको सदस्य रहेर निरन्तर १५ वर्ष बिताएका हुनुपर्ने व्यवस्था पनि गरिएको छ । छनौट समितिको संयोजकमा नेपाल प्रेस युनियन कास्कीका सल्लाहकार पत्रकार रविन्द्र बाँस्तोला र सदस्यहरुमा नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३ का सभापति शोभाचन्द्र बराल, नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष कुलदेवी बराल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार तथा नेपाली कांग्रेसका केन्द्रीय प्रचार विभागका सदस्य राजबहादुर गुरुङका साथै युनियनका कास्की अध्यक्ष शिरोमणि बराल र सचिव प्रकाशचन्द्र सापकोटा रहेका थिए । पराजुलीले पोखरामा रहेर झण्डै साढे दुई दशक पत्रकारिता क्षेत्रमा बिताएका छन्। हाल राष्ट्रिय समाचार समितिको बोर्ड सदस्य रहेका पराजुली पोखराबाट प्रकाशन हुने गोल्डेन न्यूज दैनिकका अध्यक्ष एवं प्रधान सम्पादक तथा सुनौलो एफ.एम.का कार्यकारी निर्देशक समेत हुन् । 
गोरखापत्र दैनिकमा २०४९ सालमा संलग्न भएपछि पत्रकारितालाई नै आफ्नो पेशा बनाएका पराजुलीसंग कान्तिपुर दैनिक, नेपाल टेलिभिजन लगायतका राष्ट्रिय संचारमाध्यमका साथै पोखरा स्थित विभिन्न छापा तथा विद्युतीय संचारमाध्यममा काम गरेको अनुभव छ । नेपाल पत्रकार महासंघको केन्द्रीय उपसभापतिका साथै नेपाल प्रेस युनियनको केन्द्रीय समितिको प्रथम उपाध्यक्ष सहित विभिन्न पदमा रहेर लामो समय पत्रकारिताको राजनीतिमा क्रियाशील पराजुलीले युनियनको कास्की शाखाको स्थापनाकालदेखि तीन कार्यकालसम्म अध्यक्ष रहेर काम गरेका थिए ।
नेपाल प्रेस युनियन कास्कीले  स्थापना गरेको पत्रकारिता पुरस्कार एवं पत्रकार कल्याण कोषमा हालसम्म करिब १५ लाख रुपैयाँ संकलन भैसकेको छ । कोषबाट प्राप्त व्याजबाट पत्रकारहरुलाई पुरस्कृत गर्ने तथा आर्थिक सहयोग गर्ने लक्ष्य राखिएको छ।
यसैगरि वैठकले अक्षयकोष स्थापनार्थ सहयोग गर्ने अक्षयकोषदाता लाई सम्मान गर्ने समेत निर्णय गरेको छ । बैठकले मंसिर महिना भित्रमा कास्की शाखामा आवद्ध सवै सदस्यहरुलाई सदस्यता नविकरण गर्न समेत निर्णय गरेको छ। सदस्यता नविकरण सगै परिचय पत्रको समेत व्यवस्था गरिएको सचिव सापकोटाले जानकारी दिए । बैठक नेपाल प्रेस युनियन कास्की शाखाका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।



Post a Comment

 
Top