0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले शीर्ष नेतृत्व पार्टी र मुलुक सञ्चालनमा पूर्णरुपले असफल भएको भन्दै आत्मा आलोचनाको माग गरेका छन्।  संविधान निर्माणपछि संसदभित्र भएका निर्वाचनको समिक्षा तथा पार्टीको आशन्न १३औं महाधिवेशन को तयारीबारे आइतबारदेखि पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा पार्टी सदस्यहरुले शीर्ष नेताहरुको असफलताका कारण पार्टी संगठन संकटपूर्ण अवस्थामा आइपरेको आरोप लगाएका थिए। सोमबारको बैठकमा बोल्ने १७ जना सदस्यहरुमध्ये कुनै पनि सदस्यले पार्टी सभापति सुशील कोइराला आफै प्रधानमन्त्रीको प्रत्यासी बन्ने निर्णयको बचाउ गरेनन्। कोइराला नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका पार्टी नेता रामशरण महतले शीर्ष तीन नेता असफल भएको आरोप लगाउदै सहमतिको राजनीतिमा अहिलेको नेतृत्वको कारण कांग्रेसलाई अरुले अविश्वसनीय पार्टनरको रुपमा चित्रित गरेको बताए। पार्टीको तर्फबाट प्रधानमन्त्री पदमा उम्मेदवारी दिनु नै थियो भने पनि आफ्नै निर्णयमा दिनु पर्नेमा विदेशी शक्तिको इसारामा उम्मेदवारी दिएर पार्टीलाई ठूलो नोक्सानी भएको पनि उनले दाबी गरेका थिए।
केन्द्रीय सदस्य सुजाता कोइरालाले साधुसन्त नेताहरु सबै असफल भइसकेको भन्दै अब शीर्ष नेताहरुले पार्टीको नेतृत्व बाहिर बसेर सहयोग गर्नु पर्ने माग गरेकी थिइन्। सुजाताले साधुसन्त भनेर कसलाई भनेको भनि देउवाले बीचमा प्रश्न गर्दा सबै शीर्ष नेतालाई भन्ने जवाफ दिएकी थिइन्। प्रकाशशरण महतले धेरथोर गल्ती तीनवटै नेताको भएको भन्दै अब आत्मआलोचना गरी अघि बढ्नु पर्ने माग गरेका थिए। मधेस आन्दोलनको विषय र भारतीय पक्षबाट भएको अघोषित नाकाबन्दीको बारेमा बोल्दै भारत नेपालको पुरानो छिमेकी मित्रराष्ट्र भएपनि मधेस आन्दोलनको विषय नेपालको आन्तरिक मामिला भएको भन्दै त्यसलाई नेपाली आफैले सम्बोधन गर्न पाउनु पर्ने धारणा राखेका थिए।
 धनराज गुरुङले संविधान निर्माण अघि भएको १६ बुँदे सहमतिमा सहमतिको सरकार गठनको विषय प्रष्टसँग उल्लेख भएको र अबको राजनीति पनि दलहरुबीच आपसी सहमतिकै आधारमा अघि बढ्नुको विकल्प नभएको बताएका थिए। ‘यदि भद्र सहमति भएको थियो भने किन त्यो सहमति अनुसार नगरी अरु दलको सहयोग विना कांग्रेसले उम्मेदवारी किन दिएको’, उनले नेतृत्वसँग प्रश्न गरेका थिए।
पार्टी सभापति सुशील कोइरालाले आफ्नो नेतृत्वमा रहेको सरकारले मुलुकमा नयाँ संविधान निर्माण गर्न सफल भएको दाबी गर्दै प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा हारेपनि लोकतन्त्र र मुलुकले जितेको दाबी गरेका थिए। त्यसको प्रतिबाद गर्दै गुरुङले लोकतन्त्रको आँगनमा वामपन्थीहरु लाई नचाएर आफू दर्शकदिर्घामा बसी के जितेँ भनेको हो भनि व्यंग्य गरेका थिए। उनले मधेसको विषय सम्बोधन गर्न सबैभन्दा ठूलो दल कांग्रेसले कमल थापा नेतृत्वको सरकारी वार्ता टोलीमा सहभागी नभइ आफ्नै नेतृत्वमा समस्या समाधान गर्नु पर्ने राय दिएका थिए।
गगन थापाले कांग्रेसको नेतृत्वले संविधान निर्माण पश्चात सरकार गठनको विषयमा नभइ संविधानसभा निर्वाचन पश्चात नै दुईवटा गल्ति गरेको आरोप लगाएका थिए। उनले संविधानसभा निर्वाचनपछि मधेसी, दलित, आदिवासी जनजाति समुदाय लगायतले गरेको अधिकारका आन्दोलन व्यवस्थापनमा एमालेको अनुदार चस्माले हेर्ने गल्ति गरेको आरोप लगाए। त्यसैगरी भारतलाई हेर्ने दृष्टिकोणमा मधेसको चस्माले हेर्दा जहाँ कठोर हुनुपर्ने थियो त्यहा नरम र जहा नरम निति हुनु पर्थो त्यहा कठोर हुदा कांग्रेस अहिले सरकार गठनको विषयमा मात्र नभइ संविधानसभाको निर्वाचन लगत्तै सहि दृष्टिकोण बनाउन नसक्दाको परिणाम अहिले मुलुकले बेहोरेको दाबी गरे।  जसका कारण कांग्रेसलाई अहिले पहाडमा बस्नेले पहाड विरोधी, मधेसमा बस्नेले मधेस विरोधी र शहरमा बस्नेले राष्ट्र विरोधीको आरोप लगाइरहेको पनि उनले बताए।
नेपालको आन्तरिक मामिला आफैले सल्टाउनु पर्ने सुझाव दिंदै थापाले कांग्रेस भारतबाट निरन्तर पीडित भएर पनि नेतृत्वको कमजोरीका कारण प्रयोग हुँदा अहिले भारत परस्त भएको आरोप खेप्नु परेको बताए। चन्द्र भण्डारीले नेतृत्व लोभी पापी हुदा अहिलेको अवस्था आएको आरोप लगाएका थिए। बैठकमा कतिपय सदस्यहरुले कांग्रेसले संविधानसभा निर्वाचन लगत्तै एमाओवादी, मधेसवादी र अन्य साना दलसँग सहकार्य गरी संविधान निर्माणमा अघि बढेको भए अहिलेको समस्या नआउने दाबी गर्दै एमालेसँग सहमतिको यात्रा गरेर नेतृत्वले गम्भीर गल्ति गरेको आरोप पनि लगाए। शंकर भण्डारीले सभापति कोइरालाको नेतृत्व असफल भएको भन्दै यति लामो समयसम्म संसदीय समिति समेत गठन नभएको भन्दै अव दलको नेतृत्वदेखि सबै पदमा नयाँ नेतृत्व चयन हुनु पर्ने माग गरेका थिए। यस अघि उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री निर्वाचनको दौडमा आफूलाई रोक्न पार्टी नेतृत्वदेखि केन्द्रीय सदस्यहरु विमलेन्द्र निधि, मिनेन्द्र रिजाल, शेखर कोइराला र अर्जुननरसिंह केसीले कोइरालालाई उकासेको आरोप लगाएका थिए। बैठकमा कतिपय सदस्यहरुले कोइरालालाई उकासी प्रधानमन्त्रीको निर्वाचनमा उठाएर कोइराला स्वम् र पार्टीको साख गिराएको भन्दै त्यसको जवाफ जिम्मेवारी दोषी नेतृत्वले लिनु पर्ने माग गरेका थिए। पार्टीका सदस्यहरुले बोल्ने क्रम नसकिएको र पार्टीको आसन्न अधिवेशनको तयारीका विषयमा निर्णय गर्न बाँकि नै रहेको कारण बैठक मंगलबार पुनः बस्ने छ।
आइतबारदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा आइतबार बोल्ने केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री, सभामुख, राष्ट्रपति, उपराष्ट्रपति लगायतका पदको निर्वाचनमा हात धुनुपरेपछि नेपाली कांग्रेसका शीर्ष नेताले त्यसको दोष एकअर्काप्रति थोपार्ने काम गरेका थिए ।  बैठकको दोस्रो दिन सोमबार बोल्ने क्रममा शीर्ष नेताहरुले संसदमा भएको पछिल्लो निर्वाचनमा पार्टी पराजयको दोष एकअर्कालाई दिएका हुन्। सोमबारको बैठकको शुरुमा बोल्दै पार्टी सभापति सुशील कोइरालाले पार्टीका अधिकांश केन्द्रीय सदस्यहरुको राय सुझाव तथा शीर्ष नेताहरुकै समर्थनमा आफू प्रधानमन्त्री पदका लागि प्रत्यासी बनेको दाबी गरेका थिए। एक केन्द्रीय सदस्यका अनुसार प्रधानमन्त्री पदको प्रत्यासी बन्ने विषयमा अन्तिम समयमा आफूले उपसभापति रामचन्द्र पौडेललाई अगाडि बढाउन खोज्दा वरिष्ठ नेता शेरबहादुर देउवाले असहमति जनाउँदै सभापति स्वयं उम्मेदवार बनेमात्र मान्ने अडानका कारण आफै अघि सर्नु परेको दाबी कोइरालाले गरेका छन्। सभापति कोइरालाको अभिव्यक्ति टुंगिन नपाउँदै आक्रोशित हुँदै वरिष्ठ नेता देउवाले प्रतिवाद गर्दै कोइरालाले आफूसँग पौडेलको प्रस्ताव नगरेको दाबी गरे। ‘मैले शुरुदेखि अन्त्यसम्म सभापति आफै उम्मेदवार बन्न चाहेको हो कि होइन र होइन भने संसदीय दलको विधान अनुसार दलको नेता चयन गर्न आग्रह गरेको हुँ,’ देउवाले स्पष्टिकरण दिंदै भने,–‘अबदेखि म तपाईसँग एक्लै कुनै कुरा पनि गर्दिन र भेट्दा पनि भेट्दिन।’ त्यसपछि उनी झोक्किदै बैठकबाट बाहिरिएका थिए। पार्टीको तर्फबाट आफूलाई उम्मेदवार नबनाएर ठूलो गल्ति गरेको दाबी गर्दै उपसभापति रामचन्द्र पौडेलले आफूलाई रोक्न सभापति र वरिष्ठ नेता लागिपरेको आरोप लगाए। ‘पार्टी संगठनका लागि सबैभन्दा बढी योगदान दिँदा पनि आफूलाई रोक्न तपाईँहरू लागेको विषय म केन्द्रीय समितिदेखि महाधिवेशन सम्म भन्दै जान्छु,’ पौडेलले बैठकमा भने।
एमालेसँगको सहमतिको यात्रा तोड्दै पार्टी सभापति कोइराला स्वम् उम्मेदवार हुने निर्णयको विरोध गर्दै पार्टी सहमहामन्त्री पदबाट राजीनामा दिएका पूर्णबहादुर खड्काले बैठकमा कोइरालालाई उम्मेदवार बनाउने निर्णय गलत भएको जिकिर गरे। संविधान निर्माणका लागि भएको १६ बुँदे सहमतिमा हस्ताक्षर गर्ने बेलामा एमालेबाट भद्र सहमतिको कुरा आएपनि सभापति कोइरालाले पार्टी निर्णय विपरित आफूले कुनै निर्णय गर्न नसक्ने धारणा राखेको खड्काले बताए। ‘यदि पार्टीले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिनै पर्ने अवस्थामा पनि सभापतिको सट्टा अरु कुनै नेतालाई समय छदैं अघि बढाएर अन्य दलसँग समर्थनको पहल गर्नुपर्ने थियो,’ खड्काले भने,–‘प्रधानमन्त्री पदको उम्मेदवारी दिने अघिल्लो दिन रातिसम्म सभापति कोइरालाले आफू उम्मेदवार नबन्ने बताउनु भएको थियो।’ खड्काले केही व्यक्तिले पार्टी पदाधिकारी तथा केन्द्रीय समितिको निर्णय विनै सभापतिलाई उक्साएको आरोप लगाए। उनले यस्तो अवस्थामा कांग्रेसको साखसँगै सबै पद गुमाएको उनको आरोप थियो। पहिलो संविधानसभामा दोस्रो दलको रुपमा १ सय १४ सिट हुँदा पनि तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले अन्य दलसँगको वार्ता र सहमतिका आधारमा राष्ट्रपति पद हाँसिल गर्न सकेको उहादरण दिँदै खड्काले भने, ‘तर यसपटक सरकार गठनमा सहमति नभए प्रतिपक्षमा कसरी बस्ने भन्ने कुराबारे पनि गम्भीर भएर सोच्न कुसलता प्रदर्शन गर्न सकेन र सबै पद गुमाउनु प¥यो।’ पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडुले बैठकमा नेताहरुले पार्टीले प्रधानमन्त्री, राष्ट्रपति लगायतका पदमा उम्मेदवारी दिएर संविधानको भावना अनुसार समग्र मुलुकको अखण्डता र राष्ट्रिय एकता कायम राख्न सफल भएको धारणा राखेको बताए। बडुका अनुसार, संसदभित्र सम्पन्न विभिन्न पदका लागि भएको निर्वाचनमा अन्य दललाई मिलाउन नसकेपनि पार्टी प्रतिपक्षमा बसेर मुलुकको हितका लागि काम गर्ने दाबी गरेका थिए।


Post a Comment

 
Top