0
गोल्डेन न्यूज संवाददाता
पर्यटकको संख्या बढ्दै गएपछि पोखरा नजिकैको घार्मीमा रहेका युवाहरु स्वरोजगार तर्फ आकर्षित हुन थालेका छन् । विदेशी भूमिलाई त्यागेर फर्किएकाहरु कृषि तथा पशुपालन व्यवसायमा लागेका छन् भने केही युवाहरु होटल व्यवसाय तर्फ केन्द्रित भएका छन् । घार्मी सहित ट्याम्के डाँडा लगायतका क्षेत्रमा पुग्ने बाह्य तथा आन्तरिक पर्यटकको संख्या बढेपछि पोखरा—१९ घार्मीका युवा टंकनाथ पौडेलले रेष्टुरेण्ट व्यवसायमा हात हालेका छन् । उनले सञ्चालन गरेको हिलसाइड क्याफे एण्ड रेष्टुरेण्ट केहि दिन पछि नै सञ्चालन आउन लागेको छ । विदेश जाने इच्छालाई तिलाञ्जली दिएका २४ वर्षिय युवा पौडेलले आफ्ना दाजुहरु अभिषेक र पिताम्बर पौडेलको सहयोगमा रेष्टुरेण्ट सञ्चालन गर्न लागेका हुन् । स्वदेशमै केही गरौँ भन्ने भावनाका कारण व्यवसायमा हात हालेको पौडेलले बताए । उनले छिट्टै सञ्चालनमा आउने रेष्टुरेण्टमा पारिवारिक वातावरणमा नेपाली तथा इण्डियन खाना सहित स्थानीय पोखरीमा उत्पादित माछाका परिकार पाइने जानकारी दिए । पौडेलले स्थानिय राम्चे पोखरी भाडामा लिएरै माछापालन समेत गरेका छन् ।
 
घरमै अर्गानिक तरकारी उत्पादन गरेका पौडेलले स्थानीय कुखुराका परिकार पनि पाहुनाका लागि उपलब्ध गराइने बताए । छोटो पदयात्राका लागि प्रख्यात घार्मीमा पछिल्लो समय मर्निङवाक गर्ने र घूमघाम गर्नेको संख्या बढ्न थालेको उनले जानकारी दिए । करिब १० लाख रुपैँयाको लगानीमा सञ्चालन गर्न लागिएको रेष्टुरेण्ट नाकाबन्दी र निर्माण सामाग्रीको अभावमा केही ढिला भएको हो । यसअघि दशैँ अगाडि नै सञ्चालनमा ल्याउने तयारी पौडेलले गरेका थिए । घार्मीका केही युवाहरु लामो समय विदेशमा बसेर फर्किएपछि स्वरोजगारमा लागेका छन् । उनीहरु कृषि, दुग्ध तथा तरकारी खेतीमा संलग्न भै मनग्गे आम्दानी गर्न सफल भएका छन् ।

Post a Comment

 
Top