गोल्डेन न्यूज संवाददाता
खाना पकाउने ग्यासको चरम अभावको मारमा परेका पोखरेली सर्वसाधारण ग्यास वितरण गर्ने हल्लाका कारण बिहीबार रातको २ बजेदेखि लामबद्ध बने । पृथ्वीचोकस्थित पोखरा प्रदर्शनी केन्द्रबाट बुधबार चार हजार ५०० गृहलक्ष्मी ग्यास वितरण गरिएकोमा हजाराँै सर्वसाधारण लामबद्ध भएर पनि रित्तै फर्कनु परेको थियो । बिहीबारका लागि पोखरामा वितरण गर्ने कुनै योजना नभए पनि वितरण गर्ने हल्लाले रातिदेखि नै ग्यास लिनेको लाइन लामो बनेको छ । ग्यास बिक्रेता महासङ्घका केन्द्रीय उपाध्यक्ष बालकृष्ण कोइरालाले तत्काल पोखरामा ग्यास वितरण गर्ने कुनै योजना नरहेको बताए । उनका अनुसार बिहीबार लेखनाथ नगरपालिकाको भण्डारढिकमा भने बिहान १० बजेदेखि दुई हजार सङ्ख्यामा गृहलक्ष्मी ग्यास वितरण गर्ने योजना रहेको छ । ग्यास वितरण गर्ने भएपछि लेखनाथको भण्ढारढिक मा पनि बिहानैदेखि सर्वसाधारण लामबद्ध बनेका छन् । हल्लैहल्लामा नलाग्न प्रशासनमार्फत सर्वसाधारण लाई सूचनासमेत प्रवाह गरिएको कोइरालाले बताए । तथ्याङ्क अनुसार कास्की जिल्लामा मासिक ९० हजार देखि ९५ हजारसम्म ग्यास सिलिण्डर खपत हुने उनको भनाइ छ । भारतको अघोषित नाकाबन्दीपछि पहिलो पटक बुधबार मात्र पोखरामा ग्यास वितरण गरिएको थियो ।
Post a Comment