गोल्डेन न्यूज संवाददाता
पहिचानसहितको संघीयता, अधिकार सहितको तमुवान प्रदेशको माग गर्दै आन्दोलनरत तमुवान संयुक्त संघर्ष समितिले तराई मधेशमा आन्दोलनरत मधेशी र थरुहट आन्दोलनको ऐक्यवद्धतामा शुक्रवार पोखरामा प्रदर्शन गरेको छ । तमुवान संयुक्त संघर्ष समितिले पेट्रोलियम पदार्थ, खानापकाउने ग्यास लगायत उपभोग्य सामग्रीको सहज आपूर्तिको माग, कालोबजारी गर्नेलाई कारवाहीको गर्नुपर्ने लगायतका मागसहित प्रर्दशन गर्न लामो समयदेखि अधिकारका लागि आन्दोलनरत मधेश र थरुहट आन्दोलनको माग तत्काल पुरा गराउन ऐक्यवद्धता प्रदर्शन गरेको हो ।
पोखराको चिप्लेढुंगास्थित मानवअधिकारचोकबाट तमुवान प्रदेश घोषणा गर, पेट्रोलियम पदार्थ खाना पकाउने ग्याँसको व्यवस्था गर, कालोबजारीलाई कार्वाही गर, मधेशी थरुहट आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गरौं, नालायक सरकार राजीनामा दे लगायतका नारा लगाउँदै मानवअधिकार चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङले संकटको अवस्थाको गठित सरकारमा ६, ६ जना उपप्रधानमन्त्री बनाएर प्रधानमन्त्री केपी ओलीले आफ्नो सक्कली व्यवहार प्रस्तुत गरेको बताए । उनले गैरजिम्मेवार सरकारले कुर्सीमा बस्ने कुनै अधिकार नभएको, अधिकारका लागि आन्दोलित जनतालाई छाती ताकी ताकी गोली ठोक्ने, लामो समयदेखि आन्दोलनरत जनताको माग सुनुवाई नगरी सरकार गैर जिम्मेवार बनेकोमा आपत्ति जनाए । कार्यक्रममा सद्भावना पार्टी कास्कीका अध्यक्ष फजुलदिन मियाँले तराई मधेशमा बस्ने जनतालाई नेपाली नदेख्ने सरकारको आयु धेरै नरहेको बताए । तमुवान युथ फोर्सका चन्द्र तामाङले जनतालाई पीडा दिने ग्रिनिजबुकमा नाम लेखाउन तयार रहेको सरकार विरुद्ध आन्दोलनले राष्ट्रघातीहरुलाई ठेगान लगाउन चेतावनी दिए । तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङको अध्यक्षता र सचिव गजेन्द्र सुब्बाको संचालनकोभएको कार्यक्रममा मिन गुरुङले मुक्तक मार्फत गैरजिम्मेवार सरकारलाई प्रहार गरेका थिए ।
Post a Comment