0
राजाराम पौडेल÷गोल्डेन
केहि वर्ष सुस्ताएको पोखराको संगीतको माहोललाई पुनःस्थापना गर्न पोखरेली संगीतकर्मीले आफ्नो सक्रियता बढाउँदैछन् । यसरी सक्रियता बढाउँदा कुनै बेला नेपाली पप गीतको राजधानी शहर भन्ने परिचय बनाएको पोखराको पप गीतको माओल पुनः जाग्ने आशा बढेको छ । यसरी आशा जाग्नुमा यो क्षेत्रमा स्थापित बनेर पलायन भएका संगीतकर्मीको पुनःआगमन र नवोदित संगीतकर्मीको आगमन मुख्य हो । हुन त  ६० को दशकको शुरुवात देखि नै पातलिंदै गएको एल्बम अनि गीत रेकर्डिङको संख्या तुलनात्मक रुपमा बढ्न सकेको भने अझै छैन । यो बीचमा फाट्टफुट्ट रुपमा केहि गायक तथा व्याण्डले केहि गीत रेर्कड गरेर निरन्तरता दिन खोजेपनि त्यो प्रयास प्रर्याप्त थिएन । झण्डै १० वर्ष अमेरिका पलायन भएर केहि समय अगाडि पोखरा फर्किएका पोखरेली गायक कर्णदास अब साँगीतिक क्षेत्रमा पुनः क्रियाशिल हुदैछन् । उनको नेपाल आगमन र साँगीतिक क्षेत्रमा निरन्तरता दिने तयारीले पोखरेलीलाइ मात्र नभएर आम नेपाली साँगीतिक क्षेत्रलाई माया गर्ने दर्शक श्रोताको उत्साह थपिएको छ । नयाँ सोलो  एल्बम सन् २०१६ मा रिलिज गर्ने तयारीमा जुटेका उनले मध्यान्ह समूहलाई पनि निरन्तरता दिने बताएका छन् । पोखराको साँगीतिक माहोल तताउन आगामी पौष ११ गते शनिबार आफ्नो प्रस्तुति राख्ने तयारीमा कर्णदास जुटिसकेका छन् । नेपाली साँगीतिक क्षेत्रमा पुनः सक्रिय भएर लाग्ने सोचका साथ झण्डै आठ वर्षको ग्यापमा नयाँ एल्बम दर्शक स्रोतामाझ पस्कन लागेको पोखरेली समूह कन्दराले साँगीतिक कार्यक्रम मार्फत पनि आफ्नो क्रेज पुरानै अवस्थामा फर्काउन खोज्दै छ । नयाँ एल्बमका केहि गीत दर्शक श्रोता माझ पस्कँदा पाएको सकारात्मक प्रतिक्रियाले यो समुह हौसिएको छ । समुहका मुख्य भोकलिष्ट विवेक श्रेष्ठ अब निरन्तर रुपमा नेपाली साँगीतिक क्षेत्रमा नै क्रियाशिल हुने योजनाका साथ अगाडि बढेका छन् । यस समुहको हालै सार्वजनिक भएको ‘के पहाड के तराइ के हिमाल एउटै नेपाल’ र ‘चन्द्र कोटकी नानी’ गीतलाई दर्शक श्रोताले रुचाएका छन् ।
यता डिमोर्चा व्याण्डका मुख्य भोकलिष्ट भाष्करध्व्ज श्रेष्ठ यतिबेला ‘नेपालको छोरा’ बोलको गीतको भिडियो निर्माणमा व्यस्त छन् । यस्का अलावा अरु नयाँ दुई गीत रेर्कड गरि दर्शक श्रोतामाझ पस्कने योजनामा आफू रहेको उनले बताए । सांगीतिक कार्यक्रमको माध्यमबाट निरन्तरता दिइरहेको नेपथ्य व्याण्डले पोखराको साख जोगाइ राखेको छ । लोक लयमा आधारीत पप गीत गाएर स्थापीत बनेको परिवेश समूहका मुख्य भोकलिष्ट तिलक बम मल्लले पनि विभिन्न तरिकाले आफ्नो सक्रियता बढाइरहेका छन् । उनी राजधानीमा परिवेश डिजिटल रेकर्डिङ स्टुडियो सञ्चालन गरेर आफ्नो साँगीतिक यात्रा जारी राखेका छन् ।
पोखरेली गायक विनोद बानियाँ नयाँ एल्बम विमोचनको तयारीमा छन् । एल्बम तयार भएको लामो समय हुदाँ समेत विविध कारणले दर्शक स्रोतामाझ पस्कन नसकेका उनले छिट्टै एल्ब्म विमोचन गरेर आफ्नो सक्रियता बढाउँदैछन् । पोखरेली संगीतकर्मी श्यामशुङ तामाङले आफ्ले छुट्टै गीत निकाल्ने योजना नबनाएपनि विभिन्न गीतमा संगीत भरेर आफ्नो उपस्थिति जनाइरहेका छन् । पोखरेली ठिटोको रुपमा परिचित धर्मेन्द्र सेवाङ राजधानीमा बसेर आफ्नो साँगीतिक यात्रालाइ निरन्तरता दिइरहेका छन् । केहि समय पहिला रिलिज भएको उनको गीत ‘पहाडमा हुर्केकी’को चर्चा यतिबेला बढिरहेको छ भने नयाँ गीतको तयारीमा पनि उनी जुट्दैछन् ।
देउराली समुहका मुख्य भोकलिष्ट शान्तराज बर्जाचार्य समूहको सक्रियता बढाएर समूहको चर्चा पुरानै अवस्थामा फर्काउन जुट्दै छन् । समूहले आफ्ना पुराना गीतलाई जीवित राख्न कम्तिमा छ वटा गीतको ‘अनप्लग’ म्युजिक भिडियो बनाउने तयारी गरेको उनले जनाए । पोखरेली गायक दिनेश सुनार भिसिडि एल्बम बजारमा ल्याउने तयारीमा छन् । यतिमात्र हैन नयाँ व्याकअप व्याण्ड स्थापना गरेका पोखरेली गायक आनन्द बज्राचार्य आफूसँगै व्याकअप व्याण्डलाई पनि क्रियाशिल बनाई पोखराको साँगीतिक माहोल पुनः स्थापना गर्ने बताउँछन् । राजधानीमा बसेर साँगीतिक यात्रा अगाडि बढाइरहेका पोखरेली गायक गंगाधर पराजुली ‘जिडिप’सक्रिय भएर पोखराको पहिचानलाई स्थापित गर्न लाग्ने बताउँछन् । पोखरेली गायक सिडि विजय अधिकारीले पनि आफ्नो आवाज मार्फत नेपाली साँगीतिक फाँटमा पोखराको प्रतिनिधित्व गरिरहेका छन् ।
त्यसो त पोखरामा स्थापना भएका व्याण्ड मध्यमा गीत रेकडिङ गर्ने तथा  एल्बम बजारमा ल्याउने पहिलो व्याण्ड योङ टाइगर थियो । यो व्याण्डले एक्लो जीवन नामक एल्बम बजारमा ल्यायो सुरुमा गीत रेकडिङ गर्ने पोखरेली गायक यसै व्याण्डका गायक पृथ्वीमान गुरुङ हुन्  । यसपछि क्रमिकरुपमा गीत रेकर्डिङ र एल्बम बजारमा एकपछि अर्को गर्दै आउन थालेका थिए । यो समुहले पनि पछिल्लो समयमा एल्बम बजारमा ल्याउन भने सकेको छ्रैन । पोखराको पिस ह्यान्कि व्याण्डले पनि निरन्तरता दिन सकेन । पछ्यौरी व्याण्ड, लेकाली समूह, ब्रोसिस व्याण्ड, नमस्ते व्याण्ड, भ्यागवोन व्याण्ड, मोक्ष व्याण्ड, तन्त्र व्याण्ड, पखेरी व्याण्ड, द एज व्याण्ड, बफिन्स–९८ समुह, मंगोलस व्याण्ड, द संस्कार व्याण्ड, प्रयास व्याण्ड, गुर्मीङ रोज समूह, मनसाय व्याण्ड, पञ्चासे समुह, रियाज व्याण्ड, इसाबेला व्याण्ड, उद्वेग व्याण्ड, मारुनी समुह, वाइलफाइल व्याण्ड, माइलस्टोन व्याण्ड, द वन्डेड हर्ट, एक्स क्षितिज, क्षितिज, त्रिवेणी, ०६१, एजु व्याण्ड, जि नाइन लगायतका व्याण्डमध्ये केहिले अब साँगीतिक क्षेत्रमा निरन्तरता दिने तयारी गर्दैछन् । त्यसो त केहि नयाँ व्याण्डको स्थापना पनि पछिल्लो समयमा भएको छ । पोखरेली गायक शोभित बस्याल, नरजंग गुरुङ्ग, मनोज गुरुङ्ग, विनित जोजीजु, अरविन तुलाचन, सर्वज्ञमान शाक्य, सन्तोष कोन्मे, दिपराज थापा, सागर शाह लगायतकाले विभिन्न तरिकाले आफ्नो उपस्थिति देखाइरहेका छन् । केहि नवोदित गायक गायिका पनि साँगीतिक क्षेत्रमा लागेर पोखराको उचाइ बढाउन सक्रिय हुन खोज्दैछन् ।

Post a Comment

 
Top