0
प्रदीपकुमार श्रेष्ठ


साँघुरा परिवेशमा
हिंडिरहेका साना पदचापहरु
नसुनिएका क्रोधहरुको संलग्नतामा
मनमनै हृदय आन्दोलित भइरहेछ ।
आशिष मानिएको धृृष्टतामा
म एक उन्नत नेपाली
सार्वभौम खोलमात्र ओढिरहेछु ।
प्यारो लाग्छ मेरो देश
आत्मीयता सम्वृद्ध छ यहाँ
छिमेकीको अनन्त प्रेमले
सदा निरीह बनिरहेछु ।
पुराना कथाहरु पल्टाउँदै
गौरव गाथाहरु चियाउँदै
पूर्खाको पौरख गीत बनाउँदै
सुनसान परिवेशमा सुनिरहेछु ।
जीवन चलाउने साधनहरु
अप्राप्तिको संघारमा
निरस दिनहरु धिक्कार्दै
बाध्यतामा बाँचिरहेछु ।
मनहरुको विद्रोहमा
जन्मिसके काला सर्पहरु
एउटै छानामुनि बसेर
 विष सेवन गरिरहेछु ।

Post a Comment

 
Top