0
गोल्डेन न्यूज संवाददाता
शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीद्वारा पोखरामा नागरिक धर्ना कार्यक्रम सम्पन्न गरीएको छ । पारवहन हाम्रो अन्तर्राष्ट्रिय अधिकार हो भारतद्वारा नेपालमाथि लगाइएको नाकाबन्दी तुरुन्त फिर्ता गर भन्ने मूल नाराका साथ शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका संयोजक सरला कुमारी पाण्डेको संयोजकत्वमा भएको थियो । संविधान सभाद्वारा नेपालमा जारी गरिएको संबिधान पश्चात छिमेकी राष्ट्र भारतले लगाएको नाकाबन्दी र सीमाङ्कनका बिषयमा मधेशीमोर्चाले गरेको आन्दोलनका कारण महिनौसम्म पनि समाधानतर्फ भन्दा अरु जटिलता तर्फ जानलागेको प्रति नागरिक समाज पोखरा गम्भीर भएको भन्दै बिभिन्न नारा र प्लेकार्ड बोकेर पोखराको पृथ्बीचोकमा धर्ना दिइएको हो ।
 
नेपाल माथिको अनावश्यक हस्तक्षेप तुरुन्त बन्द गर, एम्बुलेन्स, औषधि बोकेको गाडीमाथिको आक्रमणको निन्दा र भत्सर्ना गरांै, निर्वाध पारवहनको नेपालको अधिकार, सीमामा गरएिको अबरोध तत्काल हटाउ, वर्तमान समस्या बार्ता र संवादबाट समाधान गर भन्ने नाराका साथ उपस्थित नागरिकहरुको उक्त धर्नालाइ वरिष्ठ मानव अधिकारकर्मी टेकनाथ बराल, सञ्जालका संयोजक सरला कुमारी पाण्डे, महिला मानव अधिकार रक्षक सञ्जालका संयोजक सरिता थापा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिव खकुरेल आमा समूहकी नुवावती पोखरेल लगायतले नाकाबन्दीको विरोध र भत्सना गर्दै समस्या समाधानका लागि सरकार तथा मधेश केन्द्रित मोर्चा र भारत सरकारलाई समेत गम्भीर हुन आब्हन गरेका थिए । धर्ना कार्यक्रममा नागरिक समाजको सञ्जालका पूर्व संयोजकहरु बिष्णु प्रसाद बराल, खगराज आचार्य, दलित समन्वय समितिका दुर्गा बहादुर सुनार, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार, कानून ब्यबसायी, उद्योगी व्यवसायी आमा समूह लगायतको सहभागिता रहेको थियो ।
 
यसैगरी लेखनाथ उद्योग वाणिज्इ संघले छिमेकी मुलुक भारतद्वारा अघोषित रुपमा गरिएको नाकावन्दी तथा तराई मुलका राजनैतिक पार्टीहरुको आन्दोलनका कारण उत्पन्न भएको असहज परिस्थितिले जनजीवन अस्त–व्यस्त बनाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष लक्ष्मी त्रिपाठीले आइतबार एक विज्ञप्ति जारी गरि यस कष्टकर समयमा लेखनाथ उद्योग वाणिज्य संघ सम्पूर्ण उद्योगी, व्यवसायी र आम उपभोक्ता प्रति सहानुभूति प्रकट गरेका छन् । ‘वर्तमान असहज परिस्थितिका कारण सम्पूर्ण उद्योगी, व्यवसायी तथा उपभोक्ताहरुमा पर्न गएको पीडाप्रति लेखनाथ उद्योग वाणिज्य संघको गम्भिर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ–‘यस्तो प्रतिकुल समयमा जे जति आवश्यक उपभोग्य सामाग्रीहरुको उपलव्धता छ त्यसको बैज्ञानिक, न्यायोचित तथा व्यवस्थित एवं सन्तुलित वितरणका लागि वितरण स्थल, प्रक्रिया तथा पद्धतिका विषयमा उपभोक्ताहरुलाई अग्रिम जानकारी गराएर उपभोक्तामा भ्रमपूर्ण स्थितिको सृजना नगराउनका लागि तथा संवदेनशिल बनिदिन प्रशासन तथा सम्वन्धित निकायलाई अपिल गर्दछौं ।’
 
विभिन्न समयमा भईरहेको इन्धन र ग्यास वितरण प्रक्रियामा लेउवासंघको संलग्नता रहेपनि संघले राखेको न्यायोचित वितरण गर्नु पर्ने स्पष्ट धारणालाई पालना गर्न सम्वन्धित पक्ष सम्वेदनशिल नभएको व्यहोरा उपभोक्ता समक्ष जानकारी गराउदै आगामी दिनमा उपलव्ध हुने श्रोत साधानको व्यवस्थित एवं न्यायोचित वितरण प्रणालीमा संघले पूर्ण रुपमा सहयोग गर्न तयार रहेको अध्यक्ष त्रिपाठीले बताएका छन् । साथै उपभोक्तामा धैर्य रहि एक आपसमा सद्भाव बढाउन समेत उनले आग्रह गरेका छन् ।
 
यसैगरी उपभोक्ता मञ्च कास्कीको आज बसेको बैठकले देशको विद्यमान असहज परिस्थितिमा उपभोक्ताले भोग्नुपरेको समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाको अध्यक्षतामा बसेको बैठकले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति तत्काल सहज गराउन सरकारसँग माग गरेको छ । बैठकले मौजुदा अवस्थामा रहेको पेट्रोलियम पदार्थको वितरण प्रणाली चुस्त दुरुस्त र पारदर्शी बनाइ विवेकसम्मत बनाउन स्थानीय प्रशासनसँग जोडदार माग गर्दै समेत गरेको छ ।
 
साथै आम उपभोक्तालाई सही सूचना लिएरमात्र ग्यासका लाइनमा बस्न र हल्लाका भरमा लाइनमा नबस्न आग्रह गरेको छ । उपभोक्ता मंच कास्कीका सचिव राजुराज अधिकारीद्वारा जारी विज्ञप्तिमा आपूर्ति व्यवस्था सहज गराउन दबाबका लागि राजनीतिक दल, उद्योगी, व्यवसायी, संचारकर्मी, नागरिक समाज लगायत सम्पूर्णलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि आग्रह गरिएको छ । बैठकले असहज परिस्थितिको फाइदा लिई केही व्यवसायीले खाने तेल, खाद्यान्न, चिनी लगायत दैनिक उपभोग्य बस्तुमा अनुचित मूल्यबृद्धि गरेकोमा भत्र्सना गर्दै कालोबजारीसमेत गरेको बुझिन आएको हुँदा त्यस्तो नगरी व्यवसायमा जिम्मेवार बन्न र प्रशासनलाई यस्ता व्यवसायीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ । संकटको घडीमा व्यवसायी पनि स्वयं जिम्मेवार बनी अनुचित लाभको पछि नलाग्न आग्रह गरिएको छ ।




Post a Comment

 
Top