नयाँ संविधान लागु हुने सन्दर्भमा गत शनिबार सम्पन्न भएको निर्वाचनमा ब्यवस्थापिका संसद्ले एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य तथा जनयुद्धका सैन्य कमाण्डर नन्दकिशोर पुन पासाङलाई राष्ट्रकै मर्यादाक्रममा दोस्रो रहेको उपराष्ट्रपति पदमा निर्वाचित गरेको छ । अव पूर्व माओवादी सैन्य कमाण्डर पासाङ गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपति भएका छन् । उनी उपराष्ट्रपति भएसंगैे उनको अबको भूमिका के होला भन्नेमा सवैतिर चर्चा र चासोको रुपमा हेरिएको छ । जसले जे भनेपनि उनको राजनैतिक पृष्ठभूमिका कारण उनको विजयको खास राजनीतिक अर्थ व्यापक र फराकिलो भएको छ । वास्तवमा पासाङ एमाओवादीका नेता मात्रै नभएर नेपालमा ०५२ मा थालनी भएर ०६३ सम्म जारी रहेको लामो सशस्त्र विद्रोहका कमान्डर हुन् । सशस्त्र विद्रोहको कमाण्डर भएकाले उनको यो पदमा विजय हुनुको महत्व बढि अर्थपूर्ण रहन गएको हो । शान्ति प्रक्रियालाई निश्कर्ष पुराउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पासाङ माओवादी जनयुद्धको थालनीदेखि अन्तिमसम्म कुशल संगठक र कमान्डर दुवै भए । एमाओवादीले गरेका सबैजसो महत्वपूर्ण लडार्ईको कमान्डिङ गरेका उनी राजनीतिक रूपमा सधैँ पार्टीको अनुशासित सिपाही बनेका थिए । यही अनुशासन र राजनीतिक प्रतिबद्धताका कारण माओवादी सेनाको समायोजन र व्यवस्थापन शान्तिपूर्ण रूपमा सम्पन्न भएको स्वयम् एमामाओवादी अध्यक्ष प्रचण्डले वेला वेलामा हुने पार्टीको आन्तरिक प्रशिक्षण र अन्य राजनैतिक दलका नेतासंगको छलफलमा वताउदै आएका छन । फौजी जीवनबाट शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेका लडाकुको व्यवस्थापन राम्ररी गर्न नसकेको आरोप प्रचण्डलाई लागे पनि प्रचण्डले भने जहिले पनि पासाङलाई सम्झिने गरेका छन । यस अर्थमा पासाङको उपराष्ट्रपति पदमा भएको निर्वाचन माओवादी सेनाका पूर्वलडाकुको समेत सम्मान हो भन्नलाई कन्जुसाइँ गर्नु पर्दैन् । सशस्त्र संघर्षमा होमिएको नेतालाई शान्तिपूर्ण आन्दोलनको माध्यमबाट रुपान्तरण गरी दोस्रो मर्या्दित पदमा निर्वाचित गराउनुले उनीप्रतिको सम्मान मात्रै होइन, सिंगो माओवादीले भन्ने गरेको जनयुद्धलाई मिठो न्याय पनि हो । इतिहासमा उनीहरूले गरेको योगदानको उचित सम्मान र राष्ट्रको सही मूल्यांकन पनि हो । यो निर्वाचनपछि जनसेनाका लडाकुले एउटा आत्मसम्मानको अनुभव गरेको हुनुपर्छ । विगतमा लडाईको मोर्चाको नेतृत्व गरेका उनको स्वभाव भने वेलकुल फरक छ । शालिन र सौम्य ब्यक्तित्वका धनी पासाङको यो सफलता नेपाली जनताको पनि सफलता हो । ग्रामिण भेगमा सामान्य परिवारमा जन्मेका उनी आज राष्ट्रको महत्वपूर्ण पदमा पुग्न सफल भएका छन । नेपाली जनताले लामो समयदेखि गरेको आन्दोलनको उपलब्धी पनि हो यो । माओवादी युद्धका हिसावले हेर्दा त उनको यो प्राप्ती गुणात्मक फड्को नै हो । उनीसंगै युद्ध लडेकी ओनसरी घर्ति पनि सभामुख भइसकेकी छिन् । अब यी लडाकुको भूमिका बदलिएको छ । समग्र राष्ट्रलाई पुनर्निर्माणका काममा लाग्न प्रेरित गर्नु र नयाँ पुस्तालाई सपना देख्न हौसाउनु पर्दछ । यसका लागि उनलाई संवैधानिक सीमा छन । त्यसको ख्याल गर्दै अगाडि बढ्नु पर्दछ । गाउले जनजीवनका विचबाट हुर्केर सैनिक कमाण्डर हुदै राष्ट्रको उपराष्ट्रपति बनेका नन्दबहादुर पुन उर्फ नन्दकिशोर पुन पासाङलाई सफल र स्मरणीय कार्यकालको कामना सहित हार्दिक बधाई दिन चाहान्छौ। उनलाई बिजयी बनाएर जनयुद्धमाथि गरिएको मिठो न्यायलाई ब्यवहारबाट पुष्टि गर्न सकुन् शुभकामना !
Subscribe to:
Post Comments (Atom)
Post a Comment