0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लगायत कांग्रेसका विभिन्न नेताहरु र पत्रकारिता क्षेत्रसंग सम्बन्धित महत्वपूर्ण व्यक्तित्वहरु शुक्रबार पोखरामा हुने एक कार्यक्रममा सहभागी बन्दैछन् ।
 
नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण एवं सहयोगदाताहरुलाई सम्मान गर्ने कार्यक्रममा सहभागी बन्न कांग्रेस र पत्रकारका नेताहरु पोखरा आउन लागेका हुन् । सम्मान कार्यक्रम पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दिनको १ बजे हुने भएको छ । प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पहिलोपटक पोखरामा रहेर २५ वर्ष सम्म निरन्तर पत्रकारिता गरिरहेका गंगाधर पराजुलीलाई सम्मान गरिने भएको छ । पराजुली पोखराबाट प्रकाशन भइरहेको गोल्डेन न्यूज दैनिकका प्रधान सम्पादक तथा अध्यक्ष र सुनौलो एफएमका कार्यकारी निर्देशक हुन् भने राष्ट्रिय समाचार समिति (रासस) को संचालक समिति सदस्य हुन् । यसअघि नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनको केन्द्रीय उपाध्यक्ष रहेर काम गरिसकेका पराजुलीसंघ छापा र विद्युतीय संचार माध्यममा काम गरेको लामो अनुभाव छ । उनी नेपालको प्रजातान्त्रिक आन्दोलन र प्रेस स्वतन्त्रताको आन्दोलनमा निरन्तर सक्रिय रहँदा २ महिनाको जेल जीवन र पटक–पटक हिरासतमा परेका थिए ।
 
युनियनद्वारा प्रदान गरिने पुरस्कार ३५ हजार ५ सय ५५ रुपैयाँ राशि र सम्मानपत्र सहित छ ।  पुरस्कार वितरण समारोहमा प्रमुख अतिथिको रुपमा पूर्व प्रधानमन्त्री एवं कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र विशेष अतिथिको रुपमा पूर्व संचारमन्त्री एवं कांग्रेसका प्रचार विभाग प्रमुख डा. मीनेन्द्र रिजालका साथै कांग्रेस केन्द्रीय सदस्यहरु जीवन परिवार, सुरेन्द्र पाण्डे, धनराज गुरुङ र सांसददहरु यज्ञबहादुर थापा, शारदा पौडेल, स्याङ्जा कांग्रेसका  सभापति एवं सांसद कमल पंगेनी, सांसद उमेश श्रेष्ठ, वृन्दा राना लगायत सहभागी हुँदैछन् ।
 
यसैगरि पत्रकारिता क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरुमध्ये राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेल, राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष कूलचन्द्र वाग्ले, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, नेपाल पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष अनिता विन्दु लगायत पनि कार्यक्रममा सहभागी हुने बताइन्छ । कार्यक्रममा सहभागी हुन पूर्वप्रधानमन्त्री देउवा र पूर्व संचारमन्त्री रिजाल शुक्रबार बिहान बिमानबाट ११ बजे काठमाडौंबाट पोखरा आउने कार्यक्रम छ भने अन्य अतिथिहरु समेत सोही समयभित्र पोखरा आइपुग्ने नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालले बताए । कार्यक्रममा नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको अक्षयकोषमा सहयोग दाताहरुलाई सम्मान गर्नुका साथै कांग्रेस प्रचार विभाग प्रमुख डा. रिजाल र सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको युनियन कास्कीका सचिव प्रकाशचन्द्र सापकोटाले जानकारी दिए ।



Post a Comment

 
Top