गोल्डेन न्यूज संवाददाता
पोखरेली युवा साँस्कृतिक परिवारले वाङ्मयिक क्षेत्रमा क्रियाशील स्रष्टालाई दुई दुई वर्षमा प्रदान गर्ने शिरोमणि पुरस्कार–२०७२ बाट नेपाली ललितकला क्षेत्रका सुप्रसिद्ध मूर्तिकार ओम खत्रीलाई सम्मान गर्ने निर्णय गरेको छ । मूतिकार खत्रीले विगत दुई दशकदेखि ललितकला अन्तर्गत मूर्तिकलाका क्षेत्रमा महत्वपूर्ण योगदान गरेको र नेपाली मूर्तिकलालाई अन्तर्राष्ट्रिय जगतसम्म पु¥याएकाले पुरस्कार छनौट समितिले उनलाई सिफारिस गरेको हो । प्रतिभा छनौट समितिमा वरिष्ठ कलाकार दुर्गा बराल, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, संगीतकार कृष्णबहादुर श्रेष्ठ, संस्थाका अध्यक्ष सुरेश रानाभाट र सचिव अर्जुन अधिकारी रहेका थिए । राष्ट्रिय स्तरमा साहित्य, कला र संगीतका क्षेत्रमा विशिष्ट योगदान दिने एक जना स्रष्टालाई प्रदान गरिदै आएको यो पुरस्कार छुट्टै महत्व बोकेको राष्ट्रिय स्तरको पुरस्कार हो ।
यसअघि शिरोमणि पुरस्कारबाट मुक्तिनाथ शर्मा, अलिमियाँ, दुर्गा बराल, सर्वज्ञमान प्रधानाङ्ग, सरुभक्त, देवीप्रसाद वनवासी, गोविन्दबहादुर कुँवर, तेजनाथ घिमिरे, तीर्थ श्रेष्ठ, प्रेम छोटा र अमृत गुरुङ सम्मानित भइसकेका छन् । यहि कात्र्तिक २१ गते शनिबार पोखरामा कार्यक्रम गरी प्रदान गरिने पुरस्कारको राशी नगद १५ हजार रुपैयाँ, ताम्रपत्र र दोसल्ला रहेको परिवारका अध्यक्ष सुरेश रानाभाटले जानकारी दिए । वि.सं. २०२६ साल पुस ६ गते गल्कोट हटिया ४ बाग्लुङमा जन्मेका खत्रीले मूर्तिकलामा त्रिभुवन विश्वविद्यालय बाट प्रथम श्रेणीमा स्नातक र दिल्ली विश्वविद्यालयबाट भारतबाट प्रथम श्रेणीमा प्रथम भइ स्नातकोत्तर तहसम्मको औपचारिक कला शिक्षा लिएका छन् । उनकै अगुवाईमा हेटौंडा, बुटबल र पोखराको कोमागाने पार्कमा मूर्तिहरु स्थापना गरिएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व मूर्तिकला विभाग प्रमुख, त्रिभुवन विश्वविद्यालय मूर्तिकला विभागका विषय समति सदस्य समकालीन नेपाली मूर्तिकला संघ आरम्भका अध्यक्ष खत्रीले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा दर्जनौ पटक कला प्रदर्शनी गरेका छन् भने ३५ औं राष्ट्रिय कला प्रदर्शनी २०६० मा प्रथम, अरनीको युवा कला पुरस्कार स्वर्ण पदक सहित र दिल्ली विश्वविद्यालय भारतबाट मूर्तिकलामा सवोकृष्ट पदकबाट सम्मानित भइसकेका छन् ।
Post a Comment