0
गोल्डेन न्यूज संवाददाता
हरिबोधनी एकादशीका दिन आज मादी नदीमा फूलको डोली तार्ने क्रममा नदीले बगाउँदा तनहुँमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रिस्ती गाविस वडा नं ४ बस्ने बलबहादुर गौलीको छोरा वर्ष १६ का कृष्णबहादुर गौली रहेका छन् ।      छिमेकी जिल्ला लम्जुङको सिमानामा पर्ने शिशाघाटस्थित मादी नदीमा फूलको डोली तार्ने क्रममा अचानक नदीले बगाउँदा गौली बेपत्ता भएका थिए । उक्त नदीमा नुहाउन आएका सर्वसाधारणको सक्रीयतामा गौलीको शव नदीबाट निकालेर अहिले लमजुङ जिल्लास्थित दुईपिप्ले सामुदायिक अस्पतालमा राखिएको अस्पताल सञ्चालक रमेश भट्टराईले जानकारी दिए । “उक्त शव परीक्षणका लागि दमौली अस्पताल पठाउने तयारी गरिरहेका छाँै”–अस्पताल सञ्चालक भट्टराईले भने । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी कृष्णकुमार महतसँग यस विषयमा जानकारी लिन खोज्दा मृत्यु हुने व्यक्ति तनहुँकै भए पनि घटना लमजुङमा घटेकाले लमजुङ प्रहरीले नै शव परीक्षण गर्ने बताए ।     हरिबोधनी एकादशीका दिन मादी र सेती नदीमा फूलको डोली तार्ने क्रममा होस् या नुहाउने क्रममा बर्सेनि एक जनाको मृत्यु हुने गरेको पाइन्छ ।

Post a Comment

 
Top