गोल्डेन न्यूज संवाददाता
पोखरा ११ फूलबारी स्थित प्रगति टोल विकास संस्थाद्वारा टोलमा नवनिर्मित ३३७ मिटर लामो समता सडक शनिबार एक औपचारिक कार्यक्रमका बीच पोखरा उप–महानगरपालिकाका बरिष्ठ इन्जिनियर शारदा मोहन काफ्लेले उद्घाटन गरेका छन् ।
टोल विकास संस्थाको योजना अन्तर्गत सडक निर्माण उपभोक्ता समितिद्वारा पोखरा उप–महानगर पालिकाको १० लाख ७७ हजार र १७ लाख २३ हजार स्थानीय सहभागिता गरी कुल २८ लाखको लगानीमा गत असारमा ढलान कार्य सम्पन्न गरिएको समता सडक खण्ड–कको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ इन्जिनियर शारदा मोहन काफ्लेले वडा नं. ११ लाई नगरपालिकाले विकासको प्रमुख प्राथमिकतामा राखी सडक विस्तारको कार्यमा सहयोग प्रदान गर्दै आएको र आगामी दिनमा पनि प्रगति टोल विकास संस्थाको योजनालाई विशेष प्राथमिकताका साथ सहयोग गर्ने बताए ।
उनले पोखरामा क्रियाशील टोल विकास संस्थाहरुमध्ये महिलाहरुले मात्र नेतृत्व गरेको फूलबारीस्थित प्रगति टोल विकास संस्थाले टोलको नियमित सरसफाई, सडक वत्तीहरुको व्यवस्था, सडक निर्माण तथा नागरिक सचेतना जस्ता विविध कार्यक्रमहरु मार्फत समाजमा पु¥याएको महत्वपूर्ण योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता उदाहरणीय कार्यहरुलाई प्रभावकारी रुपमा निरन्तरता दिनुका साथै यस्ता कार्यहरुबाट अरुले पनि पाठ सिक्नुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा विशेष अतिथिको रुपमा समाजसेवी एवं नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति माधव बास्तोला ‘मधु’ ले विभिन्न जिल्लाबाट स्थानान्तरण भई हाल फूलबारीमा बसोबास गर्ने शिक्षित एवं विकासप्रेमीहरु र पुराना बासिन्दाहरुले मिलेर सामाजिक विकास र सद्भाव कायम गर्न पु¥याएको योगदानको प्रशंसा गर्दै शिक्षित एवं विकासप्रेमी वडावासीहरुका हरेक राम्रा काममा सधैं आफ्नो साथ रहने विश्वास व्यक्त गरेका थिए । उक्त अवसरमा शिक्षासेवी प्राध्यापक दिपकचन्द्र वाग्ले, नगरपालिकाका इन्जिनियर नेत्र तिमिल्सिना, वडासचिव भीमदेव शर्मा, शिवशक्ति टोल विकास संस्थाका अध्यक्ष पुण्य पौडेल, जनपद महिला समूहका अध्यक्ष द्रौपदी श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।
प्रगति टोल विकास संस्था, सडक निर्माण उपभोक्ता समिति तथा वडा नागरिक मञ्च ११ का अध्यक्ष तीर्थकुमारी गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सडक निर्माणमा विशेष योगदान गर्ने मौतासिंह गुरुङलाई सम्मानपत्र तथा दोसल्लाबाट र गोमा सिग्देललाई मायाको चिनो र दोसल्लाबाट सम्मान प्रदान गरिएको थियो ।
समाजका अध्यक्ष तीर्थ कुमारी गुरुङले सडक निर्माण तथा संस्थाका गतिविधिहरुका साथै हाल सडक निर्माणमा सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गर्दै चालु आर्थिक वर्षमा पुनः समता सडक खण्ड–ख निर्माण कार्य अघि बढेकाले उक्त योजनामा पनि विगतमा जस्तै प्राथमिकता पूर्वक सहयोग प्रदान गर्न नगरपालिका कार्यालय र टोलवासीलाई अनुरोध गरेकी थिइन ।
यसैगरी सडक निर्माण उपभोक्ता समितिका सचिव कमल प्रसाद शर्माले आय–व्यय सहितको विस्तृत प्रतिवेदन प्रस्तुत गरका थिए भने उपाध्यक्ष शशीकला पोखरेलले स्वागत मन्तव्य तथा संस्थाकी सचिव डाल्डादेवी भुजेलले कार्यक्रम सञ्चालन गरेकी थिइन ।
Post a Comment