नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्रीका उम्मेदवार सुशील कोइरालाले नेपालको स्वाधीनता, राष्ट्रियता र सार्वभौम सत्ताको रक्षा गर्नु वर्तमानको आवश्यकता भएको बताएका छन् । नेपालको सविधानको धारा, २९८ को उपधारा ३ एवम् व्यवस्थापिका–संसद्को अन्तरिम कार्यविधि, २०७२ को दफा १९को उपदफा ३ बमोजिम नेपालको प्रधानमन्त्री पदमा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले उम्मेदवारी प्रस्तुत गर्दै मुलुकको अवस्था अत्यन्तै सङ्कटको घडीबाट गुज्रिरहेकाले त्यसको निराकरणका लागि एकता र मेलमिलापको विकल्प नभएको बताए । प्रधानमन्त्रीमा उम्मेदवारी दिनु लोकतान्त्रिक प्रक्रिया भएको र अहिलेको असहज अवस्थामा छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गरी राष्ट्रका समस्याको हल गरी संयोजनकारी भूमिका निर्वाह गर्दै मुलुकलाई समृद्धिको मार्गमा डो¥याउन आफू सफल हुने विश्वास उनले व्यक्त गरे । सुशासन सुनिश्चित गर्न भ्रष्टाचार विरुद्ध थालिएका अभियानले सकारात्मक परिणाम दिएको उनले बताए ।
पुनःनिर्माण प्राधिकरण विधेयक पारित हुन नदिएर सदनमा भएको असहयोगको वास्तविकता औँल्याउन पनि सभापति कोइरालाले बिर्सनुभएन । आफू प्रधानमन्त्री भए पनि मुलुकलाई अगाडि बढाउन सफल हुने र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली निर्वाचित भए पनि देश एकता र सहमतिका साथ अगाडि बढ्ने विश्वास उनले व्यक्त गरे । उनले आफ्नो उम्मेदवारी लोकतान्त्रिक प्रक्रिया भएकाले त्यसलाई अन्यथा नलिन सबैसँग आग्रह गरे । हिमाल, पहाड र तराई मधेसमध्ये मधेसमा बढी समस्या रहेका, तिनको निराकरणका लागि आफू संवेदनशीलताका साथ क्रियाशील भएको र अहिले पनि तराई आन्दोलन साम्य नभएकामा उनले चिन्ता व्यक्त गरे । उनले भने–“कैयौं नागरिकको निधन भयो । थुप्रै अस्पतालमा उपचाररत छन् । मुलुकलाई अगाडि बढाउने चिन्ता मलाई पनि छ । मधेसका मुद्दा टुङ्ग्याउन सबै पक्ष गम्भीर भएर अगाडि बढ्नु पर्छ ।” आधा जनसङ्ख्या ओगटेको तराई मधेसको आन्दोलनलाई वार्ता र संवादबाट समाधान गर्नुपर्ने आवश्यकता दर्शाउँदै सभापति कोइरालाले भारत र चीनसँगको समदूरीको पारस्परिक सम्बन्धलाई अक्षुण्ण राख्दै नाकाबन्दीको चपेटामा परेको देशलाई मुक्त गर्नैपर्नेमा जोड दिए । मुलुकले पेट्रोलियम पदार्थको चरम अभाव झेलिरहेकाले त्यसलाई सहज बनाएर जनजीवन सामान्य बनाउनु अहिलेको प्रमुख चुनौती भएको पनि उनले बताए । “सरकारले कूटनीतिक तवरबाट समस्याको समाधान गर्न प्रयास गरेको छ,” शताब्दीऔँ देखिको जनस्तरको धार्मिक, सांस्कृतिक एवम् सामाजिक सम्बन्धले जोडेको नेपाल–भारत मैत्री नाकाबन्दीले बिटुलिन नहुने तर्क गर्दै नेता कोइरालाले भने। राज्यका सबै निकायका समावेशी समानुपातिक प्रतिनिधत्विको प्रयास गरिएको, संविधान संशोधनको प्रक्रिया अगाडि बढाइएको, भूकम्पपछिको पुनःनिर्माणका लागि सहमतिका लागि साथ ल्याइएको पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी प्रस्ताव लाई असफल बनाइएको यथार्थ प्रस्तुत गर्दै उनले असहमत पक्षले सहमतिको कुरा गर्नु निरर्थक हुने बताए । व्यवस्थापिका–संसद्मा प्रस्तुत संशंोधन प्रस्तावले आन्दोलनकारीका भावना समेटेको र मुलुकको परिस्थिति बिग्रन नदिन आफूले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग नलिएको पनि उनले प्रस्ट पारे ।
अघोषित नाकाबन्दीका कारण नेपालीको महत्वपूर्ण चाडपर्व प्रभावित भएको र आर्थिक संकट उत्पन्न गरेको उल्लेख गर्दै प्रधानमन्त्रीका उम्मेदवार कोइरालाले आन्दोलनरत दलहरूसँग वार्तालाई निरन्तरता दिनुपर्ने, शिष्ट र सौम्य कूटनीति सञ्चालन गरी निचोडमा पुग्नुपर्ने बताए । आगामी दिनमा प्रदेश र स्थानीय तहको निर्वाचन गराउने गुरुत्तर दायित्व भावी सरकारको काँधमा आउने भएकाले सबै दललाई सहभागी गराएर राष्टिूय एकता, सहमति, सहकार्य र मेलमिलापको भावनाका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो । नेपाली काँग्रेस संसदीय दलका नेता तथा सभापति कोइरालाले नेपालको प्रधानमन्त्री पदको आफ्नो उम्मेदवारीको सूचना फिर्ता नलिने घोषणा गर्दै आफ्नो पक्षमा मतदान गर्न सांसदहरूसँग आग्रह गरे । त्यसअघि सभामुख सुवास नेम्वाङले नेता कोइरालालाई आफ्नो उम्मेदवारीको सूचना फिर्ता लिनसक्ने अन्तरिम कार्यविधिको प्रावधानबारे जानकारी गराएका थिए । रासस
Post a Comment