गोल्डेन न्यूज संवाददाता
नेपाल मगर संघ तथा नेपाल मगर महिला संघ रामबजार एकाइ समितिको १४ औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार सम्पन्न कार्यक्रममा बोल्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर जातिले आफ्नो पहिचान जोगाउनका लागि एकजुट भएर अघि बढ्नुपर्ने बताए । नयाँ संविधानले अझै पनि मगर समुदायलाई अन्याय गरेको भन्दै उनले संविधान संशोधनका लागि सबै मिलेर दबाब दिनुपर्ने बताए । विशेष अतिथि एवं नेपाल मगर संघ कास्कीका संस्थापक अध्यक्ष क्या. कृष्णबहादुर थापामगरले कुनै पनि समाज वा संघसंस्था दुःख सुखमा साथ र सहयोगका लागि स्थापना हुने भन्दै सबै मिलेर संघलाई अघि बढाउनुपर्नेमा जोड दिए । साधारणसभाले मगर संघ एकाइ सचिव क्या. अमरबहादुर रानामगरद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन तथा भवन प्रतिवेदन, मगर महिला संघ एकाइ सचिव शान्ति थापामगरद्वारा वार्षिक प्रगति प्रतिवेदन, भलाइकोषकी कोषाध्यक्ष सुधा थापामगरद्वारा भलाइकोष प्रतिवेदन र मगर महिला संघ एकाइ कोषाध्यक्ष निर्मला आलेमगरद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । सो अवसरमा नेपाल मगर संघ कास्कीका नवनिर्वाचित कार्यसमितिसहित ज्येष्ठ नागरिक, विभिन्न शैक्षिक उपाधि प्राप्त गर्ने व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो भने विभिन्न सांस्कृतिक प्रस्तुति समेत राखिएको थियो । अध्यक्ष ढालबहादुर सारू मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव क्या. अमरबहादुर रानामगरले गरेका थिए भने स्वागत नेपाल मगर महिला संघ एकाइ उपाध्यक्ष लक्ष्मी थापामगरले गरेका थिए ।
Post a Comment