सङ्घीय गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछि नेपालको नयाँ प्रधानमन्त्रीमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् । उनले खसेको कुल मतमध्ये ओलीले ३३८ मत प्राप्त गर्नुभएको सभामुख सुवास नेम्वाङले घोषणा गरे । मतदानमा ५८७ जना सांसद उपस्थित थिए । यस्तै अर्का उम्मेदवार नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले २४९ मत प्राप्त गरेका छन् । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालगायत दलहरूको समर्थनमा ओली मुलुकको ३८औँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । ओलीको पक्षमा नेकपा (एमाले)का १८३ सांसद, एकीकृत नेकपा (माओवादी)का ८३, राप्रपा नेपालका २५, मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का १४ संसदले मतदान गरेका थिए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको १२, नेकपा (माले) ५, राष्टिूय जनमोर्चाको ३, नेपाल परिवार दलका दुई, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका दुई बहुजनशक्ति पार्टी एक, मधेस समता पार्टी नेपालका एक, नेपाः राष्टिूय पार्टी, नेकपा (संयुक्त)का तीन सांसदले पनि ओलीलाई मतदान गरेका थिए । नेकपा (एमाले)का तर्फबाट झापा क्षेत्र नं ७ बाट संविधान सभाको दोस्रो निर्वाचनमा निर्वाचित हुनुभएका ६४ वर्षीय ओली नयाँ संविधान घोषणा भएको २१ दिनपछि प्रधानमन्त्रीमा चयन भएका हुन् । एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक) बीच आइतबार नै आठ बुँदे सहमति भएको थियो ।
यसैबीच प्रधानमन्त्रीमा निर्वाचित भएका नेकपा (एमाले)का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सबै पार्टीसँग मिलेर अघि बढ्ने बताएका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै आज व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै नवनिर्वाचित प्रधानमन्त्री ओलीले सबै पार्टीसँग मिलेर सबैको साथ समर्थन जुटाएर अगाडि बढ्ने सोच बनाएको जानकारी दिए । प्रधानमन्त्रीको निर्वाचनमा एमालेले संसद्को विश्वास प्राप्त गरेको बताउँदै उनले आफूलाई निर्वाचनमा विजयी बनाउन मतदान गर्ने एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत सबैलाई धन्यवाद दिए । उनले भने–“नयाँ जिम्मेवीलाई अवसर, सम्मान र चुनौतीको रुपमा लिएको छु ।” संविधानको कार्यान्वयन, भूकम्प पछिको पुनः निर्माण र अघोषित नाकाबन्दीको कारण आपूर्ति व्यवस्थामा भइरहेको कठिनाइ समाधान गर्ने विषय प्राथमिकतामा रहेको उनको धारणा थियो । देशको विकास निर्माण लाई अगाडि बढाएर समृद्धितर्फको यात्रालाई तीव्रताका साथ अगाडि बढाउने बताँउदै नवनिर्वाचित प्रधानमन्त्री ओलीले शान्ति सुव्यवस्था कायम गर्ने र त्यससँगै विभिन्न रचनात्मक कामका साथ देशलाई अगाडि बढाउने कुरामा आफ्नो ध्यान जाने विश्वास दिलाए । उनले सबैलाई सँगै लिएर जाने आफनो उद्देश्य रहेको स्पष्ट पारे । यसैबीच नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएकामा भारतका प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरेका छन् ।
ओली प्रधानमन्त्रीमा निर्वाचित हुनेबित्तिकै टेलिफोन गरेर प्रधानमन्त्री मोदीले बधाई ज्ञापन गर्दै भारत भ्रमणका लागि आमन्त्रण गरेको नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले बताए । त्यस अवसरमा दुई प्रधानमन्त्रीबीच नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई थप गतिशील पार्ने बारेमा विचार–विमर्श भएको जानकारी पनि सचिव ज्ञवालीले दिए । यसैबीच प्रधानमन्त्रीमा निर्वाचित आफ्नो दलका नेताको स्वागतमा धुम्बाराहीस्थित पार्टी कार्यालयमा आयोजित स्वागत समारोहमा पुगेर नेपालका लागि चीनका राजदूत उ चुन्ताईले बधाई ज्ञापन गरे । पार्टी कार्यालयमा दलका नेता, सांसद, कार्यकर्ता र पार्टीका शुभेच्छुकले प्रधानमन्त्री ओलीप्रति बधाई तथा शुभकामना ज्ञापन गरिरहेका छन् । प्रधानमन्त्री ओलीको नेतृत्वमा सिङ्गो मुलुक एकताबद्ध भई राष्ट्र हितका पक्षमा अग्रसर हुने महासचिव ईश्वर पोखरेलले बताए ।
यसैबीच मुलुकको ३८औँ प्रधानमन्त्रीमा निर्वाचित भएका नेकपा (एमाले)का अध्यक्ष केपी ओली निवास बालकोटमा भव्य स्वागत गरिएको छ । जिल्लाको अनन्तलिङ्गेश्वर नगरपालिकास्थित एमाले नगर कमिटीले बालकोट चोकदेखि धिमेबाजासहित नाचगान गर्दै निवाससम्म आइपुगेपछि ६४ किलोको माला लगाएर स्वागत गरिएको थियो । प्रधानमन्त्रीमा निर्वाचित ओली ६४ वर्षका भएकाले उनलाई सो मालाबाट स्थानीयवासीले स्वागत गरेका हुन् । निवासमा श्रीमती राधिका शाक्यले माला लगाएर स्वागत गरेकी थिइन । स्वागतका लागि स्थानीय बासिन्दा, एमालेका नेता कार्यकतार्, विभिन्न सरकारी कार्यालयका उच्च अधिकारी, सुरक्षा निकायका उच्च अधिकारीको सहभागिता रहेको छ । एमालेका उपमहासचिव विष्णु पौडेल, एमाले प्रमुख सचेतक अग्नि खरेललगायत ओली निवासमा पुगेका थिए ।
यता, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी बधाई दिएका छन्। भट्टराईले उनलाई तराई–मधेश, थारुवान, मगरात लगायतका देशका विभिन्न क्षेत्रमा भएका जनताका जायज माग सम्बोधन गर्न अग्रसरताका लागि पनि आग्रह गरेका छन्। साथै भट्टराईले त्यसका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको पनि जानकारी दिए । साथै पहाड–तराई–मधेसबीच राष्ट्रिय एकता कायम गरी सबै नेपालीले दीपावली मनाउने वातावरण बनाउन प्रधानमन्त्री केपी ओलीलाई नेता भट्टराईले आग्रह गरेका छन्।
यसैबीच नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ सोमबार दिउँसो १ बजे हुने भएको छ । राष्ट्रपति रामवरण यादवलाई भेटेपछि सभामुख सुवासचन्द्र नेम्वाङले सपथको टुंगो लगाएका हुन् । भेटमा सभामुखले नयाँ संविधानमा असन्तुष्टि राख्दै आएका दल पनि प्रधानमन्त्री निर्वाचनमा सहभागी भएको भन्दै खुसी व्यक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । ‘आजको दिन ऐतिहासिक रह्यो,’ उनले भने, ‘सिंगो देशले संविधान स्वीकृत ग¥यो । राष्ट्रपतिले पनि लोकतान्त्रिक विधिबाट प्रधानमन्त्री चयन भएकोमा खुसी प्रकट गरे ।
यसैगरी प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा सोमबार सानो मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । एमाले उच्च स्रोतका अनुसार प्रधानमन्त्रीसँगै केही मन्त्रीहरूको पनि सपथ हुने भएको हो। जसअनुसार बिष्णु पौडेल, भीम रावल, सत्रुघन महतो, कृष्णबहादुर महरा, टोपबहादुर रायामाझी र कमल थापाले मन्त्रिपदको सपथ लिने भएका हुन् । जसमध्ये कमल थापाको मात्र मन्त्रालय टुंगो लागेको स्रोतले बतायो। कमल थापाले उपप्रधान तथा परराष्ट्र मन्त्री पाउने भएका छन्। सोमबार दिउँसो १ बजे राष्ट्रपतिले प्रधानमन्त्रीसहितका मन्त्रीहरूको पद तथा गोपनियता को सपथ दिलाउने छन्। संविधानको धारा ८० अनुसार राष्ट्रपतिले प्रधानमन्त्री, उपप्रधान मन्त्री र मन्त्रीलाई सपथ खुवाउने भएका हुन्। राज्यमन्त्री र सहायक मन्त्रीले भने प्रधानमन्त्री समक्ष आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानून बमोजिम पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।
Post a Comment