गोल्डेन न्यूज संवाददाता
भारतले अघोषित नाकाबन्दी गरेपछि दैनिक उपभोग्य बस्तुको अभाव झेलीरहेको अवस्थामा मुस्ताङको लोमान्थाङका स्थानीयले कोरला नाका खोल्न माग गरेका छन् । यो नाका नेपाल–चीनको सबै भन्दा सुघम भएको बताउँदै सरकारसँग नाका खोल्न स्थानीयले अनुरोध गरेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकका अनुसार लोमान्थाङका बासीन्दाले अहिले त्यहाँ चल्ने सवारी साधनका लागि चाहिने पेट्रोल, डिजेल चीनबाटै ल्याउने गरेको बताएका छन् । नाका खोल्नसके सबै प्रकारका सामान सहजै ल्याउन सकिने लोमान्थाङ गाविसका पूर्व उपाध्यक्ष इन्द्रधारा बिष्ट बताउँछन् । नाका नखुलेकाकारण वर्षेनी दुई पटक चिनियाँ ब्यापारीले विभिन्न सामाग्री ल्याएर कोरला नाकामा मेला बस्नेबाहेक बैधानिकरुपमा यस नाकावाट सामान नआउने गरेको उनले जानकारी दिए । खाद्यन्न, लत्ताकपडा, पेय पदार्थ लगायतका दैनिक उपभोग्य सामाग्री ल्याएर चिनियाँ ब्यापारीले हिउँदे र वर्षायाम गरी वर्षमा दुई पटक कोरला नाकामा ब्यापार गर्दै आएको उनले सुनाए । मुस्ताङको लोमान्थाङवाट चीनको ढोङवा बजारको दुरी करिव एक सय पचास किलोमिटरमा रहेको उनले बताए । त्यस बजारबाट सजिलै अतिआवश्यक सामान आपूर्ति गर्न सकिने पटक–पटक ढोङ्वा बजार पुगेका बिष्टले सुनाए । ढोङ्वा बजारवाट कोरला नाकासम्मको सडक निकै समथर चौडा बाटो भएकोले ढुवानीकालागि समस्या नरहेको पनि उनले जानकारी दिए ।
नेपालतर्फ पनि अन्तर्राष्ट्रिय बिमानस्थल नै बनाउन सकिने चाक्ला फाँट रहेकाले बाटो चाक्लो बनाउनुबाहेक अन्य समस्या नरहेको उनले बताए । मुस्ताङ समथर भूभाग र स्याडो रेनजोन पनि भएकोले बाढी पहिरोले बाटो अवरुद्ध हुने समस्या झेल्नै नपर्ने पनि उनले बताए । ‘ढोङ्वा बजारवाट लासा र माउण्ट कैलाशसम्म छ लेनको चाक्लो सडक भएकोले पनि अन्य बजारबाट आवश्यक सामाग्री ल्याउने विकल्प पनि खुला रहन्छ’, उनले भने, ‘लोमान्थाङबाट पोखरा दुई सय किलोमीटर दुरीमा पदर्छ ।’ कोरला नाका संचालन हुनसके चीनबाट सामान ल्याउन निकै सहज हुने मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन बताउँछन् । नाका खोल्न पहल गरेपनि सरकारीस्तरबाट चासो नदिँदा खुल्न नसकेको उनी बताउँछन् । स्थानीय ब्यापारीले आफ्नो अनुकुलमा वर्षमा दुई तीन पटक कोरला नाकामा ब्यपार मेला गर्ने गरेको पनि उनले जानकारी दिए । मेलामा स्थानीय ब्यपारीले अर्डरगरे अनुसार सामान चिनियाँ ब्यपारीले ल्याउने गरेको उनले सुनाए ।
मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले नाका खोल्न आफू यहाँ प्रमुख जिल्ला अधिकारी भएर आएलगत्तै पहल गरेको बताए । यो नाका छोटो भएकाले नेपाल–चिन ब्यापारकालागि निकै महत्वपूर्ण हुने उनले जानकारी दिए । अहिले उपल्लो मुस्ताङ स्थित छोसेर गाविसमा नेचुङ भन्सार सक्रिय भएपनि चीनले भन्सार नराखेको उनले बताए । जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयलाई सीमानाका खोल्न पत्रचार गरेपछि सरकारले चीन सरकारसँग कुटनीतिक पहल गर्ने बताएको उनले सुनाए ।
Post a Comment