केही दिन अघि सरकारले करोडौं रकम दशैं खर्चको रुपमा कार्यकर्तालाई बाँडेको खवर आयो । सुशिल कोइराला नेतृत्वको सरकारले राज्यको ढुकुटीबाट बाँडेको उक्त रकमको सर्वत्र आलोचना भइरहेको छ । देश आर्थिक रुपमा कमजोर भैरहेको समयमा कार्यकर्तालाई उपचार खर्चको नाम दिएर बाँडिएको रकमले विकास निर्माण र भूकम्प पीडितलाई राहत र पुनस्थापनामा ठूलो सहयोग पुग्ने संभावना थियो । तर भूकम्प पीडितले अझै पाल मुनी जीवन विताइरहेकै समयमा बाँडिएको उक्त रकमले आम जनतामा नकारात्मक असर परेको छ । त्यसोत सुशिल नेतृत्वको सरकार भएपनि काँग्रेस र एमालेका कार्यकर्ताले उक्त रकम पाएका थिए । दशैंकै संघारमा फेरी केपी नेतृत्वको सरकार गठन भएको छ । यो सरकार प्रति पनि धेरै कार्यकर्ताको आशा हुन सक्छ । यो सरकारमा एमाओवादी, राप्रपा नेपाल र केही मधेशी दल समेत छन् । उनीहरुका कार्यकर्ताले पनि दशै खर्च भनेर फेरी माग्ने संभावना छ । सरकारले पनि उपचार खर्च लगायतको बाहनामा करोडौं रकम फेरी पनि वितरण गर्ने संभावना छ । तर जुनसुकै सरकार होस्, त्यसरी रकम बाँड्ने कामले आम भूकम्प पीडित जनता, सामान्य औषधि गर्न नसकेर ज्यान गुमाइ रहेका सर्वसाधारणको मनमा ठूलो चोट पर्नेछ । त्यतिमात्र होइन गणतन्त्र कार्यान्वयनको लागि गठन भएको सरकारप्रति पनि फेरी पंचायतकालिक शासक जस्तै, निरंकुश शासन काल जस्तै अविश्वास कायम रहने अवस्था आउन दिनु हुँदैन । चाडपर्वलाई सहज र सरल बनाउनेमा सरकारको पहल हुनुपर्छ । नाकाबन्दीले पनि जनता अहिले आक्रान्त छन् । व्यवसाय सिथिल भएको छ । श्रमजीवि नेपाली नागरिकको कमाइ छैन, काम पाएका छैनन्, नत दैनिक उपभोग्य सामाग्री किनमेल गर्ननै पाएका छन् । तसर्थ नेपाली जनताले कष्टकर जीवन यापन गरिरहेको समयमा कार्यकर्तालाई बाँडिने रकम, सरकारले जनतालाई भन्दा कार्यकर्तालाई पोस्ने कामले ल्याउने परिणाम ज्यादैनै प्रत्युपादक हुनेछ । दशंै तिहार जस्ता चाडपर्व शुरु भएर पनि भूकम्प पीडितहरुले कष्टपूर्ण जीवन विताइरहेका छन् । बरु सानो सानो रकमले उनीहरुको सुरक्षित बासस्थान निर्माण गर्ने तथा पालको जीवनबाट छुटकारा दिने काम गर्नु यो सरकारको पहिलो दायित्व हुनेछ । कष्टकर रुपमा बसेका पीडितलाई सुरक्षित पुनःस्थापना गर्न सकेमा यो सरकारप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनेछ । नयाँ संविधानको कार्यान्वयन, गणतन्त्र संस्थागत गर्दै विकासको बाटोमा देशलाइ हिंडाउने काममा सरकारले प्राथमिकता दिन सक्नुपर्छ । नकी कार्यकर्ताको दवाव थेग्न नसक्ने गरी गरिने जुनसुकै कामबाट एकादुइ कार्यकर्ता सन्तुष्ट भएपनि बहुसंख्यक जनता असन्तुष्ट हुने देखिन्छ । जसको कारण सरकारमा जति समय बस्दै गयो, जनमत क्रमशः घट्दै जाने डर पनि उत्तिकै हुन्छ । जे होस्, दशैंमा नेता कार्यकर्तालाई जस्तो खुसी छ, त्यस्तै खुसी सर्वसाधारण जनतालाई पनि दिने कोसिस गरेमा मात्र पनि अहिलेको अवस्थामा सरकारप्रतिको दृष्टिकोण सकारात्मक हुनेछ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment