गोल्डेन न्यूज संवाददाता
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र नेपालले देशमा शान्ति एवम् आपसी सद्भावका लागि देशभर विशेष राजयोग साधना कार्यक्रम सञ्चालन गरेको छ । संस्थाको पश्चिम नेपालको प्रधान कार्यालय दिव्यशान्ति रिट्रिट सेन्टर भैरहवामा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय नेपाल तथा पूर्वी उत्तर प्रदेश भारतका वरिष्ठ निर्देशक राजयोगिनी सुरेन्द्र दिदीले पानसमा दिप प्रज्ज्वलन गरी राजयोग साधना कार्यक्रमको उद्घाटन गर्दै शान्तिप्रिय देश नेपालमा यो अवस्था आउनु दुखद् कुरा भएको र यसका समाधानका लागि सबै नेपाली सकारात्मक भावका साथ लाग्नुपर्नेमा जोड दिइन ।
संस्थाका पश्चिम नेपालमा सेवारत सबै करिब १ सय ५० सेवा केन्द्रहरुमा शुक्रवार विहान एकै समयमा शुरु गरिएको राजयोग साधना कार्यक्रम देशको अवस्था सामान्य नहँुदासम्म प्रत्येक दिन आधा घण्टा संस्थाका हजारौं नियमित सदस्य विद्यार्थीहरुको सहभागितामा सञ्चालन हुने केन्द्रीय सचिव ब्रह्माकुमार भूपेन्द्र अधिकारीले जानकारी दिए । हाल मधेशको आन्दोलनले देशमा अशान्ति र जीवन कष्टकर बन्दै गएकोले देशमा शान्ति र सद्भाव कायम होस् अनी मानव मनमा तमोगुण, विकृति, हिंसा आदि दुर्गुणमुक्त सकारात्मक भाव जागृतिका लागि प्रकम्पन फैलाउने उद्देश्यले आयोजित राजयोग साधना कार्यक्रम देशभर एकै समयमा एउटै संकल्पका साथ गरिने बताईएको छ ।
संस्थाका क्षेत्रीय प्रमुख ब्रह्माकुमारी शान्ति दिदीको अध्यक्षता तथा केन्द्रीय सचिव ब्रह्माकुमार भूपेन्द्र अधिकारीको संयोजकत्वमा सम्पन्न राजयोग साधना उद्घाटन कार्यक्रममा ब्रह्माकुमारी परिवारका सदस्यहरु को सहभागिता रहेको थियो ।
Post a Comment