शान्ता कमली
लमजुङको सुन्दरबजार स्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, लमजुङ कृषि क्याम्पसबाट अध्ययन बिदामा विभिन्न देशमा गएका प्राध्यापकहरू ८ वर्ष बितिसक्दा पनि नफर्किदा क्याम्पसको पढाई प्रभावित भएको छ । अध्ययन विदामा गएका उनीहरूलाई बिदा अवधि सकिएको लामो समयसम्म पनि सम्पर्कमा नआएपछि क्याम्पस प्रशासनले अनुपस्थिति सूचिमा राखेको छ ।
विभागबाट अध्ययन विदा स्वीकृत गराएर करिब १३ वर्ष अघि बेलायत र अमेरिका पुगेका ४ जना शिक्षकहरु ८ वर्षदेखि क्याम्पसको रेकर्डमा अनुपस्थित देखिएका हुन् । प्राध्यापकहरू चूडामणि पाण्डे, अर्जुन काफ्ले, उमेशराज रोशियारा र राजेन्द्र शिसोडिया अध्ययन विदामा गएकोमा बिदा अवधि सकिएको लामो समयसम्म पनि सम्पर्कमा नआएको क्याम्पस प्रशासनले जनाएको छ । रोसियारा ०६४ फागुनदेखि, पाण्डे ०६६ चैत, सिसोडिया ०६७ साउन र काफ्ले ०६९ साउनदेखि अनुपस्थित रहँदै आएको क्याम्पस प्रमुख डा. लालप्रसाद अमगाईंले बताए । उनका अनुसार त्यसरी विदामा गएकाहरूमा पाण्डे माछाको अध्ययन गर्न बेलायत गएका हुन् भने काफ्ले, रोशियारा र शिसोडिया अमेरिकामा क्रमशः कृषि वातावरण, प्लान्ट फिडिङ्गका लागि गएको रेकर्ड क्याम्पसमा छ । त्यस्तै, अर्का प्राध्यापक सरोज मिश्र सहायक डीन भएर र अर्का प्राध्यापक हरिकृष्ण पन्त प्लानिङ्ग चिफ भएर डिन कार्यालय सरुवा भइसकेका छन् । दरबन्दीका बाँकी र अन्य ९ जना करार प्राध्यापकद्वारा क्याम्पस धान्दै आएका छन् । लमजुङ क्याम्पसमा रहेको कुल १४ प्राध्यापक दरबन्दीमध्ये लामोसमयदेखि अनुपस्थित ४ सहित ९ जना अध्ययन विदामै रहेको देखिएको छ । त्यसोत सबै प्राध्यापकहरू त्यसरी गैरहाजिरी हुने गरेका छैनन् । डा. विष्णुविलास अधिकारीले भारतबाट विद्यावारिधि पुरागरी फर्किए अध्यापन कार्यमा सरिक भएको प्रमुख अमगाईले जानकारी दिए । उनका अनुसार अनुपस्थित हुने प्राध्यापकहरुको बारेमा क्याम्पसको तर्फबाट डिन कार्यालयमा समेत लिखित जानकारी पठाइसकेको छ ।
Post a Comment