हिमाल पारीको जिल्ला मनाङ जिल्लालाई स्याउ खेतीमा आत्मनिर्भर बनाउने तयारी गरिएको छ । जिल्लामा पछिल्ला वर्षमा स्याउ खेतीले व्यवसायिकता पाएसँगै सो तयारी गरिएको हो । योजना तथा अभियान अनुसार अबको ५ वर्षभित्र १५ लाख किलो स्याउ उत्पादन गर्ने लक्ष्य रहेको छ । सो क्रममा मनाङस्थित एग्रो मनाङ प्रालिले ७ सय ३५ रोपनी क्षेत्रफलमा ५० हजार स्याउका विरुवाहरू रोपेर उत्पादन समेत शुरु गरेको प्रालिका निर्देशक पाल्तेन छोपाङ गुरुङले बताए । उनका अनुसार सो योजनाका लागि १६ करोड लगानीमा स्याउ खेतीको विस्तार गरिएको छ । यसैगरी अभियानका लागि एडिवी अन्तर्गतको हिमाली परियोजनाले २ करोड २४ लाख अनुदान दिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
राष्ट्रकै नमुना स्याउ खेती गर्ने अभियानका साथ काम अघि बढेको स्याउ खेतीले मनाङको आर्थिक विकासमा सहयोगी हुने अपेक्षा गरिएको जिल्ला विकास समिति मनाङका स्थानीय विकास अधिकारी कृष्ण प्रसाद धितालले बताए । एग्रो मनाङमार्फत स्याउका प्रति बिरुवा १ हजार ५ सयमा इटालीबाट खरिद गरीे ल्याएको निर्देशक पाल्तेनले जानकारी दिए । उनले एग्रो मनाङले टेण्डर प्रक्रियाबाट स्याउ खेतीका लागि नेपालका उच्च हिमाली क्षेत्रका १० वटा जिल्लाहरुमा ब्यवसायिक कृषिको विकासका लागि काम गर्दै आएको बताए । सोही अभियान अन्तर्गत मस्र्याङ्दी क्लवको आयश्रोत बढाउनको लागि उपलब्ध गराएको ७ सय ३५ रोपनीको जग्गा २७ बर्षका लागि १२ करोड ९१ लाख ११ हजार भाडा तिर्ने गरी लिजमा लिएको छ ।
मनाङ जिल्लामा नै एकमात्र नगदे बालीको पहिचान बनाउँदै आएको स्याउको उत्पादनले यसअघि राम्रो बजार पाउन सकेको थिएन । उत्पादन राम्रो भएर पनि ढुवानीको समस्याका कारण स्थानीयवासीले खासै आम्दानी लिन सकेका थिएनन् तर अहिले लमजुङको सदरमुकाम वेसीशहर हुँदै मनाङ सदरमुकाम चामेसम्म सडक निर्माण भई मोटर सेवा सञ्चालन हुन थालेपछि आफूहरूले उत्पादन गरेको स्याउले बजार पाउनेमा मनाङवासीले विश्वास व्यक्त गरेका छन् ।
Post a Comment